Headline

रोनाल्डोको नयाँ किर्तिमानमा युभेन्टस उपाधि नजिक

Published

on

क्रिष्चियानो रोनाल्डोले दुई गोल गर्दै नयाँ किर्तिमान कायम गरेपछि युभेन्टस इटालिन सिरी आ को उपाधि नजिक पुगको छ ।

टुरिनमा भएको सिरी आ मै आफ्नो लागि महत्वपूर्ण खेलमा युभेन्टसले लाजियोलाई २–१ ले हराउदै महत्वपूर्ण तीन अंक लियो । जितपछि युभेन्टसले दोश्रो स्थानको इन्टर मिलानसँग ८ अंकको स्पष्ट अग्रता बनाएको छ । लकडाउन अघिसम्म शिर्ष स्थानमा प्रतिस्पर्धा जारी रहदा अन्य टिम पनि लिगको दाबेदारीमा रहेका थिए ।

कोरोना भाइरसले स्थगित भएर फुटबल फेरि शुरु हुँदा भने उपाधि होडमा रहेका अन्य टोलीहरुले एक पछि अर्को गर्दै अंक गुमाउन थालेपछि युभेन्टसलाई सजिलो हुदै गएको हो । युभेन्टस आफैले पनि पछिल्लो तीन चार खेलमा ५ अंक मात्र बटुलेको हो तर यसले उसलाई खासै फरक भने परेको छैन ।

युभेन्टसलाई जित दिलाउने क्रममा रोनाल्डो इतिहासै प्रिमियर लिग, सिरी आ र स्पेनिस ला लिगा सबैतिर ५० गोल पुरा गर्ने पहिलो खेलाडी पनि भएका छन् । उनले प्रिमियर लिगमा १ सय ९६ खेलमा ८४ गोल गरेका थिए भने रियल म्याड्रिडका लागि २ सय ९२ खेलमा ३ सय ११ गोल गरिसकेपछि युभेन्टस गएका थिए ।

युभेन्टसमा दोश्रो सिजनमा रहेका रोनाल्डोले ६१ खेलमा ५१ गोल गरिसकेका छन् । युभेन्टसले अब बाकी भएका चार खेलबाट चार अंक बटुल्न सके लगातार नवौं पटक उपाधि जित्नेछ । माउरिजियो सारीको भने प्रशिक्षण करिअरमा यो पहिलो लिग उपाधि हुनेछ ।

सोमबारको खेलमा दुई टोलीबीचको खेलमा रोनाल्डोले नै फरक पारेका थिए । भिडियो असिस्टेन्ट रेफ्रिले बास्टोसको ह्याण्डबल भएको भन्दै युभेन्टसलाई पेनाल्टी दिएपछि रोनाल्डोले गोल गर्दै ५१ औं मिनेटमा अग्रता दिलाएका थिए । तीन मिनेटपछि नै पाब्लो डिबालाले निस्वार्थ खेल देखाउदै रोनाल्डोलाई असिस्ट गरेपछि युभेन्टस जित तर्फ अग्रसर भएको थियो ।

लाजियोका लागि एक मात्र गोल ८३ औं मिनेटमा सिरो इमोबिलेले पेनाल्टीमार्फत गरेका थिए ।

Click to comment

Trending