Headline

सपना देख्नै लाग्दा नेपाल क्रिकेट संघको प्रेस बिज्ञप्ति

Published

on

नेपाल क्रिकेट संघ (क्यान) मा एउटा मिडिया कमिटी छ । केही दिन अघि पूर्णता पाएको उक्त मिडिया कमिटीको नेतृत्व क्यानका सचिव अशोकनाथ प्याकुर्यालले गर्छन् । सामान्य जानकारी दिन नै कन्जुल्याई गर्ने क्यानको मिडिया कमिटीले सोमबार राति एक बहादुरीपूर्ण निर्णय गर्यो ।

प्याकुर्याल नेतृत्वको कमिटीले सोमबार राति सबैले एक निन्द्रा पुर्याइसके पछि क्यानको कार्य सम्पादन समितिको निर्णयबारे मिडियालाई जानकारी दिने जमर्को कस्यो । झण्डै साँझ ७ बजे समाप्त भएको कार्य सम्पादनको निर्णय मिडियाले १० बजेर ४२ मिनेटमा पाए ।

पत्रिका, टेलिभिजन र रेडियोहरुले क्यानको औपचारिक निर्णय छुट्टाए नै अनलाइनहरुका लागि पनि राष्ट्रिय टोलीको प्रशिक्षक नियुक्त गर्नका लागि बिज्ञापन आह्वान गर्ने निर्णयको समाचारले धेरै पाठक आकर्षित नगर्ने समय भइसकेको थियो । यसको सबैभन्दा ठूलो मार पत्रिकालाई पर्ने गर्छ किनभने सामग्री तयार पारेर प्रकाशित गर्दा दुई दिन बासी भइसकेको हुन्छ ।

नकारात्मक दृष्टिकोण नलिएरै सोच्ने हो भने पनि क्यानले आफ्नो महत्वपूर्ण निर्णयको जानकारी जनतलाई सु–सुचित गर्नका लागि रोजेको समयले क्रिकेटको सर्वोच्च निकायको व्यावसायिकताको स्तर झल्काउछ । जानकारी दिनका लागि हतार गरेको नै किन नहोस क्यानको बिज्ञप्ति निकाल्ने समयले परिस्थितको गम्भिर्यताको मतलब नराखेको स्पष्ट बुझिन्छ ।

हतारमै गरिएको कामका कारण पहिलो बिज्ञप्तिमा त्रुटि भएपछि क्यानले झण्डै १० मिनेटपछि अर्को बिज्ञप्ति समेत पठाएको थियो ।

क्यानको कार्य सम्पादन समितिले गरेका निर्णय सिधै मिडियमा सुनाउने अधिकार पाएको छ । यो समितिमा अध्यक्ष चतुर बहादुर चन्द र प्याकुर्याल आफै छन् । यसको निर्णय पछि क्यानको बोर्ड मिटिङ्गले अनुमोदन गर्ने प्रावधान रहेको छ । प्याकुर्याल निर्णय गरिसकेपछि यसलाई माइनुटिङ्ग गर्दा ढिलो भएको बताउछन् ।

तर ७ बजे भन्दा अगाडी नै सकिएको मिटिङ्गलाई माइनुटिङ्ग गर्न तीन घण्टा भन्दा बढी लाग्ने क्यानको सुस्त काम गराइ अर्को आलोचनात्मक समाचार बन्न सक्छ । तर एक सामान्य बिषयलाई नै कति चिरफार गरेर नकारात्मक बन्नु । कुरा रह्यो बिज्ञप्ति पठाउने समयको जसलाई प्याकुर्याल मिडियाका लागि बिहानको लागि खुराक होस भनेर पठाइएको बताउछन् ।

“मिटिङ्ग बसिसकेपछि माइनुटिङ्ग र अन्य काम गर्दा ढिलो भयो त्यै भएर ढिलै भएपनि पठाइयो । हामीले त खास मिडियाकै लागि सोचेर त्यो समय रोजेको हो । राति गयो भने बिहान उठेर हाल्दा ठिक्क हुन्छ भन्ने सोचेको थियौं,” प्याकुर्यालले भने ।

मिडियाकै लागि सोचिदिएको हो भने त धन्यवाद दिनै पर्यो तर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले अझै पनि पूर्ण बिश्वास नगरेकै कारण आंशिक रुपमा मात्रै निलम्बन फुकुवा गरेको क्यानले यस्ता बिषयहरुलाई ह्याण्डल गर्दा आफ्नै प्रतिष्ठा र बिशेषगरि नेपाली क्रिकेटको त्यो भन्दा बढी ख्याल गर्न आवश्यक छ ।

के–के निर्णय लिएको छ क्यानले ?

जिम्बाब्वेको वर्तमान प्रशिक्षक लालचन्द राजपुतसँग औपचारिक रुपमा मात्रै काम चलाउदै गर्दा बढी मिडियाबाजी भएपछि उनलाई नेपाल भित्र्याउन असफल क्यानले अब बिज्ञापनमार्फत प्रशिक्षक खोज्ने भएको छ । त्योसँगै क्यानले महाप्रबन्धक, बित्त प्रबन्धक र क्रिकेट व्यवस्थापकका लागि आईसिसिसँग समन्वय गर्दै एक साता भित्र बिज्ञापन प्रकाशित गर्ने निर्णय गरेको छ ।

यस्तै प्रादेशिक क्रिकेट संघ मातहत रहने गरि हाल ७ जना प्रशिक्षकको पदपुर्तिको सुचना प्रकाशित गर्ने र मुलापानीमा ६ जना मैदान कर्मचारी थप गरिएको क्यानले जनाएको । पोखरा, भैरहवा र वीरगञ्जमा एक–एक जना क्रिकेट पिच क्युरेटर नियुक्त गर्ने निर्णय पनि भएको छ ।

क्यानले कोरोना भाइरसका कारण स्थगित भएको साधारण सभा भदौं १५ गते भित्र गर्ने भएको छ भने बिक्रम न्यौपानेलाई पुर्णकालीन फिजियोको रुपमा नियुक्त गरेको छ । न्यौपानेले नै अर्को व्यवस्था नभएसम्म टिमसँग सम्बन्धित बिषयहरुको समन्वय र व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्नेछन् ।

यस्तै प्रदेश समितिमार्फत अन्य सदस्यहरु थप गर्नेगरि संघकी केन्द्रिय सदस्य जयन्ती भट्टको संयोजकत्वमा महिला क्रिकेट बिकास समिति पनि गठन गर्ने निर्णय क्यानको कार्य सम्पादन समितिले लिएको छ ।

Click to comment

Trending