Headline

मेस्सीको ७ सयौं करिअर गोल

Published

on

लियोनल मेस्सीले करिअरको ७ सयौं गोल पुरा गरेका छन् । मेस्सीको व्यक्तिगत कोशेढुँगाका बावजुद बार्सा भने मङ्गलबार रातिको खेलमा एट्लेटिको म्याड्रिडबिरुद्ध २–२ गोलको बराबरीमा रोकिएको छ ।

तेश्रो स्थानको टोलीसँग बराबरीमा रोकिएपछि बार्साको उपाधि जित्ने आशामा एक पटक फेरि नराम्ररी धक्क लागेको छ । बार्साले ला लिगामा लगातार दुई बराबरी खेलिसकेको छ । यसअघि उ सेल्टाबिरुद्धको खेलमा पनि बराबरीमै रोकिएको थियो ।

बार्साको बराबरीले रियल म्याड्रिडलाई भने फाइदा भएको छ । हाल अंक तालिकामा बार्सासँग एक अंकको दुरीमा रहेको रियलले बुधबारको खेलमा गेटाफेलाई पराजित गरेको खण्डमा चार अंकको स्पष्ट अग्रता बनाउनेछ भने पाँच खेलमात्र बाँकी रहेको स्थितिमा उपाधितर्फ अर्को कदम चाल्ने छ । एक खेल कम खेलेको रियलको ७१ र बार्साको ७० अंक रहेको छ ।

एट्लेटिकोको ५९ अंक भएको छ । ला लिगामा रियल र बार्सामात्र उपाधिको दाबेदारीतामा कायम रहेका छन् भने एट्लेटिको र चौथो स्थानको सेभिया भने च्याम्पियन्स लिगको दौडमा कायम रहेका छन् । सेभियाको ५७ अंक रहेको छ । गेटाफे ५२ र भिलारियाल ५१ अंकका साथ पाचौं र छैटौं स्थानमा रहेका छन् ।

मङ्गलबारको खेलमा डिएगो कोस्टाले आत्मघाती गोल गरेपछि ११ औं मिनेटमै बार्साले अग्रता लिएको थियो । मेस्सीकै कर्नर बल कोस्टाको खुट्टामा डिफ्लेक्ट हुदै पोस्ट भित्र छिरेको थियो । लगत्तै यानिक कारास्कोमाथि डि एरियामा फाउल भएपछि एट्लेटिकोले पेनाल्टी पाउदा कोस्टालाई गल्तिको क्षतिपुर्ति गर्ने मौका मिलेको थियो ।

कोस्टाको प्रहार बार्सा गोलकिपर मार्क–आन्द्रे टेर स्टेगेनले बचाएपनि उनी अलि अगाडी नै लाइनभन्दा अगाडी आएपछि एट्लेटिकोले फेरि पेनाल्टी प्रहार गर्नु पाएको थियो । दोश्रो पटक भने सउल निगेज भने सफल भएका थिए ।

मेस्सीले दोश्रो हाफ शुरु भएको पाँच मिनेटपछि नै बार्साको अग्रता फर्काउने क्रममा ७ सयौं गोल पुरा गरे । उनले पनेंका पेनाल्टीमार्फत दुर्लभ उपलब्धि हात पारेका थिए । तर निगेजले ६२ औं मिनेटमा अर्को पेनाल्टीमा गोल गर्दै बराबरी गरेका थिए ।

मेस्सीले ६ सयौं गोल पुरा गरेको १४ महिनापछि ७ सयौं गोल पुरा गरेका हुन् भने बार्साका लागि उनले ७ सय २४ औं खेलमा ६ सय ३० औ गोल गरेका हुन् । यो सिजन उनले बार्सा र अर्जेन्टिनका लागि २७ गोल गरिसकेका छन् । आफ्नो करिअरमा ७ सयौं गोल पुरा गर्ने मेस्सी बिश्वका सातौं खेलाडी हुन् ।

मङ्गलबार नै भएको अन्य खेलमा सेभियाले लेगानेसलाई ३–० ले हरायो भने रेलिगेसनबाट बच्न संघर्ष गरिरहेको मायोर्का सेल्टालाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दै केही राहतको सास फेरेको छ । सेल्टा ३४ अंक साथ १७ औं स्थानमा रहेको छ भने १८ औं मा रहेको मायोर्काको २९ अंक भएको छ ।

Click to comment

Trending