Headline

सिल्वालसहित सदस्य सचिवका लागि तीन जनाको नाम सिफारिस

Published

on

पुर्व सदस्य सचिव रमेश कुमार सिल्वालसहित तीन जनालाई युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवका लागि अन्तिम तीन जनाको नाम सिफारिस गरेको छ ।

खेलकुदमा नयाँ ऐन लागु भएपछि नेपाली खेलकुदको सरकारी स्तरमा प्रशासकीय परिर्वतन हुने निश्चित भएसँगै सिल्वालले राजीनामा गर्दै बसेका थिए । नयाँ सदस्य सचिवको लागि २७ जनाको आवेदन परेको थियो भने त्यसमा दुई जना यसअघि नै अयोग्य भइसकेका थिए ।

अन्य २५ जनाबाट युवा तथा खेलकुद मन्त्रालयका सचिव राम थपलियाको संयोजकत्वमा गठित समितिले अन्तिम तीन जनालाई छनोट गर्दै खेलकुद मन्त्री जगद बहादुर सुनार बिश्वकर्मालाई बुझाएको हो । अन्य दुई जनामा नेपाल भलिबल संघका उपाध्यक्ष लिल बहादुर थापा र पुर्व राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अन्जु श्रेष्ठ रहेका छन् ।

मन्त्रालयले अब सिफारिस भएका तीन जनाको नाम मन्त्री परिषदमा पेश गर्नेछ र त्यसपछि एक जना सदस्य सचिव नियुक्त गरिनेछ । स्रोतका अनुसार एक बर्ष पुरानै संरचनामा सदस्य सचिव रहेका सिल्वाल मुख्य दावेदारको रुपमा रहेका छन । उनी नियुक्त भएको खण्डमा चारको ठाँउमा पाँच बर्ष नेपाली खेलुकदको सदस्य सचिवको रुपमा रहनेछन् ।

प्रधानमन्त्री केपी ओली निकटका सिल्वाल नयाँ ऐन लागु भएपछि स्वत पदमुक्त भएका थिए । नयाँ ऐन अनुरुप भने यसअघि खेलकुदकमा पूर्ण नियन्त्रण रहने गरेको सदस्य सचिवको अधिकारमा ७५ प्रतिशत कटौति भएको छ । सदस्य सचिवले प्रयोग गर्दै आएको अधिकार अब सात सदस्यीय कार्यकारी समितिले प्रयोग गर्नेछ ।

ऐनमा सदस्य सचिव बन्नको लागि नेपाली नागरिक, स्नातक तह उत्तीर्ण, खेलकुदको क्षेत्रमा पाँच वर्ष काम गरेको, प्रचलित कानुनले अयोग्य नभएको र ३० वर्ष पुरा भएको पाँच योग्यता तोकेको छ ।

राष्ट्रिय खेलकुद परिषदको इतिहासमा पहिलो पटक आवेदन दिएर सदस्य सचिवको चयन हुन लागेको हो ।

Click to comment

Trending