Headline

प्रिमियर लिगमा किर्तीमानी अंक बटुल्ने लक्ष्यमा लिभरपुल

Published

on

इङ्गलिस प्रिमियर लिगमा सर्वाधिक एकै सिजन सर्वाधिक अंक बटुल्ने दाउमा रहेको च्याम्पियन लिभरपुलले ब्राइटनलाई ३–१ ले पराजित गरेको छ ।

म्यानचेष्टर सिटीले २०१७–१८ को सिजनमा उपाधि जित्दा बटुलेको १ सय अंक प्रिमियर लिगको अहिलेसम्मको किर्तिमान हो । पेप ग्वार्डियोलाको टोलीले त्यस क्रममा चार खेलमा बराबरी गरेको थियो भने दुईमा पराजय बेहोरेको थियो । सिटी २०१८–१९ को सिजनमा पनि ९८ अंक बटुल्दै दोश्रो किर्तिमान कायम गर्न सफल भएको थियो । यस क्रममा उसले होजे माउरिन्होको चेल्सीले २००५ मा बनाएको ९५ अंकको किर्तिमानलाई तेश्रोमा धकेलेको थियो ।

चार खेल बाकी रहेको स्थितिमा लिभरपुल ९२ अंक सहित अहिले त्यो किर्तिमान पनि आरामले भँग गर्ने लक्ष्यमा रहेको छ । बाकी सबै खेलमा जित हात पारेको खण्डमा लिभरपुलको १ सय ४ अंक हुनेछ ।

रेलिगेसनबाट बच्न संघर्ष गरिरहेको ब्राइटनलाई पराजित गर्ने क्रममा बुधबार लिभरपुलले मोहम्मद सलाह र जोर्डन हेन्डरसनको गोलमा पहिलो ८ मिनेटमै २–० को अग्रता लिएको थियो । पहिलो हाफ सकिनुअघि लियोन्ड्रो ट्रोसार्डले ब्राइटनका लागि गोल गरेका थिए ।

तर सलाहले ७६ औं मिनेटमा अर्को गोल गर्दै लिभरपुलको जित सुनिश्चित गरेका थिए । जुनमा प्रिमियर लिग सुचारु भएयता सलाहले लिभरपुलका लागि चार खेलमा तीन गोल गरेका छन् ।

बुधबार नै भएको खेलमा सिटीले न्युकासल युनाइटेडलाई ५–० को फराकिलो अन्तरले पराजित गर्यो । सिटीको जितमा ग्याब्रियल जिजस, रियाद माह्रेज, डेभिड सिल्भा र रहिम स्टर्लिङले १–१ गोल गरेका थिए भने फेडेरिको फर्नान्डेजले आत्मघाती गोल गरेका थिए ।

अर्को खेलमा सेफिल्ड युनाइटेडले उल्भ्सलाई १–० ले पराजित गर्यो । लिग सुचारु भएपछि लगातार तीन खेल जितेको उल्भ्स लगातार दुई खेल हार्दा तेश्रो स्थानको दाबेदारीबाट बिस्तारै बाहिरिएको छ । छैटों स्थानमा रहेको उल्भ्सको ५२ अंक रहेको छ भने तेश्रोमा रहेको चेल्सीको ६० अंक छ ।

बर्नलीसँग १–० ले पराजित भएपछि वेष्ट ह्याममाथि रेलिगेसनको संकट कायमै रहेको छ । वेष्टह्याम र वाटफोर्डको समान ३१ अंक रहेको छ भने एस्टन भिल्ला (२७), बर्नमाउथ (२७) र नर्विच सिटी (२१) रेलिगेसन जोनमै रहेका छन् । १५ औं स्थानमा रहेको ब्राइटनको ३६ अंक छ ।

Click to comment

Trending