Headline

उमर अक्मलको तीन बर्षे प्रतिबन्ध घटाइने

Published

on

म्याच फिक्सिङको लागि आएको प्रस्ताव रिपोर्ट नगरेको आरोपमा पाकिस्तानी क्रिकेटर उमर अक्मललाई लगाइएको तीन बर्षे प्रतिबन्ध १८ महिनामा झारिएको छ ।
पाकिस्तान सुपर लिगका दौराना उनलाई म्याच फिक्सरले भेट्न खोजपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलमा रिपोर्ट  नगर्दा पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले अक्मललाई भारी प्रतिबन्ध लगाएको थियो ।
न्यायधीश फकीर मोहम्मद खोखरले ३० बर्षिय अक्मलको प्रतिबन्ध घटाएपछि उनले फेब्रुवरी २०२० देखि अगष्ट २०२१ सम्म मात्र सजाय बेहोर्नु पर्ने भएको छ । अक्मलले यस फैसलामा पनि आफू सन्तुष्ट नभएको र फेरि अपिल गर्ने बताएका छन् ।
धेरै क्रिकेटरहरू छन् जसले भ्रष्टाचार गरेका छन् तर उनीहरूलाई मेरो जस्तो कडा सजाय दिइएन । यसबिरुद्ध म फेरि अपिल गर्नेछु, अक्मलले संचारकर्मीलाई भने ।
उनले पाकिस्तानका लागि २००९ मा अन्तिम टेस्ट खेलेका थिए । पाकिस्तानका लागि अन्तिम पटक गत अक्टोबरमा श्रीलंकाबिरुद्धको घरेलु ट्वान्टी ट्वान्टी श्रृंखलामा खेलेका थिए । २०२० पिएसएलको उद्घाटन खेलमा पाकिस्तान सुपर लिग टोली क्वेटा ग्लेडिएटर्सले इस्लामाबादविरुद्ध खेल्नु अघि अक्मललाई अस्थायी रूपमा निलम्बन गरिएको थियो ।
उनले पाकिस्तानका लागि १६ टेस्ट, १ सय २१ एक दिवसिय र ८४ ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन् ।

Click to comment

Trending