Headline

प्रिमियर लिगका तीन वटै खेलमा भिडियो असिस्टेन्ट रेफ्रिको त्रुटी

Published

on

इङ्गलिस प्रिमियर लिगले बिहिबार भएका तीन वटै खेलमा भिडियो असिस्टेन्ट रेफ्रि (भार) बाट पेनाल्टीमा गलत निर्णय आएको स्विकार गरेको छ ।

म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई ३–० ले हराउदा ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गोल गरेका थिए । जेम्स वार्ड ब्राउजको बिवादास्पद पेनाल्टी बारमा लाग्दा साउथ्याम्प्टनले एभर्टनसँग १–१ गोलको बराबरी खेलेको थियो भने ह्यारि केनमाथि भएको फउलले पेनाल्टी नपाउदा टोटेन्ह्याम हट्स्पर बर्नमाउथसँग गोलरहित बराबरीमा रोकिन पुग्यो ।

सबै खेलको समाप्तिपछि प्रिमियर लिगले युनाइटेड र साउथ्याम्प्टनले पेनाल्टी पाउन नपर्ने र स्पर्सले भने पेनाल्टी पाउनु पर्ने स्पष्ट पारेको छ । पुर्व एभर्टन खेलाडी टिम काहिलले भारले काम गर्नका लागि पुर्व खेलाडीको सहयोग लिनुपर्ने बताएका छन् ।

“मलाई लाग्छ पुर्व खेलाडीसँगै हुँदा उनीहरु (भार) म्याचमा आएका मोडहरुको बारे स्पष्ट हुनेछन् । पेनाल्टी पाउनका लागि ढलिदिदा खेलाडीहरुले बुझ्न सक्छन् । यसको लागि भारलाई खेलाडीकै सुझाव आवश्यक रहन्छ,” पुर्व अष्ट्रेलियन फुटबलर काहिलले भने ।

टोटेन्ह्यामका व्यवस्थाक होजे माउरिन्होले संसारका सबै लाई त्यो पेनाल्टी थियो लागेको थियो तर भिडियो असिस्टेन्ट रेफ्रि माइकल ओलिभरलाई भने त्यस्तो नलागेको बताए । डिफेन्ड गर्ने क्रममा बर्नमाउथका जोसुवा किँगले केनलाई डि एरियाभित्र धकेलेका थिए र रेफ्रि पउल टियर्नीले पेनाल्टी दिएनन् । ओलिभरले पनि टियर्नीलाई चेक गर्नका लागि खेल रोक्न भनेका थिएनन् ।

बिहिबार युनाइटेडको सहज जितमा फर्नान्डेजको २७ औं मिनेटको बिवादास्पद पेनाल्टीपछि मेसन ग्रिनउड र पउल पोग्बाले पनि गोल गरेका थिए । फर्नान्डेजले बल माथि आक्रमण गर्दा लडेपनि उनले भिल्ला डिफेन्डर एज्री कोन्साको खुट्टा तानेको देखिन्थ्यो ।

युनाइटेड अंक तालिकामा ५८ अंक सहित पाचौं स्थानमा कायमै रहेको छ र च्याम्पियन्सको लिगको दाबेदारी अझै रहेको छ ।

बराबरीपछि टोटेन्ह्याम भने सातौं स्थानमा उक्लन चुकेको छ । टोटेन्ह्यामको ४९ अंक छ भने बिहिबार जित हात पारेको भए उ सेफिल्ड युनाइटेडलाई ५१ अंकका साथ गोल अन्तरको आधारमा पछि पार्ने थियो । ३४ औं चरणका खेलहरु समाप्त हुँदा एभर्टन ११ औं र साउथ्याम्प्टन १२ औं स्थानमा रहेका छन् ।

Click to comment

Trending