Headline

युरोपियन राउण्ड–अपः रोनाल्डोको गोलमा युभेन्टसको जित, सेभिया तेश्रोमा

Published

on

क्रिष्चियानो रोनाल्डो र पाब्लो डिबालाले एक–एक गोल गरेपछि युभेन्टसले इटालियन सिरी आ मा बालोग्नालाई पराजित गर्दै चार अंकको अग्रता कायम गरेको छ ।

अवे खेलमा माथिस डि लिटलाई स्टेफानो डेन्सविलले लडाएपछि २३ औं मिनेटमा पेनाल्टी पाएको थियो । रोनाल्डोले त्यसलाई गोलमा परिणत गरेका थिए । डिबालाले फेडेरिको बर्नार्डेसीको ब्याक हिल पासमा उत्कृष्ट गोल गर्दै पहिलो हाफमै युभेन्टसलाई २–० को अग्रता दिलाएका थिए ।

दोश्रो हाफमा कुनै गोल हुन नसकेपछि बोलोग्नाले युभेन्टसलाई चुनौति दिन सकेको थिएन । दोश्रो हाफमा बर्नार्डेसीको प्रहार पोस्टमा लागेको थियो भने रोनाल्डोको गोललाई अफसाइड दिइएको थियो । पछिल्लो ८ सिरी आ उपाधि जितेको युभेन्टस एक खेल बढी खेल्दै दोश्रो स्थानको लाजियो भन्दा चार अंकले अगाडी रहेको छ ।

लाजियोले बुधबारको महत्वपूर्ण खेलमा एट्लान्टाको सामना गर्नेछ । लाजियोको ६२ र चौथो स्थानको एट्लान्टाको ५१ अंक रहेको छ भने तेश्रो स्थानको इन्टर मिलानको ५७ अंक छ । सोमबार नै भएको अर्को खेलमा एसि मिलानले लिचेलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्यो ।

एसि मिलान सातौं स्थानमा रहेको छ । यस्तै अर्को खेलमा रेलिगेस जोनमा रहेको ब्रेसियाले फियोरेन्टिनलाई १–१ गोलको बराबरीमा रोकेको थियो ।

सेभियाको दोहोरो पुनरागमन

एक गोलले पछि परेको स्थितिबाट दुई पटक पुनरागमन गर्दै सेभिया स्पेनिस ला लिगाको तेश्रो स्थानमा उक्लिएको छ । सोमबार सेभियाले छैटों स्थानको भिलारियालसँग २–२ गोलको बराबरी गर्यो । ३१ खेल खेलेको सेभियाको ५३ अंक भएको छ भने एक खेल कम खेलेको एट्लेटिको म्याड्रिडको ५२ अंक रहेको छ ।

अवे खेलमा भिलारियालले १८ औं मिनेटमै पाको आलासरको गोलमार्फत अग्रता लिएको थियो । ३९ औं मिनेटमा सर्जियो एक्सुडेरोले गोल गर्दै सेभियालाई खेलमा फर्काएका थिए । ४५ औं मिनेटमा पाउ टोरेसले गोल गरेपछि भिलारियालले पहिलो हाफमा आफ्नो अग्रतालाई कायमै राखेको थियो ।

६३ औं मिनेटमा मुनिर एल हदादीले फेरि सेभियाका लागि गोल गरेपछि खेल बराबरीमा टुङ्गिएको थियो । भिलारियाल ४८ अंक सहित छैटौंं स्थानमा रहेको छ । समान अंक रहेको गेटाफेसँग उ हेड टु हेडमा पछि परेको छ । ला लिगामा ३० खेलबाट समान ६५ अंक रहेको रियल म्याड्रिड पनि बार्सिलोनासँग हेड टु हेड मै शिर्ष स्थानमा रहेको छ ।

लिभरपुललाई उपाधिका लागि अझै कुर्न पर्ने

फिल फोडेन र रियाद माह्रेजले दुई–दुई गोल गरेपछि म्यानचेस्टर सिटीले बर्नलीलाई ५–० ले पराजित गर्दै लिभरपुलको इङ्गलिस प्रिमियर लिग उपाधिको पर्खाईलाई थप लम्ब्याएको छ । बर्नलीसँग बराबरी मात्रै गरेको भएपनि ८३ अंक रहेको लिभरपुलले बुधबार क्रिष्टल प्यालेसलाई पराजित गरेको खण्डमा ७ खेल अगाडी नै उपाधि जितिसक्ने थियो ।

तर सिटीको जितले लिभरपुलले अझै कुर्नुपर्ने भएको छ । सिटीको ६३ अंक रहेको छ । निकै दमदार प्रदर्शन गरेको सिटीले पहिलो हाफमै ३–० को अग्रता लिएको थियो । फोडेनले २२ औं मिनेटमा गोल गरेपछि माह्रेजले ४३ औं र इन्जुरी समयमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेका थिए ।

दोश्रो हाफको ६ मिनेटपछि नै डेभिड सिल्भाले गोल गर्दै सिटीको अग्रतालाई बढाएका थिए । फोडेनले ६३ औं मिनेटमा अर्को गोल गरेपछि सिटीले फराकिलो जित हात पारेको थियो ।

Click to comment

Trending