Headline

बिश्वकपमा सेमिफाइनलमा पराजित भएपछि अप्रत्याशित सन्यासः डि भिलियर्सको खुलासा

Published

on

दक्षिण अफ्रिकाका पुर्व कप्तान एबि डिभिलियर्सले २०१५ को बिश्वकप सेमिफाइनलमा न्युजिल्याण्डसँग बेहोरेको हारले आफूले लिएको सन्यासको निर्णयमा मुख्य भुमिका खेलेको खुलासा गरेका छन् ।

अष्ट्रेलिया र न्युजिल्याण्डमा भएको बिश्वकपको बर्षाले प्रभावित सेमिफाइलमा दक्षिण अफ्रिका डकवर्थ लेविस नियमका आधारमा पराजित भएपछि पुरै दक्षिण अफ्रिकी टिम नै स्तब्ध बनेको थियो । ग्राण्ट इलियटले आफ्नो क्रिकेटिङ्ग करिअरकै उत्कृष्ट इनिङ्गस खेल्दै नटआउट ८८ रन बनाएपछि दक्षिण अफ्रिका चार विकेटले पराजित हुँदा डि भिलियर्स र तिब्र गतिका बलर मोर्नि मोर्केल रोएका थिए ।

उक्त सनसनीपूर्ण पराजयबाट फर्किन डि भिलियर्सले एक बर्षसम्म संघर्ष गरेको पनि बताएका छन् । “मलाई त्यसले (न्युजिल्याण्डसँगको हार) लामो समय पोलि रह्यो । तर म खेलिरहे, हार पचाउन कोशिष गरिरहे । म निकै राम्रो ब्याटिङ्ग गरिरहेको थिए,” प्रख्यात कमेन्टेटर हर्षा भोग्लेसँगको एक अन्तर्वार्ताका क्रममा डि भिलियर्सले भने ।

सदबहार उत्कृष्ट ब्याट्स्म्यानको रुपमा कहलिएका डि भिलियर्सले उत्कृष्ट फर्ममा रहदै २०१९ को बिश्वकपको एक बर्ष अघि सन्यास घोषणा गरेपछि बिश्व क्रिकेट नै चकित भएको थियो । उनको अनुपस्थितिमा दक्षिण अफ्रिका इङ्गल्याण्डमा भएको बिश्वकपमा निकै खराब प्रदर्शन गर्दै सेमिफाइनल समेत प्रवेश गर्न असफल रहेको थियो ।

अप्रत्याशित सन्यास घोषणा गर्ने क्रममा डि भिलियर्सले आफू थकित भएको र प्रतिस्पर्धा गर्न असक्षम रहेको बताएका थिए । तर अहिले आएर डि भिलियर्सले २०१५ को पराजयले त्यो निर्णयमा मुख्य भुमिका खेलेको बताएका हुन् ।

“व्यक्तिगत रुपमा हेर्ने हो भने सेमिफाइनलको पराजयले ठूलो भुमिका खेलेको थियो,” ११४ टेस्टमा ८ हजार ७ सय ६४ र २२८ एकदिवसीय अन्तर्राष्ट्रियमा ९ हजार ५ सय ७७ रन बनाएका डि भिलियर्सले भने । “त्यो रात हामी खेलसँगै हार्न पुगेका थियौं । शायद यो खेलको सुन्दर पक्ष थियो तर त्यो पुरै बर्ष मलाई त्यो हार पचाउन निकै कठिन भएको थियो । मलाई केही महिनापछि फेरि टिममा घुलमिल भएर खेलमा फर्किन पनि एकदम गाह्रो लागिरहेको थियो ।”

“जब क्रिकेट सुचारु गर्नु पर्ने भयो मैले आफैलाई भने एकछिन म त बिश्वकपको हारबाटै बाहिर आउन सकिरहेको छैन । म निकै बिक्षिप्त थिए । हो म संवेदनशील छु र यस्ता कुराहरुले म कस्तो महसुस गर्छु र लक्ष्य के लिन्छु भन्नेमा ठूलो भुमिका खेल्ने गर्छ, डि भिलियर्सले सम्झिए ।

“आफ्नो मनोभावन अरुलाई बाड्न नसक्दा डि भिलियर्सलाई पछुतो पनि छ । मेरो लागि अर्को १२ महिना कठिन थियो । म इमान्दार हुदै मैले यस बिषयमा अरुसँग कुरा गर्नुपर्ने थियो । मलाई त्यो समय म एक्लै छु भन्ने भयो तर यो नचाहिने कुरा थियो । मद्दत नै नमागी, कुरा नै नगरि म एक्लो थिए भन्नु तर्कसम्मत छैन।”

Click to comment

Trending