Headline

एट्लान्टा रोकिदा युभेन्टसलाई फेरि फाइदा

Published

on

एसि मिलानसँग पराजित भएयता क्रिष्चियानो रोनाल्डोको युभेन्टसले पछिल्लो तीन खेलमा मात्र तीन अंक जोडेको छ तर त्यसले उसको इटालियन सिरी आ को उपाधि जित्ने अभियानमा कुनै फरक परेको छैन । लकडाउनपछि सिजन सुचारु भएयता लाजियो युभेन्टससँग चार अंकको दुरीमा थियो तर उसको प्रदर्शन खस्कदै गयो ।

लाजियोपछि एट्लान्टाले केही चुनौति दिने आशा गरिएपनि च्याम्पियन्स लिगको क्वार्टरफाइनल प्रवेश गरेको टोलीले शनिबार फेरि दुई अंक गुमाउन पुगेको छ । एट्लान्टा भेरोनासँग १–१ को बराबरीमा रोकिन पुग्यो । बराबरीको प्रत्यक्ष फाइदा भने युभेन्टसलाई मात्र भएको छ ।

युभेन्टस ७७ अंक सहित पहिलो स्थानमा कायम रहेको छ भने इन्टर र एट्लान्टाको समान ७१ अंक रहेको छ । युभेन्टस र इन्टरले एक खेल कम खेलेका छन् । इन्टरले आइतबार एएस रोमाको सामना गर्नेछ भने अर्को ठूलो खेलमा युभेन्टसले सोमबार लाजियोको सामना गर्नेछ । यी दुई खेलले नै इटालियन लिगको शिर्ष चार स्थनको निर्धारण गर्न सक्नेछ ।

लाजियो ६९ अंक सहित चौथो स्थानमा छ भने अब लगभग युरोपा लिगको चुनौति मात्र बाकि रहेको रोमाको ५७ अंक भएको छ । शनिबार नै बोलोग्नालाई ५–१ को फराकिलो अन्तरले हराएको एसि मिलान ५६ अंक सहित छैटौं स्थानमा रहेको छ ।

शनिबारको खेलमा पहिलो हाफ बराबरीमा टुँगिएपछि एट्लान्टाले डुभन जपाटाको ५० औं मिनेटको गोलमा अग्रता लिएको थियो । तर घरेलु टोली भेरोनाले म्याट्टियो पेस्सीनाको गोलमार्फत ९ मिनेटपछि नै बराबरी गरेको थियो । भेरोना नवौं स्थानमा रहेको छ ।

मिलानको फरकिलो जितमा एलेक्सिस सेलेनमेकर्सले दुई गोल गरे भने हाकान कालहानोग्लु, इस्मेल बेनासेर, एन्ट रेबिच र डेभिड कालाब्रियाले १–१ गोल गरेका थिए । अर्को खेलमा आठौं स्थानको सासुलो कागिलारीसँग १–१ को बराबरीमा रोकिन पुग्यो ।

प्रिमियर लिगमा बर्नलीको जित

इङ्गलिस प्रिमियर लिगमा शनिबारको एक मात्र खेलमा बर्नलीले च्याम्पियनसिपमा रेलिगेट भइसकेको नर्विच सिटीलाई २–० ले हराएको छ । नर्विच पहिलो हाफमै ९ खेलाडीमा सिमित भएको थियो ।

इमिलियानो बुएन्डियाले ३५ मिनेटमा एस्ली वेष्टउडलाई कुहिनोले हिर्काउदा साझै रेड कार्ड खाएका थिए भने एरिक पिटर्समाथि खतरनाक ट्याकलका कारण योसिप डर्मिच मैदान बाहिरिएका थिए । त्यसपछि पहिलो हाफ सकिनुअघि क्रिस उडले गोल गर्दै बर्नलीलाई अग्रता दिलाएका थिए ।

८० औं मिनेटमा बेन जोफ्रिले आत्मघाती गोल गर्दै उपहार दिएका थिए । बर्नली ५४ अंक सहित नवौं स्थानमा रहेको छ भने नर्विच २१ अंक साथ पुछारमै आफ्नो प्रिमियर लिग यात्रा सक्काउने छ ।

Click to comment

Trending