Headline

इन्टरको बिशाल जितमा सान्चेज नायक

Published

on

एलेक्सिस सान्चेजले एक गोल गर्नुका साथै दुई असिस्ट दिएपछि इन्टर मिलानले इटालियन सिरी आ मा रेलिगेसन जोनमा रहेको ब्रेसियालाई ६–० को फराकिलो अन्तरले पराजित गरेको छ ।

जितपछि इन्टर ६४ अंकका साथ तेश्रो स्थानमा कायमै रहेको छ भने दोश्रो स्थानको लाजियो भन्दा चार र युभेन्टसभन्दा ८ अंकले पछाडी रहेको छ । सिरी आ अन्तर्गतकै अर्को खेलमा एसि मिलानले आत्मघाती गोल मार्फत स्पालसँग २–२ को बराबरी गर्यो । सातौं स्थानमा रहेको मिलानको ४३ अंक रहेको छ ।

घरेलु मैदानमा भएको खेलमा इन्टरले एस्ली योँगको पाचौं मिनेटको गोल मार्फत अग्रता लिएको थियो । पहिलो गोलका लागि सान्चेजले नै पास मिलाइदिएका थिए । २० औं मिनेटमा इन्टरले पेनाल्टी पाएपछि त्यसलाई साञ्चेजले पेनाल्टीमा परिणत गरे ।

४५ औं मिनेटमा योँगको पासमा ड्यानिलो डिएम्ब्रोसियोले गोल गर्दै इन्टरलाई ३–० को फराकिलो अग्रता दिलाए । दोश्रो हाफ शुरु भएको ७ मिनेटमै सान्चेजले अर्को पास मिलाए र त्यसलाई रोबर्टो गागिलार्डीनीले गोल गरेका थिए । क्रिष्चियन एरिक्सनले ८३ र एन्टोनियो क्यान्ड्रेभाले ८८ औं मिनेटमा गोल गर्दै मिलानलाई बिशाल जित दिलाएका थिए ।

बुधबार नै भएका अन्य खेलमा सासुलोले फियोरेन्टिनालाई ३–१ हरायो भने भेरोनाले पार्मालाई ३–२ ले स्तब्ध पार्यो । यस्तै साम्पडोरियले लेचेलाई २–१ पराजित गर्यो भने काग्लियारी र बोलोग्नाबीचको खेल १–१ को बराबरीमा टुँगिएको थियो ।

Click to comment

Trending