Headline

युरोपियन राउन्ड–अपः रोनाल्डोले जोगाए युभेन्टसलाई, बार्साको जित, स्टर्लिङ्गको ह्याट्रिक

Published

on

क्रिष्चियानो रोनाल्डोले पेनाल्टीमा दुई गोल गरेपछि युभेन्टस इटालियन सिरी आ मा आफ्नो पाचौं पराजयबाट जोगिएको छ भने स्पेनिस ला लिगामा बार्सिलानाले आर्टुरो भिडालको गोलको मद्दतमा रियल म्याड्रिडसँगको दुरी पुन एक अंकमा झारेको छ ।

नर्विच सिटी रेलिगेट भएको दिन चेल्सीको माथिल्लो चार स्थानको दाबेदारीमा सेफिल्ड युनाइटेडले नराम्ररी झड्का लगाइदिएको छ भने प्रिमियर लिगकै अन्तिम खेलमा रहिम स्टर्लिङ्गले ह्याट्रिक पुरा गरेपछि म्यानचेस्टर सिटीले ब्राइटमाथि ५–० को शान्दार जित हात पार्यो ।

रोनाल्डोको दुई पेनाल्टी

युभेन्टसलाई सिरी आ मा शिर्ष स्थानमा १० अंकको अग्रता बनाउने मौका थियो तर लगातार ९ खेलमा जित हात पारेको एट्लान्टाले ८० औं मिनेटसम्म अग्रता लिदै उल्टै ११ औं जित तर्फ अग्रसर बन्यो । तर रोनाल्डोले ९० औं मिनेटमा प्राप्त पेनाल्टीमा गोल गर्दै युभेन्टसलाई हारबाट जोगाएका थिए ।

भ्रमणकारी टोलीले खेलमा डुभान जपाटा र रस्लान मालिनोभ्स्कीले गोल गरेपछि दुईपटक अग्रता लिएको थियो । जपाटाले १६ औं मिनेटमा गोल गरेपछि एट्लान्टाले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । रोनाल्डोले दौश्रो हाफको १० मिनेटपछि पेनाल्टीबाटै बराबरी गरेका थिए ।

रोनाल्डोले यो सिजन युभेन्टसका लागि २८ गोल गरिसकेका छन् भने सबै प्रतियोगिता गरेर ३२ गोल गरेका छन् ।

युभेन्टस ७६ अंकसहित पहिलो स्थानमा कायमै रहेको छ भने सासुलोसँग २–१ ले स्तब्ध भएको लाजियो दोश्रो स्थानमा रहेको छ । लिगको शुरुवातमा उत्कृष्ट प्रदर्शन गर्दै युभेन्टसलाई दरिलो चुनौति प्रस्तुत गरेको लाजियो ६ खेलमा पराजित भएको छ । ६ चरणको खेल बाकी रहदा एट्लान्टाको ६७ अंक रहेको छ भने लाजियोको एक अंक बढी रहेको छ ।

इन्टर मिलान ६५ अंक सहित चौथो स्थानमा छ भने ब्रेसियालाई ३–० ले हराएको एएस रोमा अझै पनि च्याम्पियन्स लिगको दौडमा कायमै रहेको छ । रोमाको ५४ अंक भएको छ ।

बार्सा उपाधि दौडमा कायमै

आर्टुरो भिडालले गरेको एक मात्र गोलको मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा रियल म्याड्रिडसँगको दुरी एक अंकमा छोट्याएको छ । शनिबारको खेलमा रियलले भालाडोलिडलाई १– ले पराजित गर्यो । यद्दपि ८० अंक रहेको रियलले एक खेल कम खेलेको छ भने सोमबारको खेलमा ग्रानडालाई पराजित गर्न सके पुन चार अंकको स्पष्ट अग्रता लिनेछ ।

मेस्सीले यो सिजन २० असिस्ट गर्दै जाभीले २००८–०९ मा कायम गरेको किर्तिमानको बराबरी गरेका छन्

रियल म्याड्रिडलाई ८ बर्षमा दोश्रो उपाधि हात पार्नका लागि एक जित र एक बराबरी पर्याप्त रहेको छ । शनिबारको अवे खेलमा भिडालले मेस्सीको पासमा १५ औं मिनेटमा गरेको गोल नै निर्णायक साबित भएको थियो । व्यवस्थापक किके सेटियनले बोल्ड निर्णय लिदै शुरुवाती ११ मा लुइस सुवारेजलाई बेञ्चमा राख्दै २० बर्षिय युवा मिडफिल्डर रिकी पुगलाई स्थान दिएका थिए ।

खेलमा मेस्सीलाई भालाडोलिडले शान्त राखेपनि उनले सिजनको २० औं असिस्ट निकाल्न भने सफल भएका थिए । यस क्रममा जाभीले २००८–०९ सिजनमा कायम गरेको किर्तिमानको बराबरी पनि गरेका छन् ।

अर्को खेलमा एट्लेटिको म्याड्रिड रियल बेटिसलाई १–० ले हराउदै च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको छ । एट्लेटिको ६६ अंक सहित तेश्रो स्थानमा रहेको छ भने पाचौं स्थानमा रहेको भिलारियलले सबै खेल जित्दै बराबरी गरेपनि हेड–टु–हेडमा पछि पर्नेछ ।

एट्लेटिकोको जितमा एक मात्र गोल डिएगो कोस्टाले खेलको ७४ औं मिनेटमा गरेका थिए । ला लिगाकै अर्को खेलमा ओसासुनाले सेल्टा भिगोलाई २–१ ले हरायो ।

चेल्सीको अप्रत्याशित हार

इङ्गलिस प्रिमियर लिगको तेश्रो स्थानमा रहेको चेल्सीले शनिबार सेफिल्ड युनाइटेडसँग ३–० ले स्तब्ध भयो । पराजित भएपछि ६० अंक रहेको चेल्सीलाई अब चौथो स्थानको लेस्टर सिटी र पाचौं स्थानको म्यानचेस्टर युनाइटेडलाई उछिन्ने मौका मिलेको छ । एक खेल कम खेलेको लेस्टरको ५९ र युनाइटेडको ५८ अंक रहेको छ ।

स्टर्लिङ्गले लिग सिजनमा १७ गोल गरिसकेका छन्

सेफिल्डको जितमा डेभिड म्याकगोल्डरिकले दुई र ओलिभर म्याकबर्नीले १ गोल गरेका थिए । मात्र तीन खेल खेल्न बाकी रहेको अवस्थामा सेफिल्ड छैटौं स्थानमा उक्लदै उल्भ्स र आर्सनललाई पछि पार्न सफल भएको छ । दिनको अन्तिम खेलमा सिटीलाई शान्दा जित दिलाउने क्रममा स्टर्लिङ्गले ह्याट्रिक पुरा गर्दै यो सिजन १७ गोल गरेका छन् ।

उनले सबै प्रतियोगिता गरेर २७ गोल गर्दै इङ्गलिस क्लबबाट सर्वाधिक गोल गर्ने खेलाडी पनि बनेका छन् । अवे खेलमा अन्य दुई गोल ग्याब्रियल जिजस र बर्नार्डो सिल्भाले गरेका थिए ।

Click to comment

Trending