Headline

एक सम्झौता जसले निराश म्यानचेस्टर युनाइटेडलाई नै बदलिदियो

Published

on

ब्रुनो फर्नान्डेस म्यानचेस्टर युनाइटेड आउदा उनी यस्तो टिममा जोडिन पुगेका थिए जसको फ्यानले घरेलु मैदानमै बर्नलीसँग पराजित भएपछि आफ्ने खेलाडीहरुलाई धिक्कारेका थिए । सात इङ्गलिस प्रिमियर लिग म्याचमा चौथो हार बेहोर्दा युनाइटेड सिजनकै सबैभन्दा तल्लो स्तरमा खस्किन पुगेको थियो ।

ओल्ड ट्राफोर्डको वातावरणलाई बिषाक्त भनिएको थियो भने टिमको प्रदर्शन लाजमर्दो । जनवरी २२ को त्यो परिणामपछि युनाइटेडको टोली ३० बर्षकै सबैभन्दा खत्तम भएको समेत बताउन थालिएको थियो ।

एक सम्झौतापछि युनाइटेड भने परिवर्तित क्लब भएको छ । फर्नान्डेसको आगमनपछि भएका ८ इङ्गलिस प्रिमियर लिग खेलमा युनाइटेड फर्ममा रहेको टिम हुन पुगेको छ भने क्लबमा रहेको कालो बादल पनि बिस्तारै हट्दै जान थालेको छ ।

ओले गुनर सोल्सायरको नेतृत्वमा युनाइटेडले जीवंत र रेशमी फुटबल खेल्दा फर्नान्डेस त्यसको मुटुमा रहने गरेका छन् । ब्राइटनलाई मङ्गलबार ३–० ले हराउदा पोर्चुगलका २५ बर्षिय फर्नान्डेसले तीन गोल गर्दै युनाइटेडलाई अर्को सिजनको च्याम्पियन्स लिगको छनोटमा कायमै राखेका थिए ।

पुर्व स्पोर्टिङ्ग लिस्बन एट्याकिङ्ग मिडफिल्डरले मैदानमा ६४ मिनेट बिताउदा उत्कृष्ट लयमा देखिन्थे । उनले पउल पोग्बासँग उत्कृष्ट तालमेल गरिरहेका थिए भने तीन पटक ट्याकल गर्दै दुई पटक पोजेसन खोस्दा रक्षात्मक खेलाडीको रुपमा पनि आफू उत्कृष्ट रहेको साबित गरेका थिए ।

“फर्नान्डेसले अर्को १० मिनेट खेलेको भए मैले उनलाई म्यान अफ द म्याचको पुरस्कार दिन्थे,” पुर्व इङ्गल्याण्ड खेलाडी करेन कार्निले बिबिसी रेडियो फाइभलाई भने । “अत्यन्तै सुन्दर खेलेका फर्नान्डेजलाई खेलेको हेर्न पाउनु पनि अहोभाग्य हो । उनले युनाइटेडमा ल्याएको फरक निकै अतुलनीय छ । म्यानचेस्टर युनाइटेडलाई अर्को सेन्टर फर्वार्ड चाहिएको होला तर अहिलेको मिडफिल्ड उत्कृष्ट देखिन्छ । उनले मैदान छोड्दा मलाई निकै नराम्रो लागेको थियो ।”

फर्नान्डेजले सबै प्रतियोगिता गरेर खेलेका १२ खेलहरुमा युनाइटेडले ८ मा जित हात पार्दै चारमा बराबरी गरेको छ । यस क्रममा रेड डेभिल्सले २८ गोल गरेको छ भने चार गोल मात्र खाएको छ ।

फेब्रवरीमा युनाइटेडका लागि डेब्यु गरेयता फर्नान्डेस अन्य कुनै पनि प्रिमियर लिग खेलाडी भन्दा बढी गोलमा संलग्न छन् । उनले ६ गोल गर्दै चार असिस्ट गरिसकेका छन् । युनाइटेड चौथो स्थानमा रहेको चेल्सीभन्दा दुई र तेश्रोमा रहेको लेस्टरभन्दा मात्र तीन अंकले पछाडी रहेको छ । लेस्टरसँग लिगको अन्तिम दिन खेल्ने भएकाले त्यो खेल च्याम्पियन्स लिगको टिकट काट्नका लागि गर या मर स्थितिको खेल पनि बन्न सक्छ ।

युएफाले म्यानचेस्टर युनाइटेडमाथि युरोपियन प्रतियोगिताहरुमा लगाएको प्रतिबन्धलाई जुलाई १४ को दिन कायमै राखेको स्थितिमा पाचौं स्थान पनि च्याम्पियन्स लिग पुग्नका लागि पर्याप्त हुनेछ । हामी च्याम्पियन्स लिगमा छानिनको लागि लडिरहेका छौं र मलाई लाग्छ हामी यसमा सफल पनि हुनेछौं, फर्नान्डेसले भने ।

बर्नलीसँग जनवरीमा हारेपछि निकै दवाबमा रहेका सोल्सायरले आफ्नो टोली राम्रो नभएको र आइडिया बिहिन भएको बताएका थिए । तर ब्राइटनबिरुद्धको शान्दार जितपछि भने उनको बोली फेरिएको छ ।

“उत्कृष्ट खेलिरहेकाले उनीहरु (आफ्ना खेलाडीहरु) आत्मबिश्वासी हुनु यथार्थपरक नै छ । अहिले टोलीमा राम्रो क्वालिटी देखिएको छ, खेलाडीहरु फिट छन् र प्रतिस्पर्धा गर्नका लागि राम्रा स्थानहरु पनि छन् । अहिले एक भन्दा बढी खेलमा प्रभाव पार्ने खेलाडी छन्, केही उत्कृष्ट खेलाडीहरु छन्, ब्रुनो आएका छन् र उत्कृष्ट खेल देखाएका छन् । उनले टिममा जितको मानसिकता पैदा गरेका छन् । उनीहरुले यसरी खेलेको हेर्न पनि साह्रै आनन्द आइरहेको छ,” सोल्सायरले भने ।

Click to comment

Trending