Headline

खेलमा लागेपछि तीन बर्ष देखिको छटपटी

Published

on

ग्वार्कोस्थित अर्थोप्लास्ट रिह्याबिलिटेसन सेन्टरको केही घण्टा सबिता खड्काको अहिलेको दैनिकी बनिसकेको छ । तीन बर्ष अगाडी बोकेको घुँडाको चोटबाट बाहिर निक्लन उनले अनेक प्रयास गरिरहेकी छिन् । नेपाली राष्ट्रिय टिमबाट खेल्ने सपना बाकेकी सबिता बास्केटबल खेलाडी हुन् भनेर शायद धेरै कमलाई थाहा होला ।

सानो बास्केटबल वृत्तमा क्लब प्रतियोगिताहरुबाट शुरुवात गरेकी उनि अगाडी कडा मिहिनेत गर्नुपर्ने चुनौतिको पहाड नै थियो । तर आफूलाई साबित गरेर देखाउने इख भएकै कारण सबिता केही प्रतियोगिताहरुमा राम्रो खेल्न थालिसकेकी थिइन् ।

१७ बर्षको उमेरमा सबिता महिला राष्ट्रिय बास्केटबल टोलीको ढोका ढक्ढक्याइरहेकी थिइन् । प्राइमबाट राष्ट्रिय बास्केटबल प्रतियोगिताहरुमा सहभागिता जनाउदा उनले बिभिन्न पोजिसनमा खेलिन् । कहिले स्मल फर्वार्ड, कहिले पोइन्ट गार्ड र कहिले सुटिङ्ग गार्ड । सबै पोजिसनमा उनको भुमिका सन्तोषजनक थियो ।

मध्यमाञ्चलले चार बर्ष अघि सातौं राष्ट्रिय खेलकुदको महिला बास्केटबलमा स्वर्ण जित्दा उनी टिमको सदस्य थिइन् भने प्राइमकै लागि उनले थुप्रै प्रतियोगिताहरु पनि जितिसकेकी छिन् । प्राइमको महिला टोली अहिले प्रतिस्पर्धात्मक राष्ट्रिय बास्केटबलमा अस्तित्व राख्दैन । कारण हो प्राइमको व्यवस्थापन समृद्धि एजुकेशन फाउण्डेशनमा लागेपछि त्यहाको बास्केटबल टोली पनि नयाँ शैछिक संस्थासंग आबद्ध रहेको छ ।

प्राइमसँगै आबद्ध महिला राष्ट्रिय  बास्केटबल टोलीका प्रशिक्षक बिकास शाही नै समृद्धिको बास्केटबल टोली हेर्ने गर्छन । समृद्धिले नेपालको एकमात्र नेपाल बास्केटबल लिगमा समृद्धि गोरिल्लाजको नाममा खेल्ने गर्छ र यो टोली पहिलो संस्करणको उपबिजेता पनि रहिसकेको छ ।

२०१७ अगष्टमा नेपाल बास्केटबल संघ (नेबा) ले आयोजना गरेको थ्रि बाई थ्रि प्रेसिडेन्ट कप राष्ट्रिय बास्केटबल प्रतियोगितामा सबिताले चोट बोकेको क्षणलाई उनको इतिहासको पानाबाट गायब गरिदिने हो भने शायद उनी अहिले यही टोलीबाट खेलिरहेकी हुन्थिन् । बुम महिला बास्केटबल लिगमा एमभिपी घोषित भएपछि थ्रि बाई थ्रि प्रतियोगिता खेलिरहदा बाकेको चोटले उनलाई तीन बर्ष देखि अन्धकारमा त धकेलिदिएको छ नै, उनको आत्मबिश्वासलाई पनि नराम्ररी हल्लाइदिएको छ ।

गत बर्ष नेपाल बास्केटबल लिग अन्तर्गतका लिग खेलहरु चारखालको टाइम्स इन्टरनेशनल कलेजमा हुँदा सबिता कोर्टमै हुन्थिन् । राम्रो खेलाडी बनेर देखाउने सपना बोककी सबिता पहिलो पटक भएको लिगमा नै सहभागिता जनाउन नपाउदा निकै छट्पटाइन् । “मैले जीवनमा सबैभन्दा बढी माया गरेको कुरा नै मबाट खोसिएको थियो । म लिगमा खेल्न नपाउदा धेरै नै रोएको थिए । शायद मेरो जिन्दगीको सबैभन्दा कठिन क्षण नै त्यही थियो,” उनी भन्छिन् ।

चोट, डक्टरको लापरवाही र साथ नभएको टिम 

त्रिपुरेश्वरको कभर्ड हलमा थ्रि बाई थ्रि राष्ट्रियमा साइपालबिरुद्ध खेल चलिरहदा सबितालाई घुडामा नराम्रो चोट लाग्न पुग्यो । प्राइम टोलीले एक्स रे गरिदिएपछि डक्टरले उनलाई दुई–तीन दिनको आरामपछि ठिक हुन्छ भनेर घर पठाइदिए । तर एक महिना बितिसक्दा पनि दुखाई कम नभएपछि उनले प्राइमका व्यवस्थापक सन्तोष ताम्राकारको माध्यमबाट ब्लु क्रस हस्पिटलका अर्थोपेडिक सर्जन निरज श्रेष्ठलाई एमआरआई गरेर देखाइन् ।

एमआरआई गर्दा उनको एसिएल (एन्टेरियर क्रुसिएट लिगामेन्ट) च्यात्तिएको देखिएको थियो । डक्टर श्रेष्ठले उनको सर्जरी नगरेर फिजियोथेरपीले नै ठिक हुन्छ भनेपछि उनी त्यही अनुसार काम गर्दै गइन् । घुँडाको मुख्य लिगामेन्ट, एन्टेरियर क्रुसिएट, च्यात्तिने समस्या खेलाडीहरुमा सबैभन्दा बढी हुने गर्छ । यो ‘स्पोर्टस इन्जुरी’ नै हो । यसको चोटबाट फर्किन निकै लामो समय लाग्छ भने कतिपय खेलाडीहरुको करिअर पनि सक्किने गरेको छ ।

“म त्यो समय जम्मा १७ बर्षको थिए र मलाई यो चोटको बारेमा केही जानकारी नै थिएन । मैले डक्टरले जस्तो भने त्यही गर्दै गए,” सबिता सम्झन्छिन् । “एक बर्ष फिजियोथेरपीका लागि घर–डक्टर गर्दै बित्यो । ठीक नभएपछि डक्टर निरजले ओम हस्पिटलमा सर्जरी गर्नुभयो तर उहाले एसिएलको नभएर मेनिस्कस (घुडा र तिघ्राको हड्डीलाई सन्तुलन गर्ने भाग) सर्जरी गरिदिनु भएछ जुन मैले धेरै पछि मात्र थाहा पाए । डक्टरले एसिएल पूर्ण रुपमा च्यात्तिएको छैन, अहिले मेनिस्कस गरेर ६ महिनापछि एसिएलको सर्जरी गर्ने भन्नुभएको थियो।”

झड्का त तब लाग्यो जब उनले आफ्नो घुँडाको साचो स्थितिबारे थाहा पाइन् । “ग्वार्कोको अर्थोप्लास्ट रिह्याबिलिटेसनमा फिजियोथेरपी गर्दा मैले अर्का अर्थोपेडिक डक्टर राजिब राज मानन्धरलाई भेटे । डक्टर राजिवले मेरो पुरानो र अहिलेको घुँडाको एमएरआई तुलना गर्दा एसिएल नै नरहेको र घुँडापनि स्थिर नरहेको बताउनुभयो । यो सुनेर मलाई एकदम डर लागेको थियोे,” सबिताले खुलाइन् ।

यसै त डक्टरको लापरवाहीका कारण भोग्दै आएको पिडा, त्यसमाथि टिमले वास्ता नगरिदिदा सबितालाई घाउमा नुन छरे जस्तो हुन थाल्यो । “मलाई टिमले गरिदिएको भनेको घाइते भएको पहिलो दिनको एक्सरे र एमआरआइ मात्रै हो । जब म एक महिनाको रेस्टमा गए त्यसपछि मलाई टिमले मतलब गरेन । मलाई धोखा दिएको महसुस भयो । टिमको सपोर्ट नभएपछि नै मैले रिह्याबिलिटेसनलाई निरन्तरता दिन सकिन । पहिलो सर्जरीमै तीन लाख खर्च भइसकेकोले मलाई घरमा भन्न पनि निकै गाह्रो भयो । मैले स्नातक गरिरहेको कारण म त्यसमै केन्द्रित पनि हुन आवश्यक थियो ।”

“टिमको व्यवस्थापक र प्रशिक्षक मेरो सम्पर्क मै आउन चाहनु भएन । मैले दुबै जनालाई मेसेज गर्दै यो कुराहरुको अपडेट दिरहे तर केही जवाफ आएन । उल्टै तिमी अब हाम्रो टिमको हिस्सा होइनौं भन्ने प्रतिकृया पाए । त्यसपछि मलाई आफै पनि सम्पर्क गर्न मन लाग्न छोड्यो ।”

पहिले प्राइम र अहिले समृद्धिको बास्केटबल टोली सम्हालिरहेका बिकास शाही ‘कम्युनिकेसन ग्याप’ का कारण यो स्थिति सृजना भएको बताउछन् । “हामी त्यो समयमा सबितासँग सम्पर्कमै थियौं । जे गर्न आवश्यक थियो हामीले गरेको थियौं । पछि सम्पर्क आफै टुटेको हो । मैले केही समय अघि मात्र उनले अपरेशन गर्न आवश्यक रहेको थाहा पाएको हु, अहिले हामी प्राइममा छैनौं त्यसैले कसरी त्यहा भन्न जाने,” उनले भने ।

मतलब नगरिदिदा ध्वस्त करिअर  

बास्केटबलमा चोट बोकेपछि कसैले वास्ता नगरिदिदा करिअर नै छोड्नु परेको सबिता एक मात्र खेलाडी होइनन् । यसअघि महिला राष्ट्रिय टोलीबाट खेलिसकेकी समिक्षा न्यौपाने पनि २०१४ मा बोकेको एसिएल चोटकै कारण खेल छोड्न बाध्य भइन् । समिक्षालाई न उनको क्लबले हेर्यो न संघले नै । सरकारी स्तरमा पहुच पुर्याएर आफ्नो समस्या राख्नु खेलाडीको लागि धेरै टाढाको कुरा हो ।

पुरष बास्केटबल टिमकै खेलाडी सञ्जय ब्यञ्जनकार (जुनियर) ले पनि यहि चोटका कारण हतोत्साहित भएपछि क्षण भरमै आफूले सन्यास लिएको घोषणा नै गरिदिए । सञ्जय अहिले अमेरिकामा बस्ने गर्छन् । अर्का बास्केटबल खेलाडी केतन खड्काको यही चोटमा त्रिभुवन आर्मी क्लबले शल्यकृया गरिदिएको थियो।

यो स्थिति बास्केटबलमा मात्र सिमित भने छैन । नेपालमै सन् २०१७ मा भएको एएफसी अण्डर–१६ च्याम्पियनसिप खेलिसकेका ब्रिजेश चौधरी हल्चोकमा प्यालेस्टाइनबिरुद्ध खेल्दा घाइते भए । एसिएल इन्जुरी नै बोेकेका ब्रिजेशलाई एन्फाले त्यो समय २५ हजार रुपैया थमाइदियो । राष्ट्रिय खेलकुद परिषदबाट एक लाख पाएका ब्रिजेशलाई ठीक भएर खेलमा फर्किनका लागि चार लाख रुपैया भन्दा बढी खर्च गर्नुपरेको थियो ।

सप्तारीमा सामान्य गुजारा चलाइरहेको ब्रिजेशको परिवारले बाकी रकमको व्यवस्था गर्नुपर्यो । उनले एन्फालाई थप रकमका लागि आग्रह गर्दा त्यसको सुनुवाई एन्फाका उच्च पदस्थ कर्मचारीहरुबाट भएन । फुटबलमा ब्रिजेश एक उदाहरण मात्र हुन्। नेपालमा खेलकुदको अन्तराष्ट्रिय निकायबाट सबैभन्दा बढी कोष प्राप्त गर्ने एन्फा नै हो । यदि एन्फा नै घाइते खेलाडीहरुको रेखदेखमा लाग्न सक्दैन भने अन्य खेलमा लाग्ने खेलाडीहरुको लागि चोटग्रस्त हुनु कति घातकसिद्ध हुन सक्छ त्यो स्पष्ट देखिन्छ ।

यो स्थितिको सृजना हुन नदिन नेपाली खेलकुदले खेलाडीहरुको चोटको गम्भिर्यता अनुरुप नै उपयुक्त नियम बनाउन आवश्यक देखिन्छ, प्रतियोगितामा सहभागी हुनु अघि वा खेलिसके पछि। नत्र, धेरै खेलाडीहरुको करिअर शुरु हुनु अघि नै समाप्त हुने निश्चित छ ।

Click to comment

Trending