Headline

इङ्ग्ल्यान्ड विरुद्ध आयरल्याण्डको सनसनीपूर्ण जित

Published

on

ओपनर पौल स्टिर्लिंङ र कप्तान एन्डी बल्बिर्निको शतकको मद्दतमा आयरल्याण्डले तेश्रो तथा अन्तिम एकदिवसीय खेलमा घरेलु टोली इङ्ग्ल्यान्ड विरुद्ध सात विकेटको सनसनीपूर्ण जित दर्ता गराएको छ । आजको हारको बावजुत इङ्ग्ल्यान्डले तीन खेलको शृङ्खला २-१ ले आफ्नो पक्ष्यमा पारेको छ ।

पहिलो दुई खेलमा पराजित हुँदै शृङ्खला गुमाइसकेको आयरल्याण्डले आजको खेलमा जित निकाल्दै वर्ल्डकप सुपर लिग अन्तर्गतको पहिलो शृङ्खलामा पहिलो अङ्क जोड्न सफल भएको छ ।

तीन सय २९ रनको विशाल लक्ष्य पक्ष्याएको आयरल्याण्डले एक बल अगावै तीन विकेटको नोक्सानीमा जित दर्ता गराएको हो ।

आयरल्याण्डको जितमा ओपनर पौल स्टिर्लिंङ र कप्तान एन्डी बल्बिर्निले दोश्रो विकेटका लागि दुई सय १४ रनको साझेदारी गरे । एक सय २८ बलको सामना गरेका स्टिर्लिंङले नौं चौका र छ छक्काको मद्दतमा सर्वाधिक एक सय ४२ रन बनाए भने बल्बिर्निले एक सय १२ बलमा १२ चौका प्रहार गर्दै एक सय १३ रनको पारी खेले ।

त्यस्तै आयरल्याण्डलाई जित दिलाउने क्रममा ह्यारी टेक्टर र केभिन ओब्रायनले अविजित रहँदै क्रमशः २६ बलमा २९ तथा १५ बलमा २१ रनको योगदान दिए ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले ४९ दशमलब पाँच ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर तीन सय २८ रनको विशाल योगफल तयार पार्यो ।

ओपनरद्वय जेसन रोय र जोनी बैरस्टोव तथा जेम्स भिन्सलाई सस्तैमा गुमाएर खराब सुरुवात गरेको इङ्ग्ल्यान्डको पारी सम्हाल्ने क्रममा कप्तान मोर्गनले सर्वाधिक एक सय छ रन प्रहार गरे । चौथो नम्बरमा ब्याटिङ गर्न आएका उनले ८४ बलको सामना गर्दै १५ चौका र चार छक्का प्रहार गरे । एकदिवसीयमा मोर्गनको यो १४ औं शतक हो ।

४४ रनको अवस्थामा तीन विकेट गुमाएको इङ्ग्ल्यान्डको लागि मोर्गनले पाँचौँ नम्बरमा ब्याटिङ गर्न आएका टम बान्टनसँग मिलेर चौथो विकेटका लागि एक सय ४६ रनको साझेदारी गरे । ५१ बलको सामना गरेका बान्टनले पनि ५८ रनको पारी खेले ।

त्यस्तै आठौँ नम्बरमा ब्याटिङ गर्न आएका डेभिड विलीले पनि तुफानी पारी खेल्ने क्रममा ४२ बलको सामना गर्दै समान ३-३ चौका र छक्काको मद्दतमा ५१ रन बनाएर आउट भए । त्यस्तै नवौँ नम्बरमा ब्याटिङ गरेका टम कुर्रानले पनि अविजित रहँदै ३८ रनको योगदान दिए ।

आयरल्याण्डका क्रेग योङ्गले सर्वाधिक तीन तथा जोस लिटल र कर्टिस क्यामफरले समान २-२ विकेट हात पारे ।

इङ्ग्ल्यान्डले पहिलो एकदिवसीय खेलमा छ विकेट तथा दोश्रो खेलमा चार विकेटको जित दर्ता गराएको थियो ।

Click to comment

Trending