Headline

एन्फाबाट पैसा लिएको साबित गर्न खेलकुद मन्त्रीको चुनौति

Published

on

खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्मा

प्रतिनिधि सभा बैठकमा समाजवादी पार्टीका सांसद प्रदीप यादवले अखिल नेपाल फुटबल संघ (एन्फा) बाट पैसा लिएको भन्ने आरोप साबित गर्न खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्माले चुनौति दिएका छन् ।

यादवले आर्थिक बर्ष २०७७–७८ को बजेटमा छलफलका लागि शुक्रबार बोलाइएको बैठकमा मन्त्री बिश्वकर्माले १७ करोड रुपैया लिएकै कारण एन्फा अध्यक्षले केही दिन अगाडी मधेशी समुदायलाई लक्षित गर्दै दिएको अभिव्यक्तिलाई लिएर केही नबोलेको आरोप लगाएका थिए ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले केही दिन अघि एक प्रत्यक्ष अनलाइन अन्तर्वार्तामा तराइमा राष्ट्रियता कम भएको भन्ने बिवादास्पद अभिव्यक्ति दिएका थिए । शेर्पाले यस बिषयलाई लिएर माफी पनि मागिसकेका छन् । तर यादवले शुक्रबार प्रतिनिधी सभामा कडा शब्दमा बोल्दै शेर्पालाई निलम्बन गर्दै कारवाही गरिनु पर्ने बताएका थिए । र यस क्रममा उनले मन्त्रीलाई बिवादमा तानेका थिए ।

शुक्रबार प्रतिनिधि सभामा मन्त्रीमाथि आरोप लगाएका सदभवाना पार्टीका सांसद प्रदीप यादव

“सबैभन्दा पहिले त उहा (यादव) को भनाइ नै अमुर्त छ । उहाले के भन्न खोज्नु भएको हो स्पष्ट बुझिएन । एन्फाको बैठकले हालै पोखरामा एकेडेमी बनाउनका लागि १७ करोड रुपैयाको बजेट छुट्याएको थियो । त्यो मेरो निर्वाचन क्षेत्रमा पर्ने भएकाले उनले त्यसतर्फ इँगित गर्न खोज्नुभएको होला । तर उनको बोलाईमा पूर्णता थिएन, बिश्वकर्माले विस्पोर्ट्जलाई भने ।

“यसमा मैले खण्डन दिनुपर्ने जस्तो त लाग्दैन तैपनि मैले पैसा लिएको कुरा साबित गरेर देखाउन चुनौति दिन्छु । नेपालको इतिहासमा सार्वजनिक जिम्मेवारीमा रहेर काम गरेका अन्य व्यक्तिहरुमा आशंका होला तर मैले पदमा रहदा आर्थिक सुशासन कायम गर्दै कुनै दाग लाग्न दिएको छैन,” उनले दावी गरे ।

शुक्रबारको बैठकमा मन्त्री बिश्वकर्मा आफै उपस्थित रहेका थिए । उनले यादवले लगाएको आरोपका बिषयमा अब मङ्गलबार बोलाइएको अर्को बैठकमा जवाफ दिने पनि बताएका छन् ।

यादवले आरोप लगाउदै गर्दा बिश्वकर्माले त्यो पैसा किन र के का लागि लिए यो भने भनेका थिएनन् ।

Click to comment

Trending