Headline

बार्साको जितले इस्पान्योल रेलिगेसनमा

Published

on

लुइस सुवारेजको एक मात्र गोलको मद्दतमा बार्सिलोना १–० को जित हात पार्दै स्पेनिस ला लिगाको उपाधि दौडमा कायमै रहेको छ । बार्साको जितले भने इस्पान्योल रेलिगेसनमा परेको छ ।

बुधबार भएको खेलमा दुवै टोली दोश्रो हाफमा १० खेलाडीमा सिमित भएका थिए । ५० औं मिनेटमा अन्सु फाती फर्नान्डो कलेरोलाई फउल गरेपछि रेड कार्ड खादै मैदान बाहिरिएका थिए भने तीन मिनेटपछि नै पोल लोजानो खतरनाक ट्याकलका कारण मैदानबाट बाहिरिन पुगेका थिए ।

अर्को तीन मिनेटपछि सुवारेजले गोल गर्दै बार्सालाई महत्वपूर्ण तीन अंक दिलाएका थिए । दोश्रो स्थानमा रहेको बार्साको ३५ खेलबाट ७६ अंक भएको छ भने एक खेल कम खेलेको रियल म्याड्रिडको ७७ अंक रहेको छ । शुक्रबारको खेलमा आल्भेसलाई पराजित गरे रियलले पुनः चार अंकको अग्रता कायम राख्नेछ ।

तीन खेल बाकी रहदा इस्पान्योलको रेलिगेसन भने पक्का भएको छ । इस्पान्योलको २४ अंक रहेको छ भने रेलिगेसन जोनबाट एक स्थान माथि रहेको आइबारको ३५ अंक रहेको छ । मायोर्का (२९) र लेगानेस (२८) पनि रेलिगेसन जोनमा रहेका छन् । दुवैले चार खेल खेल्न बाकी रहेको छ ।

बुधबार नै भिलारियाल गेटाफेलाई ३–१ ले हराउदै पाचौं स्थानका लागि चार अंकको अग्रता बनाउन सफल भएको छ । छैटौंमा रहेको गेटाफेको ५३ अंक रहेको छ । यस्तै रियल बेटिसले ओसासुनालाई ३–० ले हरायो ।

रोमा, नापोलीको जित

इटालियन सिरी आ मा युरोपा लिगका लागि स्थानका लागि कायम रहेको प्रतिस्पर्धामा रोमा र नापोली दुवैले जित हात पारेका छन् । रोमाले पार्मालाई २–१ ले हरायो भने नापोलीले जेनोआलाई उत्तिकै गोल अन्तरले हरायो । दुवै टोलीको समान ५१ अंक रहेको छ भने रोमा गोल अन्तरले पाचौं स्थानमा रहेको छ ।

Click to comment

Trending