Headline

बिपरित ध्रुवका बार्सिलोना र रियल म्याड्रिड अहिले एकै सिक्काका दुई पाटा

Published

on

पोर्चुगिज होजे माउरिन्होले बार्सिलोनाको जागिर आफ्नो भइसकेको सोचिसकेका थिए । लामै समय निगरानीमा रहेका उनलाई नै बार्सिलोनाले नयाँ प्रशिक्षकको रुपमा ल्याउने पक्का पक्की जस्तै थियो । कुनै समय क्लबमा अनुवादक रहेका माउरिन्हो अब बोसको रुपमा क्याम्प नोउ फर्किन झण्डै सबै तयारी भइसकेको थियो । तर यही कामका लागि अर्का उम्मेदवार पनि थिए – पेप ग्वार्डियोला ।

१२ वर्ष अगाडी ग्वार्डियोला वा माउरिन्हो रोज्दा बार्सिलोनाले आफ्नै पहिचानको प्रश्नको सामना गर्नुपरेको थियो । अन्तत बार्सिलोना लिजेण्ड योहान क्रुएफको सिद्धान्तका अघोषित अनुयायी ग्वार्डियोललाई चुन्दा बार्सिलोना किन अरु भन्दा फरक छ भन्ने साबित भएको थियो ।

अथवा, बार्सिलोना फरक थियो ।

बार्सिलोनाको पहिचान अहिले भने स्पष्ट छैन । बार्सिलोना कुनै समय ८ बर्षको उमेरमै बच्चाहरुलाई गतिशील र परिमार्जित फुटबलको सिद्धान्तमा अभ्यस्त गराउने प्रख्यात ला मासिया युथ एकेडेमीकै बिस्तृत रुप थियो, तर अहिले होइन । आफ्नै सिद्धान्तबाट बिस्तारै भट्किदै बार्सिलोना अहिले रियल म्याड्रिडको नजिक पुगेको छ ।

त्यो रियल म्याड्रिड जसले बार्सिलोनाले नाइ भनेको दुई बर्षपछि माउरिन्होलाई प्रशिक्षक नियुक्त गरेको थियो । त्यो समय जब रियल म्याड्रिड र बार्सिलोनाबीचको फुटबल दर्शनको भिन्नता स्पष्ट रुपमा देखिन्थ्यो । माउरिन्हो प्रमाणित बिजेता थिए र मार्केट गर्न सकिने एक ब्राण्ड पनि । उनी रियलका लागि उत्तम प्रशिक्षक थिए ।

युरोपियन फुटबलमा रियल परम्परागत रुपमै विचारधारासँग मतलब नराख्ने क्लब हो । उनीहरुलाई जितसँग मात्र मतलब छ । १३ पटक च्याम्पियन्स लिग र ३३ पटक ला लिगाको उपाधि जित्दै उनीहरु यसमा आफू निकै राम्रो रहेको साबित पनि गरिसकेका छन् । यसले दशकौंसम्म रियललाई बार्सिलोनासँग अलग बनाए पनि अहिले भने खेलकुदको दृष्टिकोणबाट दुई प्रतिद्वन्दीलाई छुट्टाउने भन्दा पनि जोड्ने कुरा धेरै भएका छन् ।

बार्सिलोना प्रशिक्षक सेटियन

यि दुई क्लब अहिले एकै सिक्काका दुई पाटा भएका छन् भने पछिल्लो केही सिजन यता बार्सिलोनाले खेलाडीहरुमा धेरै सिक्का फालिसकेको छ । चार वर्षको अन्तरालमा बर्सिलोनाले एक बिलियन डलर बढी खेलाडी किन बेचमा खर्च गरिसकेको छ । यही दौरान रियलले ट्रान्सफर मार्केटमा ६५० मिलियन डलर मात्र लगानी गरेको छ; यो ठोस रकम भएपनि ला लिगामा नवाबी शैलीमा पैसा उडाउने नाम कमाएको क्लबको लागि भने थोरै हो ।

बार्सिलोनाले खर्च गरेको मुल्यले मात्र क्लबको ऐतिहासिक पहिचानको रेखालाई धमिल्याएको होइन, खर्च गरेको तरिकाले पनि हो । महान खेलाडी र महान बार्सा खेलाडी बन्नुमा धेरै अन्तर छ । क्याम्प नोउ यस्तो मञ्च हो जसले प्रदर्शन दिनेहरुबाट फरक चिज चाहन्छ । त्यहा तय गरिएका मापदण्ड नितान्त फरक छन् ।

ती यस्ता मापदण्डहरु हुन् जसलाई पुरा गर्न संयुक्त रुपमा ३ सय १० मिलियन पाउण्ड जस्तो ठूलो मुल्यमा आएका फेलिपे काउटिन्हो र औसमाने डेम्बेलेले पुरा गर्न सकेनन् । वास्तवमा बार्सिलोनासँग यी दुई खेलाडीलाई क्लबमा कसरी एकिकृत गर्ने भन्ने योजना नै थिएन ।

उनीहरु जर्सी पछाडीको ठूलो नाम बाहेक अलिकति मात्रै बढी थिए । जिनेदिन जिदान र डेभिड बेकह्यामलाई एकै साथ संकलन गर्दाको समयमा बार्सिलोना रियलको खिल्ली उडाउने गर्दथ्यो । लोनमा बायर्न म्युनिख गएका काउटिन्हो अहिले जर्मन महारथीलाई पनि छोड्ने संघारमा छन् भने डेम्बेले बर्सिलोनामै भए पनि क्लबको जर्सीमा नदेखिएको ६ महिना बितिसकेको छ ।

बार्सिलोना पहिले जे को बिरुद्धमा थियो अहिले त्यही भएको छ । यो सिजनको मिश्रित प्रदर्शनले यसलाई प्रतिबिंबित गरेको त छ नै, अर्नेस्टो भाल्भर्डेलाई हतारमा निकाल्दै र उत्तिनै हतारमा किके सेटियनलाई प्रशिक्षक नियुक्त गर्दा बार्सिलोना उपयुक्त उपायको ज्ञानबिना नै आफ्नो पुरानै तरिकामा फर्कने मान्यतामा रहेको स्पष्ट हुन्छ ।

रियाल म्याड्रिड अहिले आफू के हो र के हुन चाहन्छ भन्ने स्पष्ट धारण बोकेर हिडेको छ । रियल त्यो क्लब हो जसले समर विन्डोमा चेल्सीबाट १ सय मिलियन डलरमा एडिन हजार्डलाई त भित्र्यायो नै, सँग–सँगै भविष्य सोच्दै दक्षिण अमेरिका, बिशेष गरि ब्राजिलबाट, रेनियर जिजस, रोड्रिगो र भिनिसियस जुनियरलाई अनुबन्धन पनि गरेको छ ।

यी तीन बाहेक उरुग्वेका उदीयमान मिडफिल्डर फेडे भाल्भर्डेको प्रदर्शनले रियलको म्यानचेस्ट युनाइटेडबाट पउल पोग्बा भित्र्याउने रचिलाई लगभग समाप्त नै गरिदिएको छ । रियलले अघिल्लो ट्रान्सफरमा पोर्टोबाट एडर मिलिटाओ ल्याएको थियो भने चोटबाट गर्दै आएको संघर्षका बावजुद एट्याकिङ्ग मिडफिल्डर मार्को एसेन्सियोलाई रियलले भविष्यको अनुहारको रुपमा हेरिरहेको छ ।

डर्टमण्डमा रहेका हकिमी (बायाँ) र सोसिडाडमा लोनमा गएका ओडिगार्ड

रियालबाट लोनमा रहेका मार्टीन ओडेगार्डले रियल सोसिडाडमा दिदै आएको उच्च प्रदर्शन र लोनमै बोरुसिया डर्टमण्ड गएका अस्रफ हकिमीले जर्मन बुन्डेसलिगामा आफूलाई उत्कृष्ट युवा फुल ब्याकको रुपमा स्थापित गर्दा रियलले अर्को एक दशककै लागि बलियो टोली तयार पारिसकेको छ ।

धेरै हिसाबले रियाल म्याड्रिडमा पुस्ता हस्तान्तरण सजिलो भएको छ । यो सधैं हुनेछ । बार्सिलोनालाई अहिले क्रुएफको सिद्धान्त, नीति र शैलि बोझ हुन थालेको छ । यो बोझ रियललाई भने छैन । रियल जित्ने अभिप्रायमा मात्रै हुर्केको क्लब हो ।

ला लिगा सुचारु भइसकेको छर यी दुई मध्ये कुन क्लबले उचाई लिन्छ त्यो हेर्न बाकी छ । बितेका बर्षहरुमा स्पेनको उपाधि दौड एकै झड्काको काम जस्तो देखिएको थियो । तर यो सिजन उपबिजेता पनि नडगमगाई लामो समय बिजेतालाई पछ्याउदै गरेको हुनेछ ।

लियोनल मेस्सीको उपस्थितिले बार्सिलोनालाई केही हदसम्म फाइदा छ । तर उनी आफै निश्चिन्त रहन सकेका छैनन् । महिनौंदेखि बोक्दै आएको चोट र क्याम्प नाउमा गाढिएर बस्न थालेको राजनीतिका बावजुद, मेस्सी यो पुरै सिजन बार्सिलोनालाई आफूसँगै बाध्यताबस नै घिसार्दै लगिरहेका छन् । कहिले काही उनको बडी ल्याङ्गवेजमा उत्साह पनि देखिदैन ।

फुटबलको एउटा युगमा बार्सिलोना र रियलले फरक कोणबाट निर्णायक चेतना स्थापित गरेका थिए । अहिले दुवै एकै किसिमको समस्या भोगिरहेका छन् । ला लिगाको अग्रस्थानमा केवल एक अंकको दुरीमा रहेका यी दुई टोली अंक तालिकामा मात्र होइन अन्य धेरै कुरामा पनि निकै नजिक रहेका छन् ।

Click to comment

Trending