Headline

भारत–चिन सिमा बिवादपछि आईपिएलमा चिनिया प्रायोजक राख्न नहुने बहस

Published

on

भारत र चिनबीच केही दिन यता लदाखको सिमानामा बढेको सैनिक तनावका कारण इण्डियन प्रिमियर लिग (आईपिएल) को प्रायोजक चिनिया नै रहनु कति जायज छ भन्ने छलफल हुन थालेको छ ।

गल्वन उपत्यकामा दुई देशका सेनाबीच सिमाका बिषयमा पछिल्लो चार दशक यता भएको पहिलो गम्भिर मुठभेडमा २० भारतीय सैनिक मारिएको पुष्टि भएको छ भने चिनतर्फ पनि राम्रै संख्यामा हताहाती भएको बताइएको छ । चिनसँगको सम्बन्धमा तिक्तता बढ्दै जादा बिश्वकै चर्चित क्रिकेट प्रतियोगिता आईपिएलमा पनि भारतले चिनिया प्रायोजक भिभोलाई निरन्तरता दिन नहुने बहस गर्न थालिएको छ ।

चिनिया मोबाइल कम्पनी भिभोसँग भारतीय क्रिकेट बोर्डले सन् २०१७ मा पाँच बर्षको सम्झौता गरेको थियो । सम्झौता अनुसार बिसिसिआईले भिभोबाट बार्षिक ४ सय ४० करोड भारतीय रुपैया पाइरहेको छ । पछिल्लो राजनैतिक घट्नाक्रमले भारतमा व्यापक चिन–बिरोधी भावना उत्पन्न हुनुका साथै चिनिया उत्पादन बहिष्कार गरिनु पर्ने आवाज उठ्न थालेको छ ।

तर भारतीय क्रिकेट बोर्डका सचिव अरुण धुमलले आईपिएल जस्तो प्रतियोगितालाई चिनिया कम्पनीले प्रायोजन गर्दा भारतकै हितमा हुने बताएका छन् । अर्को चरणको लागि भारतीय क्रिकेट बोर्ड आफ्नो प्रायोजक नीति समिक्षा गर्न तयार रहेपनि हालका लागि भिभोसँगको सम्झौतालाई अन्त्य गर्ने कुनै योजना नरहेको उनले बताएका छन् ।

“जब तपाई भावुक भएर सोच्न थाल्नुहुन्छ, बिबेकलाई मतलब गर्नु हुदैन । हामीले चिनको हितका लागि चिनिया कम्पनीलाई समर्थन गर्ने र भारतको हितका लागि चिनिया कम्पनीबाट मद्दत लिनेबीचको भिन्नता बुझ्न आवश्यक छ,” धुमलले प्रेस ट्रस्ट अफ इण्डियालाई भने ।

“जब हामी चिनिया कम्पनीहरुलाई भारतमा आफ्नो उत्पादन बेच्न अनुमति दिन्छौं उनीहरुले भारतीय उपभोक्ताबाट लिने रकमको केही हिस्सा बिसिसिआईलाई (ब्राण्ड प्रबद्र्धन गरेबापत) तिर्नेछ । बिसिसिआईले त्यो आम्दानीको ४२ प्रतिशत कर भारतीय सरकारलाई बुझाउने गरेको छ । त्यसैले यो भारतको हितका लागि हो, चिनको होइन,” धुमलले स्पष्ट पारे ।

बैँगलुरुको शैक्षिक प्रविधि कम्पनी बाइजुजले ठाँउ ओगट्नु अघि २०१९ को सेप्टेम्बर सम्म अर्को चिनिया मोबाइल कम्पनी ओप्पोले भारतीय क्रिकेट टोलीलाई प्रायोजन गरेको थियो । चिनिया उत्पादनमा निर्भरता न्युनिकरण गर्न आफू तयार रहेको बताए पनि धुमलले जबसम्म चिनिया कम्पनीलाई भारतमा व्यापार गर्न दिइनेछ तब सम्म आईपिएल जस्तो भारतीय ब्राण्डलाई प्रायोजन गर्दा अहित नहुने मान्छन् ।

“आईपिएललाई समर्थन नगर्ने हो भने उनीहरुले त्यो पैसा चिन नै फिर्ता लिएर जान्छन् । यदि फिर्ता जान लागेको पैसा हामीले फर्काउने हो भने हामी यसमा खुशी नै हुनुपर्छ । हामीले त सरकारलाई कर तिरेर मद्दत गरिरहेको छौं । मैले यदि कुनै स्टेडियम बनाउने सम्झौता चिनिया कम्पनीलाई थमाए भने मैले चिनिया अर्थतन्त्रमा मद्दत गरेको हुनेछ,” धुमलले भने ।

“गुजरात क्रिकेट संघले मोटेरामा बिश्वकै ठूलो क्रिकेट स्टेडियम बनायो र त्यसको सम्झौता भारतीय कम्पनीलाई नै दिइएको थियो,” उनी भन्छन् । “भारतभरि हजारौं करोडको स्टेडियमहरु बनाउने सम्झौता हामीले कुनै पनि चिनिया कम्पनीलाई दिएको छैनौं ।”

Click to comment

Trending