Headline

मेस्सी, सुवारेज र ग्रिजमन एकै साथ चम्किएको दिन

Published

on

पाचौं स्थानको भिलारियालमाथि ४–१ को फराकिलो जित हात पार्दै बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधि जित्ने झिनो आशालाई कायमै राखेको छ ।

मैदान बाहिर तनावको स्थिति भएपनि लियोनल मेस्सीले दुई असिस्ट गर्दा बार्साले रियल म्याड्रिडसँगको दुरी पुनः चार अंकमा झारेको छ । तर बार्साले आफ्नो खेल जितेर मात्र भने ला लिगाको उपाधि रक्ष गर्न सक्दैन । उसको लागि रियलले खेल्ने खेलहरुको परिणामले पनि उत्तिकै महत्व राख्छ ।

रियलले आइतबार नै भएको प्रतिस्पर्धात्मक खेलमा एथ्लेटिक बिल्बाओलाई पराजित गर्दा ७ अंकको अग्रता बनाएको थियो । ला लिगामा अब उपाधि दौडमा रहेका रियल र बार्साले चार खेल खेल्न मात्र बाकी छ । रियललाई तीन जितले उपाधि कब्जा गर्न पर्याप्त हुनेछ ।

अग्रपंक्तिका मेस्सी, लुइस सुवारेज र एन्टोइन ग्रिजमनले पछिल्लो केही महिनामै एकैसाथ उत्कृष्ट प्रदर्शन दिएको खेलमा भने बार्साले भिलारियालकै मद्दतमा अग्रता लिएको थियो । तेश्रो मिनेटमै जोर्डी आल्बाको क्रसमा पउ टोरेसले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । तर ११ मिनेटपछि नै जेरार्ड मोरेनोले बराबरी गोल गरे ।

लगत्तै मेस्सीले दिएको पासमा लुईस सुवारेजले २० यार्ड टाढाबाट गोल गर्दै बार्सालाई अग्रता दिलाएका थिए । हाफ टाइम अघि मेस्सीकै ब्याक हिल पासमा ग्रिजमनले गोल गर्न पुगे । अघिल्लो खेलमा ७ सय गोलको कोशेढुँगा पुरा गरेका मेस्सीले यो सिजन ला लिगामा १९ असिस्ट दिइसकेका छन् ।

मेस्सी आफै गोल गर्न दुई पटक चुकेका थिए । उनको एक गोल भिडियो असिस्टेन्ट रेफ्रि मार्फत अफसाइड दिइएको थियो भने एउटा प्रहार पोस्टमा लागेर फर्किएको थियो । अन्सु फातीले बार्साका लागि ८६ औं मिनेटमा चौथो गोल गरेका थिए ।

आइतबार नै भएका अन्य खेलमा लेगानेसले इस्पान्योललाई १–० ले हरायो भने ओसासुना र गेटाफेले गोलरहित बराबरी खेलेका थिए ।

Click to comment

Trending