Headline

एल्डरवेरेल्डको निर्णायक गोलमा टोटेन्ह्यामद्वारा आर्सनल पराजित

Published

on

टोबी एल्डरवेरेल्डले निर्णायक गोल गरेपछि टोटन्ह्याम हट्स्परले इङ्गलिस प्रिमियर लिगमा आर्सनललाई २–१ ले हराएको छ ।

जितसँगै होजे माउरिन्होको टोलीलले च्याम्पियन्स लिगमा छनोट हुने आफ्नो झिनो आशालाई कायमै राखेको छ । टोटेन्ह्याम ३५ खेलबाट ५२ अंकका साथ आठौं स्थानमा उक्लियो भने म्यानचेस्टर युनाइटेड (५८) पाचौं, उल्भ्स (५५) छैटौं र सेफिल्ड युनाइटेड (५४) सातौं स्थानमा रहेको छ ।

प्रिमियर लिगबाट यो सिजन म्यानचेस्टर सिटीलाई युरोपमा खेल्न प्रतिबन्ध लागेका कारण पाचौं स्थानको टोलीसम्म च्याम्पियन्स लिग खेल्न सक्नेछ । सिटीको युरोपको भविष्य भने निर्धारण हुन बाकी रहेको छ ।

घरेलु मैदानमा टोटेन्ह्याम १६ औं मिनेटमै पछि परेको थियो । आर्सनलका लागि एलेक्जेण्ड्रे लाकाजेटले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तीन मिनेटपछि नै सन हिउङ–मिनले गोल गर्दै टोटेन्ह्यामका लागि बराबरी गोल गरेका थिए ।

बराबरीतर्फ अघि बढेको खेलमा एल्डरवेरेल्डले ८१ औ मिनेटम गोल गरेपछि टोटेन्ह्याम बिजयी बनेको थियो । आर्सनल भने ५० अंकका साथ नवौं स्थानमा रहेको छ ।

आइतबार नै भएको अर्को खेलमा उल्भ्सले एभर्टनलाई ३–० ले हरायो भने रेलिगेसन टार्न संघर्ष गरिरहेको एस्टन भिल्लाले क्रिष्टल प्यालेसलाई २–० ले पराजित गर्यो । एस्टन भिल्ला ३० अंकका साथ १८ औं स्थानमा रहेको छ भने रेलिगेसन टार्न अन्य सबै खेल जित्नुपर्ने दवाबमा रहेको छ ।

Click to comment

Trending