अन्तर्राष्ट्रिय

अफगानिस्तान क्रिकेट बोर्डमा चरम आर्थिक संकट 

Published

on

गत जुलाई नौं तारिखका दिन एसियाली क्रिकेट परिषद (एसीसी) ले यस बर्ष आयोजना गर्ने ट्वान्टी ट्वान्टी एसिया कप यस बर्ष स्थगित गर्दै अर्को बर्ष आयोजना गर्ने घोषणा गर्यो ।

कोरोना भाइरसका कारण एक बर्ष एसिया कप धकलिए पछि अफगानिस्तान क्रिकेट बोर्डलाई चरम आर्थिक संकटले पेल्ने भएको छ । केहि समय अघि पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष एसान मणीले एसिया कप स्थगित भएको खण्डमा साना एसियाली क्रिकेट राष्ट्रहरुलाई असर पर्ने जनाएका थिए । तर टेस्ट राष्ट्र अफगानिस्तानलाई पनि यसले ठुलै असर पर्ने देखिएको छ ।

मणीको भनाइलाई दोहोर्याउँदै अफगानिस्तान क्रिकेट बोर्डका प्रमुख कार्यकारी लुफ्तउल्लाह स्टानिकजाईले एसिया कप रद्द हुँदा अफगानिस्तानलाई नराम्रो आर्थिक असर परेको जनाए ।

‘एसिया कप अर्को बर्षका लागि सर्दा पक्कै पनि अफगानिस्तान क्रिकेटको आम्दानीमा नकारात्मक असर पर्ने देखिन्छ । तर अर्को बर्षका लागि प्रतियोगिता सर्दा हाम्रो लागि छुट्टाइएको रकम अर्को बर्ष आउनेछ भन्नेमा आशाबादी छौं, ‘ स्टानिकजाईले भने ।

अफगानिस्तानले यस बर्ष एसिया कप र जिम्बाबे भ्रमणबाट ठुलै रकम प्राप्त गर्ने थियो । तर दुबै प्रतियोगिता रद्द हुँदा उसले प्राप्त गर्न पर्ने रकममा कमी आएको छ । जसले गर्दा बोर्डले बिदेशी प्रशिक्षकहरुको तलबमा ५० प्रतिशत कटौती गर्ने भएको छ ।

त्यस्तै कोरोनाका कारण आर्थिक संकट लागेसँगै बोर्डले आफ्ना खेलाडीहरुलाई दिंदै आएको सेवा सुबिधा, तलबका साथ साथै अनुबन्धमा रहेका खेलाडीको संख्या पनि घटाउने धुनमा रहेको छ । हाल बोर्डसँग ३२ राष्ट्रिय टोलीका तथा ५५ घरेलु क्रिकेटका खेलाडीहरु अनुबन्धमा रहेका छन् ।

एसिया कपमा सहभगिता जनाए बापत भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश क्रिकेट बोर्डले एसीसीबाट दुई मिलियन डलर प्राप्त गर्दछन् भने अफगानिस्तानले यती नै रकम प्राप्त गर्छ भन्ने नभएता पनि राम्रै रकम प्राप्त गर्नेमा आशाबादी थिए ।

अफगानिस्तान क्रिकेट टोलीको मुख्य प्रायोजक एलोकोजीले पनि अघिल्लो बर्ष बोर्डको सम्झौता रद्द गर्ने निर्णय गरेको थियो जसका कारण बोर्डलाई आर्थिक संकटले प्रहार गर्न सुरु गरेको थियो ।

Click to comment

Trending