Headline

इब्राको गोलसँगै मिलानको युभेन्टसबिरुद्ध अद्वितीय पुनरागमन

Published

on

ज्लाटन इब्राहिमोभिचले पेनाल्टीबाट शुरुवात दिलाएपछि एसि मिलानले उत्कृष्ट पुनरागमन गर्दै इटालियन सिरी आ मा शिर्ष स्थानको युभेन्टसलाई ४–२ ले स्तब्ध पारेको छ ।

पहिलो हाफ गोलसहित बराबरी खेलेपछि एड्रिएन रेबियोट र क्रिष्चियानो रोनाल्डोले गोल गरेपछि युभेन्टसले २–० को अग्रता लिदै अंक तालिकामा १० अंकको स्पष्ट अग्रता लिन अग्रसर देखिएको थियो । तर ज्लाटनले पेनाल्टीमा गोल गरेसँगै मिलानले पाँच मिनेटमा तीन गोल गर्दै अग्रतालाई उल्टाएको थियो ।

एन्ट रेबिचले ८० औं मिनेटमा गोल गर्दै मिलानलाई ४–२ को रोमाञ्चक जित दिलाए । दोश्रो स्थानको लाजियो अर्को खेलमा रेलिगेसनका लागि संघर्षरत लेचेसँग २–१ ले पराजित भएपछि युभेन्टसलाई पराजयले खासै फरक भने परेन ।

युभेन्टसको ३१ खेलबाट ७५ अंक भएको छ भने लाजियोको ६८ अंक रहेको छ । लाजियोको पराजयले तेश्रो स्थानमा रहेको इन्टर मिलानलाई दुरी १ अंकमा छोट्याउने अवसर खुलेको छ । इन्टर र एट्लान्टाको ३० खेलबाट क्रमश ६४ र ६२ अंक रहेको छ ।

मिलान भने ४९ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । लेचे रेलिगेसन जोनबाट एक स्थानमा माथि उक्लिन पुग्यो । मिलानका लागि युभेन्टसबिरुद्ध ६६ औं मिनेटमा फ्रांक केस्सी र त्यसको एक मिनेटपछि नै रफाएल लाओले गोल गरेका थिए ।

रोनाल्डोले भने युभेन्टसका लागि एकै सिजन किर्तिमानी २६ गोल गर्ने क्रममा यो सिजन राष्ट्रिय टोलीका लागि समेत गरेर आफ्नो ४१ गोल गरेका थिए । उनले १९६०–६१ को सिजनमा बनेको किर्तिमान तोड्ने क्रममा हुवा क्वाड्राडोको पासमा गोल गरेका थिए ।

इब्राहिमोभिचले जनवरीमा मिलान आएयता १३ खेलमा ६ गोल गरिसकेका छन् ।

ला लिगामा एट्लेटिको रोकियो

स्पेनिस ला लिगामा तेश्रो स्थानको एट्लेटिको म्याड्रिड सेल्टा भिगोसँग १–१ गोलको बराबरीमा रोकियो । बराबरीपछि एट्लेटिकोले ७३ अंक रहेको दोश्रो स्थानको बार्सिलोनासँगको दुरी ८ अंकमा छोट्याउने मौका गुमाएको छ ।

भिगोमा भएको खेलमा अल्भारो मोराटाले पहिलो मिनेटमै गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । तर ४९ औं मिनेटमा फ्रान बेल्ट्रानले बराबरी गोल गरेपछि सेल्टा हारबाट जोगिएको थियो । रेलिगेसनको जोखिममै रहेको सेल्टा ३६ अंक सहित १५ औं स्थानमा रहेको छ ।

अर्को खेलमा भ्यालेन्सियाले रियल भालाडोलिडलाई २–१ ले हरायो । भ्यालेन्सिया ५० अंकका साथ आठौं स्थानमा रहेको छ भने भालाडोलिड १३ औं स्थानमा रहेको छ ।

Click to comment

Trending