Headline

लिभरपुलको सपना सपनामै सिमित

Published

on

इङ्गलिस प्रिमियर लिगको एकै सिजनमा सर्वाधिक अंकको किर्तिमान रच्ने लिभरपुलको सपना सपनामै सिमित भएको छ । बुधबार रातिको खेलमा यो सिजनको च्याम्पियन लिभरपुल आर्सनल २–१ ले पराजित हुन पुग्यो ।

दुई सिजन अगाडी म्याचेस्टर सिटीले प्रिमियर लिगको उपाधि जित्दा १ सय अंकको किर्तिमान बनाएको थियो । दोश्रो किर्तीमान पनि सिटीकै नाममा रहेको छ । गत सिजन लगातार दोश्रो पटक प्रिमियर लिग जित्ने क्रममा सिटीले ९८ अंक जोडेको थियो । लिभरपुलले ९७ अंक जोडेपनि १ अंकले उपाधि जित्नबाट चुकेको थियो ।

यो सिजन लिभरपुललाई नयाँ किर्तिमान रच्ने अवसर थियो र यो सहज रुपमा हुनु पनि पर्ने थियो तर उपाधि जिते यता लिभरपुलले ९ अंक गुमाउन पुग्यो । यस क्रममा लिभरपुल सिटीसँग ४–० ले पराजित भएको थियो भने बर्नलीसँग १–१ गोलको बराबरीमा पनि रोकिएको थियो ।

बुधबार सादियो मानेले एन्ड्रयु रोबर्टसनको क्रसमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएपछि अर्को खराब सिजनबाट गुज्रिरहेको आर्सनल घरेलु मैदानमा २० मिनेटमै पछि परेको थियो । पहिलो हाफ सकिनु नै अघि लिभरपुलका लागि यो सिजनभरि नै उत्कृष्ट प्रदर्शन गरेका प्रमुख दुई खेलाडीले गल्ती गरेपछि आर्सनलले अग्रतालाई उल्टाएको थियो ।

भर्जिल भान डाइकको कमजोर ब्याक पासको फाइदा उठाउदै एलेक्जाण्ड्रे लाजोकेटले गोल गरे भने गोलकिपर एलिसनको खराब क्लियरेन्सको फाइदा रेइस नेल्सनले उठाए । दोश्रो हाफमा लिभरपुलले लगातार आक्रमण बुनेपनि मिकेल आर्टेटाको रक्षात्मक रणनीतिको अगाडी केही लागेको थिएन ।

लिभरपुललाई अब प्रिमियर लिगमा एकै सिजन दोश्रो सर्वाधिक अंकको किर्तिमान कायम गर्नका लागि बाकी रहेका दुवै खेल जित्नै पर्ने दवाब छ । आर्सनल ५३ अंकका साथ नवौं स्थानमा रहेको छ ।

Click to comment

Trending