Headline

पत्नीले रँगभेदी पोस्ट गरेपछि एलए ग्यालेक्सीका खेलाडीले क्लब छोडे

Published

on

सर्बियाका विङ्गर एलेक्जेण्डर काटाईले आफ्नो पत्नीले इन्स्टाग्राममा रङ्गभेदी र भड्काउने विषय पोस्ट गरेपछि अमेरिकाको मेजर लिग सकरको क्लब एलए ग्यालेक्सी छोड्नु परेको छ ।

काटाइकी श्रीमतीले इन्स्टाग्राममा अमेरिकामा चर्किरहेको रङ्गभेदबिरुद्धको आन्दोलनलाई खिल्ली उडाउदै पोस्ट गरेकी थिइन् । काटाईकी श्रीमतीले आन्दोलनकारीहरुको  नक्कल गर्दै सामान लुटेको बिषय पोस्ट गरेकी थिइन् ।

एक लाइनको बयान दिदै एलए ग्यालेक्सीले काटाइलाई क्लबबाट रिलिज गरेको बताएको हो । काटाइले उनको श्रीमतीले गरेको यो कृयाकलाप स्वीकार्य नभएको र यस्तो कार्य उनकै परिवारमा पनि सहन नसकिने बताए । “यो मेरो परिवारमा भएको घटना हो । र म यस घटनाको सबै जिम्मेवारी लिन्छु,” काटाइले भने ।

अमेरिकामा मे २५ मा प्रहरीको नियन्त्रणमा रहदा ४६ बर्षिय अश्वेत नागरिक जर्ज फ्लोएडको मृत्यु भएपछि न्यायको लागि आन्दोलन चर्किदै आएको छ । मुख्य आरोपी प्रहरी डेरेक चभिनलाई थर्ड डिग्री मर्डरको मुद्दा लगाइएपनि प्रदर्शनमा उत्रिएकाहरुले घटनमा संलग्न अन्य तीन प्रहरीलाई पनि कारवाही गर्नु पर्ने माग गर्दै आएका छन् ।

फ्लोएडको न्यायका लागि बिश्व खेलकुद नै एक भएको समयमा काटाईको श्रीमतीको यस्तो पोस्ट आएपछि यसले अमेरिकामा ठूलै मुद्दाको रुप लिएको छ । सामाजिक सन्जालमा हाम्रा खेलाडी एलेक्सान्डर काटाइकी श्रीमतीले गर्नु भएकी पोस्टका बारे हामीलाई जानकारी छ । एलए ग्यालेक्सीले त्यो सामाजिक पोस्टको कडा निन्दा गर्दै त्यसलाई हटाउन अनुरोध गर्दछ । एलए ग्यालेक्सी कुनै पनि प्रकारको जातिवादको बिरूद्ध दृढ रूपमा खडा भएको छ, क्लबले एक बिज्ञप्ति मार्फत भनेको छ ।

डिसेम्बरमा सिकागो फायरबाट ग्यालेक्सी आएका काटाइले ग्यालेक्सीका लागि मात्र दुई खेल खेलेका छन् । उनी पहिले सर्बियन लिगमा रेड स्टार बेलग्रेड र स्पेनिस ला लिगामा आल्भेसको लागि खेल्ने गर्थे ।

Click to comment

Trending