Headline

लेस्टर र युनाइटेडको जितपछि प्रिमियर लिगमा तेश्रो स्थानका लागि कडा प्रतिस्पर्धा

Published

on

इङ्गलिस प्रिमियर लिगमा तेश्रो स्थानको लागि प्रतिस्पर्धा तिब्र बन्दै गर्दा लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले शनिबार महत्वपूर्ण जित हात पारेका छन् ।

जेमी भार्डीले लामो समयदेखिको गोल खडेरी तोड्दै दुई गोल गरेपछि लेस्टरले क्रिष्टल प्यालेसमाथि ३–० को सहज जित हात पार्यो भने म्यानचेस्टर युनाइटेड बर्नमाउथलाई ५–२ ले हराउदै अंक तालिकाको पाचौं स्थानमा उक्लन सफल भयो ।

रोमाञ्चक जितपछि चौथो स्थानमा उक्लिएको युनाइटेडको ५५ अंक भएको छ भने तेश्रो स्थानको लेस्टरको ५८ अंक रहेको छ । एक खेल कम खेलेको चेल्सीको ५४ अंक रहेको छ । पाचौंमा धकेलिएको चेल्सी शनिबारकै अन्तिम खेलमा वाट्फोर्डलाई हराउन सके पुन चौथो स्थानमा उक्लनेछ ।

ओल्ड ट्राफोर्डमा भएको रोमाञ्चक खेलमा युनाइटेड आएदेखि उत्कृष्ट प्रदर्शन गर्दै आएका ब्रुनो फर्नान्डेसले एक पटक फेरि आफ्नो उच्च फर्म कायम राख्दै एक गोल गर्नुका साथै दुई असिस्ट गरेका थिए ।

बर्नमाउथले १६ औ मिनेटमा जुनियर स्टानिस्लासको गोलको मद्दतमा अग्रता लिदै घरेलु टोलीलाई झड्का दिएको थियो । मेसन ग्रिनउडले २९ औं मिनेटमा फर्नान्डेसको पासमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ६ मिनेटपछि नै मार्कस रासफोर्डले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए फर्नान्डेसकै पासमा एन्थोनी मार्सियलले गोल गरेपछि घरेलु टोलीले पहिलो हाफमा ३–१ को अग्रता बनाए ।

४९ औं मिनेटमा जोसुवा किँगले पेनाल्टीमा गोल गरेपछि खेल फेरि जीवन पाएको थियो । तर ग्रिनउड र फर्नान्डेसले पाँच मिनेटको अन्तरमा दुई गोल गरेपछि खेल युनाइटेडको पक्षमा गएको थियो । खेलको अन्तिम ३४ मिनेट युनाइटेडले नै आफ्नै पकडमा राखेपनि बर्नमाउथ गोल खानबाट भने बचेको थियो ।

किँग पावर स्टेडियममा लेस्टर पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएपनि दोश्रो हाफको चार मिनेटपछि केलेची इनियाचोको गोलबाट अग्रता लिन सफल भएको थियो । भार्डीले त्यसपछि ७७ औं मिनेटमा प्रिमियर लिग इतिहासमा आफ्नो एक सयौं गोल पुरा गरेका थिए ।

खेल सकिनुअघि अर्को एक गोल थप्दै व्यवस्थापक ब्रेण्डान रोजर्सले राखेको बिश्वासमा खरो उत्रिएका थिए । क्रिष्टल प्यालेस १३ औं स्थानमा रहेको छ भने बर्नमाउथमाथि रेलिगेसनको खतरा अझै कायमै रहेको छ । १९ औं स्थानमा रहेको बर्नमाउथको एस्टन भिल्लासँगै २७ अंक रहेको छ । नर्विच सिटी २१ अंकका साथ पुछारमा रहेको छ ।

नर्विच अर्को खेलमा ब्राइटनसँग १–० ले पराजित भएको थियो । ब्राइटन ३६ अंकका साथ १५ औं स्थानमा रहेको छ ।

Click to comment

Trending