Headline

ट्वान्टी ट्वान्टी बिश्वकपसँगै ५० ओभरको बिश्वकप पनि सर्यो

Published

on

यसै बर्ष अक्टोबर र नोभेम्बरका लागि तय भएको आईसिसि ट्वान्टी ट्वान्टी बिश्वकप स्थगित गरिएको छ । कोरोना भाइरसका कारण स्थगित गरिएको ट्वान्टी ट्वान्टी बिश्वकप दोश्रो ठूलो खेलकुद प्रतियोगिता हो ।

यसअघि २०२० कै लागि जापानमा तय भएको टोकियो ओलम्पिक्स अर्को बर्षका लागि सारिएको थियो । ट्वान्टी ट्वान्टी बिश्वकप अक्टोबर १५ देखि नोभेम्बर १५ सम्मका लागि अष्ट्रेलियामा गरिने थियो । यस्तै कोरोनाकै कारण युरो कप फुटबल पनि स्थगित गरिएको थियो ।

अष्ट्रेलियाले भिक्टोरिया राज्यमा दोश्रो चरणको कोरोना भाइरसको संक्रमण देखि थालेपछि आफू आयोजना गर्न नसक्ने बताउदै आएको थियो । औपचारिक रुपमा निर्णय हुन बाकी रहेको लामो समय अघि नै अष्ट्रेलियन मिडियाहरुले यसअघि नै ट्वान्टी ट्वान्टी बिश्वकप नहुने खुलाशा गर्दै आएका थिए ।

ट्वान्टी ट्वान्टी बिश्वकप अब २०२१ अक्टोबर र नोभम्बरका लागि तय भएको छ भने अर्को संस्करण लगत्तै २०२२ मै हुने भएको छ ।

“आजको निर्णयले हामीलाई दुई वटा सुरक्षित र सफल बिश्वकप आयोजनाका लागि अवसर दिएको छ,” अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसि) का प्रमुख कार्यकारी मनु सनेले भने । “अब हाम्रा सदस्य राष्ट्रहरुले योजनाबद्ध रुपमा गुमेका दुई देशीय र घरेलु क्रिकेट प्रतियोगिताहरुलाई स्पष्ट रुपमा नयाँ तालिका अनुरुप तयार गर्न सक्नेछन् ।”

२०२१ को ट्वान्टी ट्वान्टी बिश्वकपको आयोजना अधिकार भारतका लागि सुरक्षित रहेपनि अब कसले पहिले बिश्वकप आयोजना गर्ने निर्णय हुन बाकी रहेको छ । यस्तै २०२३ फेब्रुवरी र मार्चका लागि तय भएको एकदिवसीय बिश्वकप पनि मार्च र अक्टोबरका लागि सारिएको छ ।

आईसिसिको यो निर्णयसँगै अब भारतले इण्डियन प्रिमियर लिग, अष्ट्रेलियाले बिग ब्याश लिग र श्रीलंकाले गर्ने एसिया कपको पनि टुँगो लाग्ने देखिन्छ । भारतले आईपिएल युएईमा गर्ने तयारी शुरु गरिसकेको छ भने अष्ट्रेलियाले बिग ब्याश लिग डिसेम्बर देखि शुरु गर्ने योजना बनाएको थियो ।

ट्वान्टी ट्वान्टी बिश्वकप सातौं संस्करणमा प्रवेश गर्न गइरहेको छ । छैटौं संस्करण २०१६ मा भारतमा भएको थियो जसको फाइनलमा वेष्ट इण्डिजले इङ्गल्याण्डलाई हराएको थियो । ट्वान्टी ट्वान्टी बिश्वकप वेष्ट इण्डिजले दुई पटक, भारत, पाकिस्तान, इङ्गल्याण्ड र श्रीलंकाले एक–एक पटक जितेका छन् ।

Click to comment

Trending