Headline

किन जर्मनीका बिश्वकप बिजेताले २९ बर्षमै फुटबल त्यागे ?

Published

on

ब्राजिलमा भएको २०१४ को बिश्वकपको सेमिफाइनल र फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका जर्मन विङ्गर आन्द्रे सुर्लले बिहिबार सबैलाई स्तब्ध बनाउने निर्णय गरे । सुर्लले २९ बर्षको उमेरमै फुटबलबाट सन्यास घोषणा गरे । सकृय फुटबलरको लागि सन्यास लिने यो उमेर निकै कम हो, तर पनि उनले फुटबल छाडे ।

जर्मन बुन्डेसलिगाको यो सिजन अन्त्य भएसँगै सुर्लको बोरुसिया डर्टमण्डसँगको सम्झौता रद्द भएपछि सुर्लको यो घोषणाले सबैलाई झट्का दिएको छ । सुर्लकै शब्दमा उनको खेल जीवनको गहिराई अझै गहिरो बन्दै गयो र हाइलाइट कम बाट धेरै कम भए ।

आन्द्रे सुर्लका लागि के गलत भयो त ?

२०१३–१४ को उचाई

सन् २०१३ मा चेल्सीसँग आबद्ध भएपछि सुर्ल इङ्गलिस प्रिमियर लिगको दर्शकहरुका लागि परिचित नाम भए । होजे माउरिन्हो व्यवस्थापक रहदा चेल्सीका लागि ४४ खेल खेलेका सुर्लका लागि लण्डन बसाई निकै फलदायी रहन पुग्यो । जनवरी, २०१५ मा जर्मन क्लब उल्फ्सवर्गमा ट्रान्सफर भएपनि इङ्गल्याण्डमा सिजनको पहिलो हाफमा १४ खेल खेलेका कारण उनले प्रिमियर लिग बिजेताको पदक पाए ।

उनको खेल जीवनको सबैभन्दा महत्वपूर्ण घडी रह्यो २०१४ को बिश्वकप जहा उनी प्रमुख भुमिकामा देखिए । जर्मनीले ब्राजिललाई सेमिफाइनलमा ७–१ को लज्जास्पद पराजय चखाउदा सुर्लले दुई गोल गरे भने अर्जेन्टिनाबिरुद्धको फाइनलमा मारियो गोट्जेले गरेको एक्ट्रा टाइमको निर्णायक गोलका लागि उनले नै असिस्ट दिएका थिए ।

बुन्डेसलिगामा झर्दो ग्राफ

२०१५ मा उल्फ्सबर्गमा ट्रान्सफर भएको शुरुवती दिन उनको लागि राम्रो बित्यो । त्यही बर्षको मे महिनामा सब्स्टिच्युटको रुपमा मैदान उत्रिएका सुर्लले डर्टमण्डबिरुद्ध फाइनलमा गोल गर्दै क्लबलाई पहिलो पटक जर्मन कपको उपाधि दिलाए । १४ महिनापछि सुर्ल अघोषित ट्रान्सफर रकममा डर्टमण्ड गए । तर चेल्सी र उल्फ्सवर्गको तुलनामा त्यो ट्रान्सफर न डर्टमण्डलाई फाप्यो न सुर्ल आफैलाई ।

लोनमा क्लबहरु चाहर्दा पनि असफल

फर्म र फिटनेसका लागि संघर्षरत सुर्ललाई डर्टमण्डले जुलाई २०१८ मा लोनमा फुल्ह्याम पठायो । सुर्लको उपस्थितिले पनि फुल्ह्यामले २०१८–१९ को सिजन अन्त्यमा रेलिगेसन टार्न सकेन । परिणाम स्वरुप उनको लोन सम्झौता छोट्याइयो र उनले भविष्य नै नदेखेको डर्टमण्डमा फेरि फर्कनु पर्यो ।

पछिल्लो गर्मिमा सुर्ल अर्को लोन सम्झौतामा रसियन क्लब स्पार्टक मस्कोसँग जोडिए । चोटका कारण सुर्लले रसियन क्लबका लागि २०२० मा एक खेल पनि खेल्न सकेनन् र मस्कोले जुलाईमा समाप्त हुने उनको लोन सम्झौतालाई नविकरण नगर्ने निर्णय लियो ।

त्यसपछि सन्यास

मस्कोले सम्झौता नविकरण नगर्ने निर्णय लिएको दुई सातापछि सुर्लले सन्यास नै घोषणा गरिदिए । लामै समयदेखि सुर्लले आफूलाई कुनै पनि युरोपियन क्लबहरुमा स्थापित हुन सकेको वा मुल्यवान बन्न नसकेको महसुस गर्दै आएका थिए । यसले गर्दा उनको फुटबल प्रतिको माया पनि घट्दै जान पुगेको थियो र अब नखेल्ने निर्णयमै पुगेका हुन् ।

एक समयका खतरनाक विङ्गरले निकै निराशाका साथ आफ्नो सफल फुटबल करिअरको अन्त्य गरेका छन् ।

Click to comment

Trending