Headline

रुट फर्किएपछि श्रृंखलामा आखा लगाउदै इङ्गल्याण्ड

Published

on

पहिलो टेस्टमा पराजित भएपछि नियमित कप्तान जो रुट फर्किएसँगै इङ्गल्याण्डको ध्यान अब वेष्ट इण्डिजबिरुद्धको श्रृंखला कब्जा गर्ने तर्फ केन्द्रित भएको छ ।

आफ्नो दोश्रो बच्चाको डेलिभरीका लागि रुटले लकडाउनपछि शुरु भएको पहिलो टेस्ट छुट्टाएका थिए । रुटको अनुपस्थितिमा अल राउण्डर बेन स्टोक्सले इङ्गल्याण्डको कप्तानी सम्हाले तर घरेलु टोली चार विकेटले पराजित हुन पुगेको थियो । पछिल्लो ३२ बर्षमा पहिलो पटक इङ्गल्याण्डमा श्रृंखला कब्जा गर्न वेष्ट इण्डिजलाई अब ओल्ड ट्राफोर्डमा हुने दुई मध्ये एक टेस्ट जिते पर्याप्त हुनेछ ।

सबै टेस्ट बन्द रँगशालामा खेलिएपनि रुटको लागि भने नौलो हुनेछैन । इङ्गल्याण्डले उनको आगमनलाई प्रेरणाको स्रोतको रुपमा लिन गइरहेको छ ।

२०१७–१८ को एसेज श्रृंखला देखि इङ्गल्याण्डले आफ्नो पछिल्लो १० टेस्ट श्रृंखलामध्ये ८ मा पहिलो टेस्टमा पराजय भोगेको हो । कोरोना भाइरसका कारण खेलकुद गतिविधिहरु ठप्प हुनुअघि इङ्गल्याण्डले दक्षिण अफ्रिकाबिरुद्ध तीन टेस्टको श्रृंखलामा पहिलो खेल बिशाल अन्तरले गुमाएपनि अन्त्यमा ३–१ को जित हात पारेको थियो । तर दुई खेल मात्र बाकी रहेकाले मार्जिन अफ एरर निकै कम हुँदा इङ्गल्याण्डले निकै मिहिनेत गर्नुपर्ने देखिन्छ ।

रुटलाई ठाँउ दिनका लागि जो डेन्लीले स्थान खाली गर्ने लगभग पक्का–पक्की छ । जाक क्रलिले साउथ्याम्प्टनमा भएको पहिलो टेस्टको दोश्रो इनिङ्गसमा ७६ रन बनाउदा डेन्ली भने दुवै पटक सस्तैमा पेभिलियन फर्केका थिए ।

“हामी सबै जोले निकै राम्रो गरेको हेर्न चाहन्छौं । तर उनी अहिले केही दवाबमा छन् । जाक सुधारिदै आएका छन् । उनि परिपक्व हुदै आएका छन् र दोश्रो इनिङ्गसमा राम्रो प्रदर्शन गरेका थिए,” इङ्गल्याण्ड प्रशिक्षक क्रिस सिल्भरउडले भने । तर दवाबमा इङ्गल्याण्ड विकेट किपर जोस बटलर पनि रहेका छन् ।

बट्लरले क्याच ड्रप गरेको फाइदा उठाउदै जर्माइन ब्ल्याकउडले पहिलो टेस्टको दोश्रो इनिङ्गसमा उत्कृष्ट ९५ रनको पारी खेल्न पुग्दा वेष्ट इण्डिजको जित सम्भव भएको थियो । २०१९ को शुरुवात यता मात्र २३ दशमलव २२ को औषतमा ब्याटिङ्ग गरिरहेका बट्लरले ७५ इनिङ्गसमा मात्र एक शतक प्रहार गरेका छन् । अर्का प्रभावकारी विकेटकिपर बेन फोक्स तयारी अवस्थामा रहे पनि सिल्भरउडले बट्लरमा बिश्वास राखेका छन् ।

“सबैभन्दा पहिले त हामी जोसलाई सफल हुनका लागि उपयुक्त अवसर दिन चाहन्छौं । उनले मैदानमा उत्रदै ठूलो योगफल बनाउन आवश्यक छ होइन ? उनलाई यसको राम्रो ज्ञान छ,” सिल्भरउडले भने ।

Click to comment

Trending