Headline

युभेन्टसलाई रोक्ने दाउमा रहेको लाजियोलाई एट्लान्टाको झड्का

Published

on

युभेन्टसलाई इटालियन सिरी आ को लगातार नवौं पटक उपाधि जित्नबाट रोक्ने दाउमा रहेको लाजियोलाई नराम्रो झड्का लागेको छ । बुधबार भएको खेलमा लाजियो अर्को सुधारिएको टोली एटलान्टासँग २–० को अग्रता लिदा लिदै हार्न पुगेको छ ।

एट्लान्टालाई हराएको खण्डमा लाजियो शिर्ष स्थानको युभेन्टसभन्दा मात्र एक अंकले पछाडी पर्ने थियो तर पराजयपछि क्रिष्चियानो रोनोल्डोको टोलीले चार अंकको अग्रता कायम गर्न सफल भएको छ । जितपछि एट्लान्टाले भने शिर्ष तीनको सम्भावनालाई कायमै राखेको छ ।

यो सिजन च्याम्पियन्स लिगमा भ्यालेन्सियालाई पराजित गर्दै क्वार्टर फाइनल प्रवेश गरिसकेको एट्लान्टा अर्को सिजनको पनि च्याम्पियन्स लिगको नजिक पुगेको छ । २७ चरणको खेल सकिदा सिरी आ मा एट्लान्टा ५४ अंक सहित चौथो स्थानमा रहेको छ भने इन्टर मिलानको ५८ र लाजियोको ६२ अंक रहेको छ । युभेन्टस को ६६ अंक रहेको छ ।
इन्टर मिलान बुधबार नै भएको सासुलोबिरुद्धको खेलमा ३–३ गोलको बराबरीमा रोकिएपछि लाजियो र युभेन्टससँग दुरी छोट्याउन असफल रहेको थियो । लाजियोले भने २१ औ खेलमा आएर पराजय बेहोरेको थियो ।

मार्टेन डे रुनले आत्मघाती गोल गरेपछि अग्रता लिएको लाजियोले सर्जिज मिलिंकोभिच–साभिचको लामो दुरीको गोलबाट ११ मिनेटपछि नै २–० ले अघि बढीसकेको थियो । ३८ औं मिनेटमा रोबिन गोसेन्सले एट्लान्टालाई खेलमा फर्काएका थिए ।

रस्लान मालिनोभ्स्कीले ६६ औं मिनेटमा बराबरी गोल गरे भने होजे लुइस पालोमिनोले ८० औं मिनेटमा जित दिलाएका थिए । बुधबार नै भएको अर्को खेलमा साम्पडोरियालाई २–० ले हराउदै एएस रोमा ४८ अंक साथ पाचौं स्थानमा कायम रहेको छ ।

रामोसको फ्रि किकमा रियल फेरि शिर्षमा उक्ल्यो

स्पेनिस ला लिगामा सर्जियो रामोसले फ्रि किकलाई गोलमा परिणत गरेपछि रियल म्याड्रिड एक पटक पुन शिर्ष स्थानमा उक्लियो । ३१ औ चरणको खेलमा रियलले मायोर्कालाई २–० ले हरायो । बार्सिलोनासँग समान ६८ अंक रहेको रियल हेड टु हेडमा अगाडी रहेको छ ।

ब्राजिलियन भिनिसियस जुनियरले गोल गर्दै रियललाई १९ औं मिनेटमा अग्रता दिलाएका थिए । रामोसले ५६ औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरेका थिए । अन्य खेलमा आलाभेसलाई ओसासुना र रियल सोसिडाडलाई सेल्टा भिगोले समान १–० गोल अन्तरले पराजित गरेका थिए ।

Click to comment

Trending