Headline

सन्दिप क्यारेबियन प्रिमियर लिगका लागि बिहिबार उड्दै

Published

on

नेपाली लेग स्पिनर सन्दिप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) का लागि उड्ने पक्का भएको छ । उनि चार्टर्ड बिमानमा जाने भएका हुन् ।

कोरोना भाईरसका कारण नेपालमा अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण उनी अगष्ट १८ देखि हुने सिपिएलमा सहभागिता निश्चित हुन सकेको थिएन । सिपिएलका आयोजकहरुले कडा स्वास्थ्य प्रोटोकल सहित १४ दिन क्वारन्टिनमा बस्नु पर्ने नियम बनाएका छन् ।

यो पटकको सिपिएल भने एक मात्र आयोजना स्थलमा हुनेछ । आयोजकका अनुसार २०२० को सिपिएल ट्रिनिडाड एण्ड टोबागोमा हुनेछ । उनका व्यवस्थापक रमन सिवाकोटीका अनुसार सन्दिप बिहिवार बिहान १० बजे कोरियन इयरको बिमानमा जाने भएका छन् ।

सन्दिपले यो पटकको सिपिएल जमाइका तलावाजबाट खेल्ने छन् । सन्दिपलाई यो पटकको सिपिएलका लागि तलावाजले एक लाख ३० हजार अमेरिकी डलरमा अनुबन्धन गरेको थियो । सन्दिपले तलावाजमा आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, रोभमन पावेल र फिडेल एड्वार्ड्स जस्ता क्रिकेटरहरुसँग खेल्ने छन् ।

नेपालको लागि एक मात्र घुमन्ते क्रिकेटरको रुपमा स्थापित भएका सन्दिपको लागि फ्राञ्चाइज ट्वान्टी ट्वान्टी प्रतियोगिा नौलो होइन । सिपिएलको तेश्रो संस्करणमा सहभागिता जनाइरहेका सन्दिपले इण्डियन प्रिमियर लिग अष्ट्रेलियन बिग ब्यास लिग, पाकिस्तान सुपर लिग, बङ्गलादेश प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग र ग्लोबल ट्वान्टी ट्वान्टी च्यालेञ्ज पनि खेलिसकेका छन् ।

२० बर्षे सन्दिपले सिपीएलको पहिलो दुई संस्करणमा बार्बेडोस ट्राइडेन्ट्स र सेन्ट किट्स एण्ड नेभिस पेट्रियट्सबाट खेलेका थिए । उनले सिपिएलमा अहिलेसम्म कुल १५ विकेट हात पारिसकेका छन् । नेपालबाट ट्वान्टी ट्वान्टीमा एक सय विकेटको आंकडा पार गर्ने सन्दिप पहिलो र हालसम्म एक मात्र खेलडी हुन् ।

Click to comment

Trending