Headline

महत्वपूर्ण खेलमा इन्टर मिलान चुक्यो, युभेन्टसलाई फाइदा

Published

on

इन्टर मिलानले इटालिय सिरी आ मा तेश्रो स्थानमा जाने मौका चुकाएको छ । बिहिबारको खेलमा इन्टर मिड टेबल भेरोनासँग २–२ गोलको बराबरीमा रोकियो ।

३१ औ चरणका खेलहरु समाप्त हुँदा इन्टर ६५ अंकसँगै चौथो स्थानमा रहेको छ भने एट्लान्टा (६६) तेश्रो र लाजियो (६८) दोश्रो स्थानमा रहेको छ । इन्टरको बराबरीले फाइदामा पुगेको युभेन्टस ७५ अंकका साथ पहिलो स्थानमा कायमै रहेको छ । एसि मिलानसँग ४–२ ले पराजित भएपनि युभेन्टसलाई त्यो हारले खासै फरक परेन ।

सिरी आ मा युभेन्टस र इन्टरले सबैभन्दा कम खेलमा पराजय बेहोरेका छन् । चार खेल हारेको युभेन्टसले मात्र तीन बराबरी गरेको छ भने इन्टरले ८ वटा खेलबाट १६ अंक गुमाएको छ ।

अवे खेलमा डार्को लाजोभिचले गोल गरेपछि इन्टर दोश्रो मिनेटमै खेलमा पछि परेको थियो । दोश्रो हाफ शुरु भएको चार मिनेटपछि एन्टोनियो कान्द्रेभाले गोल गर्दै इन्टरलाई खेलमा फर्काएका थिए । ६ मिनेटपछि नै फेडेरिको डिमार्कोले आत्मघाती गोल गरेपछि इन्टरले अग्रता लिएको थियो ।

निर्धारित समय सकिनु चार मिनेट अघि मिग्वेल भेलोसोलले गोल गरेपछि भेरोनाले इन्टरसँग दुई अंक खोसेको थियो । भेरोना ४३ अंकसाथ नवौं स्थानमा रहेको छ । अर्को खेलमा युडिनेजी स्पाललाई ३–० ले हराउदै १४ औं स्थानमा उक्लियो । मात्र १९ अंकसाथ पुछारमा रहेको स्पालमा रेलिगेसनको खतरा अझै थपिएको छ ।

सेभिया चौथो स्थानमा कायम

स्पेनिस ला लिगामा सेभिया एथ्लेटिक बिल्बाओलाई २–१ ले पराजित गर्दै चौथो स्थानमा कायमै रहेको छ । पाचौं स्थानको भिलारियालसँग ६ अंकको दुरीमा रहेको सेभियाले च्याम्पियन्स लिगको स्थानका लागि पनि अग्रसर नै रहेको छ ।

सेभिया र एट्लेटिको म्याड्रिडको समान अंक रहेपनि हेड–टु–हेडमा डिएगो सिमियोनेको टोली तेश्रो स्थानमा रहेको छ । पहिलो दुई स्थानको लागि भने दुवै टोलीको दाबेदारी लगभग समाप्त भइसकेको छ । ३५ औं चरणको समाप्तिपछि बार्सिलोनाको ७६ अंक रहेको छ भने एक खेल कम खेलेको रियल म्याड्रिडको ७७ अंक रहेको छ ।

शुक्रबारको खेलमा आलाभेसलाई पराजित गर्न सकेको खण्डमा रियलले चार अंकको स्पष्ट अग्रता कायमै राख्नेछ । एन्डर कापाको गोलमार्फत २८ औं मिनेटमा पछि परेको सेभियालाई एभर बनेगा र मुनिर एल हदादीले गोल गर्दै जित दिलाएका थिए ।

एथ्लेटिक नवौं स्थानमा रहेको छ । बिहिबारको अन्य खेलमा मायोर्का लेभान्तेलाई २–० ले पराजित गर्दै रेलिगेसन जोनबाट बारिह निक्लने कसरतमा रहेको छ । १८ औं स्थानमा रहेको मायोर्काको ३२ अंक छ भने रेलिगेसन जोनभन्दा एक स्थान माथि रहेको आलाभेसको ३५ अंक रहेको छ ।

अर्को खेलमा लेगानेसले आइबारलाई गोलरहित बराबरीमा रोक्यो । लेगानेसको २९ अंक रहेको छ भने आइबार ३६ अंकसाथ १५ औं स्थानमा रहेको छ ।

Click to comment

Trending