Headline

२ सय गोल पुरा गरेका केनलाई माउरिन्होले भने अविश्वसनीय

Published

on

ह्यारी केनले व्यवसायिक फुटबल करिअरमा २ सयौं गोल पुरा गरेपछि टोटेन्ह्याम हटस्परका व्यवस्थापक होजे माउरिन्होले इङ्गल्याण्ड कप्तानको खुलेरै तारिफ गरेका छन् ।

बुधबारको खेलमा केनले दुई गोल गरेपछि स्पर्सले न्युकासललाई इङ्गलिस प्रिमियर लिगमा ३–१ ले हरायो । केनले क्लब स्तरमा २ सय १ गोल पुरा गरेका हुन् । ३५० खेल खेलिसकेका २६ बर्षिय केनले १ सय ८५ गोल भने स्पर्सका लागि गरेका हुन् ।

जितपछि स्पर्स ५५ अंकसहित सातौं स्थानमा उक्लिएको छ भने अब उसको आखा युरोपा लिग छनोटमा हुनेछ । स्पर्स च्याम्पियन्स लिग छनोटबाट लगभग बाहिरिसकेको छ । “ह्यारि केन लाई थाहा छ उनी कति महत्वपूर्ण छन् भनेर । उनी अविश्वसनीय छन् । चोटबाट निकै कठिन रुपमा मुक्त भए यता उनले हाम्रो लागि हरेक खेलको हरेक मिनेट खेलेका छन् । दुई दिनको बिश्रामकाबीच हामीले चौथो खेल खेलेका थियौं र उनले आफ्नो सम्पूर्ण दिएका छन्,” माउरिन्होले भने ।

माउरिन्होले आफ्नो आठौं प्रयासमा न्युकासलको सेन्ट जेम्स पार्कमा पहिलो पटक प्रिमियर लिग खेल जितेका हुन् । खेलमा सन हिउङ–मिनले २७ औं मिनेटमा गोल गर्दै न्युकासलको दवाब अन्त्य गरेका थिए । ड्वाइट खेलको हेडर पोस्टमा ठोक्किदा न्युकासलले बराबरी गर्ने मौका चुकाएपनि दोश्रो हाफको ११ मिनेटपछि म्याच रिचीले घरेलु टोलीलाई खेलमा फर्काएका थिए ।

तर चार मिनेटपछि नै केनले स्टेभन बर्गविनको लामो क्रसमा अग्रता फर्काए भने ९० औं मिनेटमा अर्को हेडर गोलमा परिणत गरेका थिए । न्युकासलले खेलमा स्पर्सको ८ शटको तुलनामा २२ प्रहार गर्दै राम्रो प्रदर्शन गरेको थियो ।

अर्को खेलमा म्यानचेस्टर सिटीले रेलिगेसन जोनमा रहेको बर्नमाउथलाई २–१ हरायो । एतिहाद स्टेडियममा डेभिड सिल्भाले छैटौं मिनेटमा अग्रता दिलाएका थिए भने ग्याब्रियल जिजसले ३९ मिनेटमा दोश्रो गोल गरेका थिए । बर्नमाउथका लागि डेभिड ब्रुक्सले ८८ औं मिनेटमा सान्त्वना गोल गरेका थिए ।

दुई खेल खेल्न बाकी रहदा सिटीको ७५ अंक भएको छ भने बर्नमाउथ ३१ अंकका साथ १८ औं स्थानमा रहेको छ । बर्नली र उल्भ्सले भने १–१ गोलको बराबरी खेलेका थिए । उल्भ्स ५६ अंकका साथ छैटौं स्थानमा रहेको छ । उल्भ्सको युरोपा लिगमा छनोट हुने आशा अझै जिवितै रहेको छ ।

Click to comment

Trending