अन्तर्राष्ट्रिय

मेरो गल्तीबाट अरुले पाठ सिकुन् : शकिब अल हसन

Published

on

बंगलादेश क्रिकेट टोलीका स्टार अलराउण्डर शकिब अल हसन अहिले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) र बंगलादेश क्रिकेट बोर्डको निलम्बनमा छन् । सट्टेबाजहरुले म्याच फ़िक्सिङ (खेलमा मिलेमतो) गर्नका लागि गरेको प्रस्तावका बारेमा आफ्नो देशको बोर्ड र आईसीसीलाई जानकारी नदिएको भन्दै उनलाई दुई बर्षको प्रतिबन्ध लागेको हो ।

उनले खेलमा फ़िक्सिङ नगरे पनि आईसीसीको नियम अनुसार खेलाडीहरूले फ़िक्सिङका लागि आएको प्रस्ताव बारेमा जानकारी नगराएमा कारबाहीमा पर्ने गर्दछन् । शकिबलाई सन् २०१८ मा आयोजित त्रिकोणात्मक एकदिवसीय शृङ्खला र आईपीएलमा फ़िक्सिङ लागि प्रस्ताव आएको र उनले खबर नगरे पछि उनलाई आगामी अक्टोबर २९ सम्मका लागि प्रतिबन्ध लगाइएको छ ।

प्रतिबन्धमा परे पछि हाल उनी अमेरिका स्थित आफ्नो ससुराको घरमा बस्दै आएका छन् । शकिबले आफु प्रतिबन्धमा परेको र यसबाट अन्य खेलाडीले पनि पाठ सिक्न पर्ने बताए । ‘यदि अन्य खेलाडीलाई यस्तो परेको भए त्यसबाट मैले पाठ सिक्ने कुरा हुन्थ्यो । तर यो म आफैलाई पर्न गएको छ । त्यसैले मेरो गल्तीबाट अन्य खेलाडीले पाठ सिकून् भन्ने मेरो चाहना हो । मैले जे भोगे त्यो अन्य खेलाडीलाई नहोस् भन्ने कामना गर्दछु,’ शकिबले भने ।

‘म पहिलो दिनबाट नै इमानदार हुन चाहन्थे । जब मलाई मेरो टोलीका साथीहरूले यस बारेमा सोधे मैले केही पनि कुरा लुकाइन । म कुरा नघुमाई भन्छु, मैले गल्ती गरे । म जस्तो खेलाडीलाई यस्तो हुन हुन्थेन । म यस विषयमा सबैसँग माफी माग्छु ।’

शकिबले यस विषयमा धेरै सोचेर आफ्नो समय खेर फ्याल्नु भन्दा पनि अबका दिनमा शतप्रतिशत दिँदै राम्रो प्रदर्शन गर्ने बारेमा ध्यान केन्द्रित गरेको पनि खुलासा गरे ।

३३ बर्षिया शकिबले ५६ टेस्ट, दुई सय छ एकदिवसीय र ७६ ट्वान्टी ट्वान्टी खेलमा क्रमशः तीन हजार आठ सय ६२, छ हजार तीन सय २३ तथा एक हजार पाँच सय ६७ रन बनाएका छन् भने दुई सय १०, दुई सय ६० र ९२ विकेट पनि आफ्नो नाममा दर्ता गराइ सकेका छन् ।

Click to comment

Trending