Headline

सुध्रिएन आर्सनल, ब्राइटनसँग पनि पराजित

Published

on

इङ्गलिस प्रिमियर लिग कोरोना भाइरसका कारण रोकिएर सुचारु हुँदा पनि आर्सनलले आफ्नो खराब प्रदर्शनमा पूणर्बिराम लगाउन सकेको छैन ।

शनिबार भएको खेलमा आर्सनल १५ औं स्थानको ब्राइटनसँग २-१ ले स्तब्ध हुन पुग्यो । प्रिमियर लिग सुचारु हुँदाको पहिलो खेलमा डिफेन्डिङ्ग च्याम्पियन म्यानचेस्टर सिटीसँग ३-० ले हारेको आर्सनल लगातार दुई खेलमा पराजित हुन पुगेको छ ।

मिकेल आर्टेटाले सम्हालेपछि सुध्रिने आशा गरिएको आर्सनलको ३० खेलबाट मात्र ४० अंक रहेको छ भने नवौं स्थानमा रहेको छ । ब्राइटनको उति नै खेलबाट ३२ अंक भएको छ । खेलका सबै गोल दोस्रो हाफमा भएका थिए ।

निकोलस पेपेले बुकायो साकाको पासमा ६८ औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । तर सात मिनेट पनि नबित्दै ब्राइटनका लागि लुइज डंकले बराबरी गोल गर्न सफल भए । उनले कर्नरमा आएको बललाई पोस्टको दिशा दिएका थिए ।

बराबरीमा भएपनि चित्त बुझाउन तयार रहेको आर्सनललाई झड्का त तब लाग्यो जब थपिएको ६ मिनेटको पाचौं अतिरिक्त समयमा निल माउपेले गोल गर्दै ब्राइटनलाई महत्वपूर्ण तीन अंक दिलाए ।

शनिबारको पहिलो खेलमा भने रेलिगेसनको खतरामा रहेको वाटफर्डले तेस्रो स्थानको लेस्टर सिटीलाई १-१ गोलको बराबरीमा रोक्यो । खेलको ९० औँ मिनेटमा बेन चिवेलले लेस्टरका लागि गोल गरेका थिए भने वाट्फर्डका लागि सिरा डसनले अतिरिक्त समयमा गोल गर्दै हार टारेका थिए ।

Click to comment

Trending