Headline

साफ च्याम्पियनसिप सर्ने निश्चित

Published

on

सेप्टेम्बर ७ देखी बङ्गलादेशमा हुने भनिएको साफ च्याम्पियनसिप सर्ने निश्चित देखिएको छ । दक्षिण एसियाली फुटबल महासंघको आयोजनामा ढाकाको बङ्गबन्धु रँगशालाका लागि तय गरिएको १३ औं साफ च्याम्पियनसिप कोरोना भाईरस र अक्टोबरमा एएफसीले विश्वकप तथा एसियन कप छनोटका लागि ल्याएको प्रस्तावित मितीका कारण सर्ने पक्का पक्की देखिन्छ ।

नेपाल सहित अन्य ६ सार्क राष्ट्र र एक आमन्त्रित राष्ट्रबीच हुने प्रतियोगिता २०१८ पछि फेरी पनि बङ्गलादेशमै हुन लागेको हो । यसअघि अप्रिल ११ २०१८ मा यो प्रतियोगिता पाकिस्तानलाई आयोजना गर्न दिने निर्णय गरिए पनि सेप्टेम्बर, २०१९ मा साफका अध्यक्ष काजी सलाउद्दीन र महासचिव अन्वरुल हक हिलालले सहभागि राष्ट्रहरुका प्रतिनिधिहरुसँग कुरा गर्दै बङ्गलादेशमा नै आयोजना गर्ने निर्णय गरेका थिए ।

१३ औं संस्करण जोर बर्षमा हुने अन्तिम प्रतियोगिता हुने र अब १४ औं संस्करण विजोर बर्षमा गर्ने साफले जनाएको थियो ।

बङ्गलादेश फुटबल महासंघका महासचिव हिलालले आफ्नो राष्ट्र साफ च्याम्पियनसिप गर्न नसक्ने बताएको छ । “अहिलेको परिस्थितिमा (कोरोना भाइरसको संक्रमण जारी रहदा) मलाई लाग्दैन हामी साफ च्याम्पियनसिप तोकिएको समयमा आयोजन गर्न सक्छौं । यो हाम्रो मात्र कुरा होइन, सहभागि देशका सरकारले बङ्गलादेशमा भ्रमण गर्न अनुमति दिन्छ कि दिदैन र हाम्रो सरकारले पनि अन्य देशको टोलीलाई यहा आउन दिन्छ कि दिदैन भन्ने पनि छ”, अनवरुलले विस्पोर्ट्जलाई बङ्गलादेशबाट भनेका छन् ।

“साफ च्याम्पियनसिप मात्र नभएर हामीले अन्य केही उमेर समुहका प्रतियोगिताहरु पनि आयोजना गर्नुपर्ने छ । ती प्रतियोगिताहरु पनि प्रभावित भएका छन् । हामी साफ राष्ट्रका महासचिवहरु चाडै नै एक भर्चुवल बैठकमा बस्दैछौं र त्यसपछि यस बारे आधिकारिक निर्णय गर्नेछौं,” हिलालले भने ।

साफ च्याम्पियनशिप नेपाली राष्ट्रिय टोलीले खेल्ने महत्वपूर्ण प्रतियोगिता मध्ये पर्ने गर्छ । मे महिनाका लागि तय गरिएको २०२२ विश्वकप र २०२३ एसिया कपका छनोट अन्तर्गत नेपालका तीन घरेलु खेलहरु कोरोनाका कारण एएफसीले अक्टोबरका लागि नयाँ प्रस्तावित मिती ल्याएको छ ।

घरेलु खेलहरु अघि नेपालले केही मैत्रिपूर्ण खेलहरु खेल्ने तयारी गरेकाले पनि सेप्टेम्बरको साफ च्याम्पियनसिप अब थप धकेलिने निश्चितप्राय छ । एन्फा महासचिव ईन्द्रमान तुलाधर साफ राष्ट्रका महासचिवहरुको सोमबार हुने भर्चुवल बैठकले आधिकारिक निर्णय सुनाउने बताउछन् ।

“सोमबार हुने बैठकमा साफका मुख्य अधिकारी र अन्य देशको कुरा सुनेर गर्ने निर्णय नै अन्तिम हुनेछ,” उनले भने । तुलाधरले सेप्टेम्बरमा साफ च्याम्पियनसिप खेल्न भने कुनै आपत्ति नभएको बताए । नेपालले विश्वकप र एसिया कप छनोटका अगाडि खेल्ने मैत्रीपूर्ण पनि अन्योलमा रहेको उनी बताउछन् ।

“हामीले प्रशिक्षण चाडो शुरु गराउदैछौं । त्यसपछि कुन राष्ट्रसँग खेल्ने हो त्यसको लागि छलफलमा छौं । नेपाल आउन राजी हुने टोलीहरुसँग मैत्रीपूर्ण खेल्दै दशरथ रँगशालामा अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपे विरुद्ध हुने खेलको लागि राष्ट्रिय टोलीलाई अभ्यास गराइने छ,” तुलाधरले भने।

यदी नेपालले अक्टोबरमा  प्रस्तावित मितिमा प्रतियोगिता गर्ने हो भने उसले केही महिना अगाडि मैत्रीपूर्णका लागि टोलीलाई निमन्त्रण दिनुपर्नेछ । कुनै पनि भ्रमणकारी टोली अहिले अनिवार्य रुपमा १४ दिने क्वारेन्टिनमा बस्नु पर्ने भएकाले मैत्रीपूर्ण खेलका लागि प्रकृया त लम्बिने छ नै सँगसँगै आयोजकको खर्च पनि उत्तिकै बढी हुने देखिन्छ । भारत, भुटान र बङ्गलादेश आफै पनि विश्वकप र एसियाकप छनोटमा कायम रहेकाले पनि साफ च्याम्पियनसिप समयमै गराउन गाह्रो पर्ने देखिन्छ ।

नेपाली राष्ट्रिय टोली २०१५ को साफ च्याम्पियनसिप बाहेक पाँच संस्करणमा सेमीफाइनलबाट बहिरिएको छ । २०१३ मा नेपालमा भएको साफमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल सेमीफाइनलमा अफ्गानिस्तानसँग पराजित हुन पुगेको थियो भने २०१५ मा समुह चरण र २०१८ को साफमा फेरी पनि सेमीफाइनलबाट बहिरिएको थियो ।

Click to comment

Trending