Headline

चेल्सीको च्याम्पियन्स लिग सम्भावना बलियो

Published

on

नर्विच सिटीलाई १–० ले पराजित गर्दै चेल्सीले अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट हुने सम्भावनालाई अझ मजबुत बनाएको छ ।

यसअघि नै रेलिगेट भइसकेको टोली नर्विचबिरुद्ध स्ट्यामफोर्ड बृजमै निकै कसरत गरेपनि महत्वपूर्ण जितपछि चेल्सीले अंक तालिकामा चार अंकको अग्रता बनाएको छ । मात्र दुई खेल बाकी रहदा चेल्सीको ६३ अंक रहेको छ भने एक खेल कम खेलेका लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडको समान ५९ अंक रहेको छ ।

युएफाले म्यानचेस्टर सिटीको युरोपमा खेल्न नपाउने गरि लगाएको दुई बर्षको प्रतिबन्ध अदालतले हटाइदिएपछि अब प्रिमियर लिगमा चौथो स्थानको टोलीसम्मले मात्र च्याम्पियन्स लिग खेल्न पाउनेछ । पहिलो हाफको तेश्रो मिनेटको इन्जुरी समयमा क्रिष्चियन पुलिसिचको क्रसमा ओलिभर जिरुडले हेडर मार्फत गरेको एक मात्र गोल निर्णायक साबित भएको थियो ।

पुछारमा रहेको टोलीबिरुद्ध आफ्नो टोलीले सन्तोषजनक प्रदर्शन गर्न नसकेपनि चेल्सी व्यवस्थापक फ्रांक लाम्पार्डले जित महत्वपूर्ण रहेको बताए । अर्को एक सुवर्ण अवसर खेर जादा जिरुडले दिएको चिप बलमा पुलिसिचले गोल गर्न चुकेका थिए ।

सिजनको यो चरणमा परिणाम महत्वपूर्ण हुन्छ र हामीले खेलमा उनीहरुलाई गोल गर्ने मौका समेत सृजना गर्न दिएको थिएनौं । जब हामी टिमको रुपमा हुन्छौं र टेबलमा राम्रो स्थानमा रहेका हुन्छौं, परिणामले मात्र मतलब राख्छ, लाम्पार्डले भने । खेलमा नर्विचले एउटा पनि फ्रेममा प्रहार गर्न सकेको थिएन ।

एट्लान्टा दोश्रो स्थानमा उक्लियो

मारियो पासालिचले ह्याट्रिक पुरा गरेपछि एट्लान्टाले इटालियन सिरी आ मा रेलिगेसन जोनमा रहेको ब्रेसियालाई ६–२ ले हरायो । जितपछि एट्लान्टा दोश्रो स्थानमा उक्लिएको छ ।

लगातार ११ खेलमा अपराजित रहेको एट्लान्टाको ३३ खेलबाट ७० अंक रहेको छ भने पहिलो स्थानको युभेन्टसको ७६ र तेश्रोमा रहेको इन्टर मिलान र चौथोमा धकेलिएको लाजियोको समान ६८ अंक रहेको छ । एट्लान्टाले एक खेल बढी खेलेको हो ।

पासालिच बाहेक इन्टरका लागि मार्टिन डि रुन, रस्लान मालिनोभ्स्की र दुभन जापाटाले पनि १–१ गोल गरेका थिए । ब्रेसियाका लागि अर्नेस्टो टोरेग्रोस्सा र निकोलास स्पालेकले १–१ गोल गरे ।

Click to comment

Trending