Headline

प्रिमियर लिगको अन्तिम दिनः ‘ड्रामा ग्यारेन्टिड’

Published

on

इतिहासकै सबैभन्दा लामो इङ्गलिस प्रिमियर लिगमा अन्तिम दिन आइतबार नाटकीय समाप्ति हुने निश्चित छ । माथिल्लो पाँच स्थानमा चेल्सी, म्यानचेस्टर युनाइटेड र लेस्टर सिटी च्याम्पियन्स लिगको स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् भने एस्टन भिल्ला, वाट्फोर्ड र बर्नमाउथ रेलिगेसन टार्ने संघर्षमा हुनेछन् ।

क्लबहरु महँगो प्रि–सिजन टुरमा आबद्ध हुनुपर्ने समयमा २०१९–२० को सिजन कोरोना भाइरसका कारण तीन महिना रोकिएपछि अहिले समाप्त हुन गइरहेको हो । लिभरपुलले ३० बर्षपछि प्रिमियर लिग ट्रफि उचालिसकेको छ, दोश्रो स्थानको म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको टिकट काटिसकेको छ र नर्विच सिटी च्याम्पियनसिपमा झरिसकेको छ । तर प्रिमियर लिगको रोमाञ्च अन्तिम दिन सम्म पनि कायम रहनेछ ।

अन्तिम दिन माथिल्लो चार स्थान, युरोपा लिग छनोट, रेलिगेट हुने दुई टोली र प्रतियोगिताको गोल्डेन बुट कसले जित्ने तय हुनेछ । तर मुख्य केन्द्रमा हुनेछ किँग पावर स्टेडियममा हुने म्यानचेस्टर युनाइटेड र लेस्टरबीचको भिडन्त ।

पराजय टार्ने हो भने ओले गुनर सोल्सायरको टोली एक बर्षको अनुपस्थितिपछि च्याम्पियन्स लिगमा फर्कनेछ तर लेस्टरले जितेको खण्डमा ब्रेण्डान रोजर्सको टोली २०१६–१७ को सिजनपछि पहिलो पटक युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता खेल्नेछ । युनाइटेड थकित देखिन्छ तर सोल्सायरले आफ्नो टोली सेप्टेम्बर यता पहिलो पटक टप फोरमा फर्किएपछि आफ्नो टोलीलाई कार्य पुरा गर्न आग्रह गरेका छन् ।

“हामी यो खेलका लागि तयार छौं । अर्को बर्ष च्याम्पियन्स लिग खेल्नका लागि हामीले राम्रो अवसर बनाएका छौं । हामी मैदानमा उत्रदै लेस्टरलाई पुरै खेल दवाबमा राख्न चाहन्छौं । हाम्रो खेल्न शैलिमा कुनै परिवर्तन हुने छैन,” सोल्सायरले भने । लेस्टरसँग पराजित भएको खण्डमा पनि युनाइटेडलाई च्याम्पियन्स लिगमा छनोट हुने अर्को मौका रहनेछ तर त्यसका लागि उसले अगष्टमा सुचार हुने युरोपा लिगको उपाधि भने जित्नु पर्नेछ ।

सिजनको अधिकांश समय टप फोरमै बिताएको लेस्टर अन्त्यमा चुकेपनि आफ्नो टोली फेल भएको नहुने लेस्टर व्यवस्थापक रोजर्स मान्छन् । “पछिल्लो केही सिजन क्लब जुन स्थानमा थियो त्यसको आधारमा हामी एक पछि अर्को खुड्किलो चाल्दै राम्रो गर्ने प्रयासमा रहदै आएका छौं । यो सिजन शुरुवात हुँदा हामी च्याम्पियन्स लिगका लागि क्वालिफाइ हुने बिषयमा खासै छलफल गरिरहेको थिएनौं,” रोजर्सले भने ।

चौथो स्थानमा रहेको चेल्सीलाई स्ट्यामफोर्ड ब्रिजमा उल्भ्ससँग एक अंक लिए च्याम्पियन्स लिगमा स्थान बनाउन पर्याप्त हुनेछ तर लेस्टर र सिटीले बराबरी खेलेको स्थितिमा फ्रांक लाम्पार्डको टोली पराजित हुने हो भने च्याम्पियन्स लिगमा स्थान गुमाउनेछ । लाम्पार्डको लागि आइतबार अपरान्हको समयले उनको धैर्यताको परिक्षण गर्नेछ तर उनी सकारात्मक हुन चाहन्छन् ।

“हामी समिकरणबारे सचेत छौं तर हामी जित्ने प्रयासमै हुनेछौं । हामीलाई खेललाई हेर्ने अन्य कुनै दृष्टिकोण छ जस्तो लाग्दैन,” लाम्पार्डले भने । चेल्सी, यनाइटेड र लेस्टरमध्ये चिप्लिने कुनै एक टोलीले अर्को सिजनको युरोपा लिगमा स्थान बनाउने छ ।

उल्भ्स आफ्नै लागि भने युरोपा लिगमा छनोट हुनका लागि चेल्सीमाथि जित आवश्यक छ । उल्भ्स बराबरीमा रोकिने मात्रै हो भने पनि होजे माउरिन्होको टोटेन्ह्याम हट्स्परको लागि युरोपा लिगको ढोका खुल्नेछ । टोटेन्ह्यामले अन्तिम खेलमा पछिल्लो लगातार ७ खेलमा पराजय बेहोरेको क्रिष्टल प्यालेसको सामना गर्न गइरहेको छ ।

पुछारमा वेष्ट ह्यामसँग खेल्न गइरहेको एस्टन भिल्लाले वाटफोर्डले आर्सनलबिरुद्धकै नतिजा निकाले रेलिगेसन बचाउन सक्नेछ । भिल्ला र वाट्फोर्डको समान ३४ अंक रहेको छ । तर भिल्ला झिनो गोल अन्तरको आधारले मात्र वाट्फोर्डभन्दा अघि रहेको छ । दुवै टोलीले आइतबार आ–आफ्नो खेल जितेको खण्डमा वाट्फोर्डले दुई गोल बढी गरेको खण्डमा भिल्ला रेलिगेसनमा पर्नेछ ।

भिल्ला र वाट्फोर्ड दुवै पराजित हुने हो भने पुछारबाट दोश्रोमा रहेको बर्नमाउथ गोल अन्तरका आधारमा माथि रहनेछ तर यसका लागि उसले एभर्टनलाई भने हराउनु पर्नेछ । “हाम्रो अबको खेल भनेको हामी सबैको करिअरको सबैभन्दा ठूलो खेल हो,” बर्नमाउथ व्यवस्थापक एडि हावीले भने ।

गोल्डेन बुटको उपाधिका लागि लेस्टर फर्वार्ड जेमी भार्डी साउथ्याम्प्टनका ड्यानी इंग्सभन्दा दुई गोलले अगाडी रहेका छन् । भार्डीले २३ गोल गरेका छन् ।

Click to comment

Trending