Headline

यरोपियन राउन्ड–अपः ला लिगाको नियन्त्रण रियल म्याड्रिडको हातमा

Published

on

बार्सिलोना स्पेनिस ला लिगाको महत्वपूर्ण खेलमा सेल्टा भिगोसँग २–२ गोलको बराबरीमा रोकिएपछि शिर्ष स्थानको नियन्त्रण रियल म्याड्रिडको हातमा पुगेको छ ।

लुइस सुवारेजले बार्सालाई अवे खेलमा दुई पटक अग्रता दिलाए पनि इयागो आस्पासले ८८ औं मिनेटमा फ्रि किकमार्फत उत्कृष्ट गोल गरेपछि सेल्टालाई बहादुरी बराबरी दिलाए । २० औं मिनेटमा सुवारेजले लियोनल मेस्सीले फ्रि किकमा दिएको पासमा गोल गर्दै बार्सालाई अग्रता दिलाएका थिए ।

करिअरको ७ सयौं गोलको संघारमा रहेका मेस्सीले सिधै पोस्टमा प्रहार गर्ने अपेक्षा गरिएपनि उनले सबैलाई अचम्मित गर्दै सुवारेजलाई पास दिएका थिए । सेल्टाले दोश्रो हाफ शुरु भएको पाँच मिनेटपछि नै बराबरी गोल फर्काएको थियो । सुवारेजले पुनः मेस्सीकै असिस्टमा गोल गर्दै बार्साको अग्रता फर्काए पनि आसपासले क्याटल महारथीबाट अंक खोस्न सफल भएका थिए ।

अंक तालिकामा बार्सा ६९ अंक सहति अग्रस्थानमा रहे पनि उसले रियल भन्दा एक खेल बढी खेलेको छ । आइतबारको खेलमा इस्पान्योललाई हराए रियलले स्पष्ट दुई अंकको अग्रता लिनेछ र यो ला लिगामा सबैभन्दा महत्वपूर्ण मोड पनि बन्न सक्छ । रियलले कोरोना भाइसरपछि सिजन सुचारु भए यता उत्कृष्ट फर्म कायम राख्दै चारै खेलमा जित हात पारेको छ ।

शनिबारकै अर्को खेलमा एट्लेटिको म्याड्रिड आल्भेसलाई २–१ ले हराउदै सेभियासँगको दुरी चार अंकमा बढाएको छ । एट्लेटिकाको ५८ अंक रहेको छ । अन्य खेलमा एथ्लेटिक बिल्बाओले मायोर्कालाई ३–१ र ओसासुनाले लेगानेसलाई २–१ हरायो ।

लाजियोले युभेन्टससँगको दुरी घटायो

अघिल्लो खेलमा एट्लान्टासँग पराजित भएको लाजियोले इटालियन सिरी आ मा शिर्ष स्थानको युभेन्टससँगको दुरी चार अंकमा घटाएको छ । शनिबार रातिको खेलमा लाजियोले फियोरेन्टिनालाई २–१ ले हरायो ।

युभेन्टसको ६९ अंक छ भने तेश्रो स्थानको इन्टर मिलानको ५८ र एट्लान्टाको ५४ अंक रहेको छ । युभेन्टससँग मात्र एक अंकको दुरीमा रहेको लाजियो एट्लान्टासँग हार्न पुगेपछि रोनाल्डोको टोलीलाई फाइदा पुगेको थियो । घरेलु मैदानमा लाजियो फ्रांक रिबेरीको २५ औं मिनेटको गोलमा पछि परेको थियो ।

तर सिरो इमोबिलेले ६७ औं मिनेटमा प्राप्त पेनाल्टीमा गोल गर्दै लाजियोलाई खेलमा फर्काएका थिए । ८३ औं मिनेटमा लुइस अल्बर्टोले गोल गरेपछि लाजियो तीन अंक बटुल्न सफल भएको थियो । अन्य खेलमा पुछारको ब्रेसियाले जेनोआसँग २–२ को बराबरी खेल्यो भने काग्लिआरीले टोरिनोलाई ४–२ ले हरायो ।

Click to comment

Trending