Headline

बिग ब्याश लिग डिसेम्बर ३ देखि शुरु हने

Published

on

यो सिजनको बिग ब्याश लिगको पूर्ण तालिका सार्वजनिक गर्दै क्रिकेट अष्ट्रेलियाले ट्वान्टी ट्वान्टी प्रतियोगिता डिसेम्बर ३ देखि शुरु हुने जनाएको छ ।

बिबिएलको १० औं संस्करण एडिलेड स्ट्राइकर्स र मेलबर्न रेनेगेड्सबीचको खेलसँगै शुरु हुने तर कोरोना भाइरस महामारीका कारण तालिका प्रभावित हुन सक्ने पनि बताएको छ । फाइनल फेब्रुवरी ६ का लागि तय भएको छ भने प्रतियोगिता अवधिभर कुल ६१ खेलहरु हुनेछन् ।

अक्टोबर १७ देखि नोभेम्बर २९ सम्मका लागि उमेन्स बिग ब्याश लिगको पनि घोषणा गरेको बिबिएलको महत्वाकांक्षी तालिकाले क्रिकेट अष्ट्रेलियाको प्रशारकहरु प्रति प्रतिबद्धता पुरा पनि हुने भएको छ । कम कन्टेन्ट बनाएको खण्डमा क्रिकेट अष्ट्रेलियाले प्रशारकहरुलाई जरिवाना तिर्नुपर्ने अवस्था आउन सक्थ्यो ।

बिग ब्याश प्रमुख एलिस्टेयर डोब्सनले सार्वजनिक स्वास्थ्य सुझाव र कडा स्वास्थ्य प्रोटोकोलपछि मात्रै लिगहरु हुने बताएका छन् । “कोरोना भाइरसको संक्रमण जारी रहेको समयमा तालिका तयार पार्दा पक्कै पनि चुनौतिहरुको सामना गर्नुपर्नेछ । लिगबाहिर पनि केही तत्वहरु हुन्छन् जसका कारण तालिकामा प्रभाव पर्न सक्छ,” डोब्सनले भने ।

महामारीका कारण अष्ट्रेलिया ए को टुरहरु र अष्ट्रेलिया एघारका खेलहरु हालका लागि स्थगित भएपनि अष्ट्रेलियाको घरेलु प्रतियोगिता र अन्तर्राष्ट्रिय श्रंखलाहरु भने पुर्व निर्धारित योजना अनुसार नै अगाडी बढ्ने भएको छ । अष्ट्रेलियालाई सबैभन्दा ठूलो आर्थिक फाइदा भने भारतबिरुद्धको चार म्याचको टेस्ट श्रंखलाले हुन गइरहेको छ ।

अष्ट्रेलियामै अक्टोबर र नोभेम्बरका लागि तय भएको ट्वान्टी ट्वान्टी बिश्वकपको भविष्य भने अझै टुँगो लाग्न सकेको छैन । केही दिन अघि अष्ट्रेलियन मिडियामा ट्वान्टी ट्वान्टी बिश्वकप स्थगित हुने निश्चित रहेको समाचार बाहिर आएको थियो ।

Click to comment

Trending