Headline

बायर्न म्युनिख र डर्टमण्ड बिजयी

Published

on

रोबर्ट लेवानडोस्कीले दुई र जोसुवा किमिचले एक गोल गरेपछि च्याम्पियन बायर्न म्युनिखले फ्राइबर्गलाई ३-१ ले हराएको छ ।

बायर्नको मैदानमा भएको खेलमा घरेलु टोलीका लागि पहिलो गोल किमिचले १५ औँ मिनेटमा लेवानडोस्कीको पासमा गरेका थिए । दोस्रो गोल भने लेवानडोस्कीले २४ औं मिनेटमा गरेका थिए । त्यसको ९ मिनेट पनि नबित्दै फ्राइबर्गका लागि लुकास होल्डरले ३३ औँ मिनेटमा गोल गरे । खेल २-१ को स्थितिमा रहेको बेला क्लबका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल लेवानडोस्कीले ३७ औँ मिनेटमा गरेका थिए ।

दोस्रो हाफमा कुनै गोल नभएको खेल बायर्नले दवाब कायम राखेको थियो । बायर्नले यसअघि नै उपाधि जितिसकेको छ । अर्को खेलमा दोस्रो स्थानको बोरुसिया डर्टमण्डले आरबी लाइपजिगलाई २-० ले पराजित गर्यो ।

डर्टमण्डका लागि एर्लिङ हाल्यान्डले दुवै गोल गरेका थिए । उनले ३० औं मिनेटमा पहिलो र जुलियन ब्राण्ड्टको पासमा ९० औं मिनेटमा दोश्रो गोल गरेका थिए ।
बायर्नको ७९ अंक छ भने दोश्रो स्थानमा रहेको डर्टमण्डको ६९ र लाइपजिगको ६३ अंक रहेको छ ।

Click to comment

Trending