Headline

युभेन्टसलाई पछिल्लो तीन खेलमा जम्मा दुई अंक

Published

on

दुई गोलको अग्रतालाई खेर फाल्दा युभेन्टस इटालियन सिरी आ ३३ औं चरणको खेलमा सासुलोसँग ३–३ गोलको बराबरीमा रोकिएको छ ।

अवे खेलमा अंक बाडेपनि युभेन्टसले शिर्ष स्थानमा अझै पनि ७ अंकको स्पष्ट अग्रता कायम राखेको छ । बुधबारकै खेलमा लाजियो युडिनेजीसँग गोलरहित बराबरी रोकिएपछि युभेन्टसलाई फाइदा पुगेको हो । लिगमा दोश्रो स्थानमा रहेको एट्लान्टाको ७० अंक रहेको छ भने लाजियोको ६९ अंक भएको छ ।

लकडाउनपछि सिरी आ सुचारु हुनु अघि युभेन्टससँग मात्र एक अंकको दुरीमा रहेको लाजियो अहिले ८ अंकले पछि परेको छ । लाजियोले आफ्नो पछिल्लो चार खेलमा मात्र एक अंक बटुल्दा त्यसको फाइदा युभेन्टसलाई भएको छ ।

एक प्रशिक्षक राम्रो प्रदर्शनको निरन्तरता चाहन्छन् तर अहिले हामीसँग शारिरिक र मानसिक रुपमै त्यो छैन । हामीले केही राम्रा पलहरुमा कठिन समयको सामना गर्नुपरेको थियो । हामीले एट्लान्टा र सासुलो जस्तो सुधाएिको टोलीको सामना गर्दै आएको भन्न सक्छौं । हामीले यस्तो उतार चढावपूर्ण समस्याको समाधान खोज्जुपर्छ, युभेन्टस प्रशिक्षक माउरिजियो सारीले भने ।

ब्राजिलियन ड्यानिलो र अर्जेन्टाइन गोञ्जालो हिग्वेनले गोल गरेपछि युभेन्टस १२ मिनेटमै २–० ले अघि बढेको थियो । कप्तान जोर्जियो चिलिनीले पुनरागमन गर्दा पनि कमजोर रक्षापक्तिका कारण युभेन्टसले गोल खान पुग्यो । युभेन्टसले पछिल्लो पाँच खेलमा ११ गोल खाइसकेको छ ।

आधा घण्टा पुगिसक्दा फिलिप जुरिचिचले सासुलोका लागि एक गोल फर्काएका थिए । डोमेनिको बेरार्डी र फ्रान्सेस्को कपुटोले चार मिनेटको अन्तरमा दुई गोल गरेपछि सासुलोले खेलमा अग्रता लियो । खेल सकिन २६ मिनेट बाकी हुँदा एलेक्स सान्द्रोले गोल गरेपछि युभेन्टस अप्रत्याशित हारबाट जोगिएको थियो ।

यसअघिको दुई खेलमा युभेन्टस एसि मिलानसँग ४–२ ले हारेको थियो भने क्रिष्चियानो रोनाल्डोले ९० औं मिनेटमा पेनाल्टी गोल गरेपछि एट्लान्टासँग बराबरी गरेको थियो ।
बुधबार नै मिलानले पार्मालाई ३–१ ले पराजित गर्यो भने नापोलीले बोलाग्नासँग १–१ गोलको बराबरी गर्यो । एएस रोमाले भेरोनालाई २–१ ले हरायो भने फियोरेन्टिनाले लेचेलाई ३–१ ले पराजित गर्यो ।

रोमा पाचौं स्थानमा रहेको छ भने समान ५३ अंक रहेको नापोली छैटौं र मिलान सातौं स्थानमा रहेका छन् । इन्टर मिलान ६८ अंकका साथ चौथो स्थानमा रहेको छ ।

Click to comment

Trending