Headline

१४ पेनाल्टीको मद्दतमा इमोबिलेलाई युरोपको गोल्डेन बुट

Published

on

नियम परिवर्तन र भिएआरको सहयोगमा पाएको पेनाल्टीहरुलाई सदुपयोग गरेपछि लाजियोका सिरो इमोबिलेले युरोपियन गोल्डेन बुट जितेका छन् ।

सिजनको अन्तिम खेलमा नापोलीसँग ३–१ ले पराजित भएको खेलमा पनि लाजियोका लागि एक गोल गर्दै इमोबिलेले आफ्नो गोल संख्या ३६ पुर्याएका थिए । यस क्रममा इमोबिलेले गोन्जालो हिग्वेनको इटालियन सिरी आ को एक सिजनमा सर्वाधिक गोल गर्ने किर्तिमानको बराबरी पनि गरे ।

हाल युभेन्टसमा रहेका हिग्वेनले २०१५–१६ को सिजनमा नापोलीका लागि उक्त किर्तिमान बनाएका थिए । इमोबिलेलाई भने नियम परिवर्तन र पेनाल्टीले किर्तिमान बराबरी गर्न सघाएको हो । इमोबिलेले ३६ मध्ये १४ गोल पेनाल्टीमार्फत गरेका थिए ।

२०१५–१६ मा टप स्कोरर हुँदा हिग्वेनले तीन गोल मात्र पेनाल्टी मार्फत गरेका थिए । यस सिजनको स्कोरिंग लिस्टमा दोस्रो स्थानमा आएका क्रिष्चियानो रोनाल्डोले गरेको ३१ गोलमा १२ पेनाल्टी रहेको थियो ।

यो पटकको सिरी आ मा धेरै जसो पेनाल्टी अनावश्यक ह्याण्डबलहरुलाई दिइएको थियो । यो नियम अर्को सीजनका लागि संशोधित हुने अपेक्षा गरिएको छ ।

नापोलीसँग हारेको लाजियोले चौथो स्थानमा आफ्नो सिजन सक्काएको हो । कोरोना भाईरस अघि पहिलो स्थानको युभेन्टससँग एक अंकको मात्र अन्तर राखेको लाजियोले सिजन पुन सुचारु भएपछि भने आफ्नो लय समाउन सकेको थिएन ।

Click to comment

Trending