अन्तर्राष्ट्रिय

इंग्ल्यान्ड र वेस्ट इण्डिज बीचको दोश्रो टेस्ट ड्र तर्फ 

Published

on

घरेलु टोली इंग्ल्यान्ड र वेस्ट इण्डिज बीचको दोश्रो टेस्ट ड्र तर्फ उन्मुख भएको छ ।

चौथों दिनको खेलको समाप्तीमा इंग्ल्यान्डले समग्रमा दुई सय १९ रनको अग्रता लिएको छ भने अब अन्तिम दिनको खेल मात्र बाँकी छ । पहिलो पारीमा चार सय ६९ रनको विशाल योगफल बनाएको इंग्ल्यान्डले वेस्ट इण्डिजलाई मात्र २८७ रनमा रोक्न सफल भयो । त्यस पछि आफ्नो दोश्रो पारी सुरु गरेको इंग्ल्यान्डले ३७ रनमा दुई विकेट गुमाएको छ ।

वेस्ट इण्डिजले चौथों दिनको खेल एक विकेटको नोक्सानीमा मात्र ३२ रनको अवस्थाबाट सुरु गरेको थियो भने उसले दुई सय ५५ रन जोड्दै आफ्नो बाँकी नौं विकेट गुमाएको हो । तेश्रो दिनको खेल बर्षाका कारण रद्द हुन पुगेको थियो ।

वेस्ट इण्डिजको तर्फबाट ओपनर क्रेग ब्राथवेटले सर्वाधिक ७५ रन जोडे भने  शामर्ह ब्रूक्सले ६८ तथा रोस्टन चेजले पनि ५१ रनको योगदान दिए ।

वेस्ट इण्डिजलाई सस्तैमा रोक्ने क्रममा स्टुवार्ट बोर्ड र क्रिस वोक्सले समान तीन तीन विकेट लिए भने साम कुर्रानले पनि दुई विकेट हात पारे ।

यस अघि ओपनर डोम सिब्ली र बेन स्टोक्सले शतक प्रहार गरेसँगै इंग्ल्यान्डले नौं विकेटको नोक्सानीमा चार सय ६९ रन बनाएर आफ्नो पहिलो पारी सकिएको घोषणा गरेको थियो । स्टोक्सले सर्वाधिक एक सय ७६ रन बनाए भने सिब्लीले पनि १२० रनको पारी खेले ।

वेस्ट इण्डिजका रोस्टन चेजले पहिलो पारीमा सर्वाधिक पाँच विकेट हात पारे भने किमार रोचले पनि दुई विकेट आफ्नो नाममा दर्ता गराए ।

तीन खेलको शृंखलामा वेस्ट इण्डिज १-० ले अघि रहेको छ । साउथह्याम्टनमा भएको पहिलो टेस्टमा वेस्ट इण्डिजले चार विकेटको रोमान्चक जीत हात पारेको थियो ।

Click to comment

Trending