Headline

संसारकै महँगा नेमारलाई गल्तिले ब्राजिल सरकारको १२० डलरको राहत

Published

on

ब्राजिलियन स्टार नेमार बिश्वका सबैभन्दा महँगो फुटबलर हुन् । फ्रान्सको लिग वान च्याम्पियन पेरिस सेन्ट जर्माइन जादा बार्सिलोनालाई २ सय ६३ मिलियन डलर तिरेको थियो । फुटबल इतिहासमै यो अहिलेसम्मकै सर्वाधिक ठूलो ट्रान्सफर हो । नेमारको अहिलेको बजार भाउ १ सय ४४ मिलियन डलर रहेको छ ।

तर ब्राजिलको सरकारले भने नेमारको नाममा कोरोना भाइरस राहत कोषबाट १ सय २० डलर पारित गरिदियो । ब्राजिलियन सरकारले कोरोना भाइरसका कारण निकै ठूलो समस्या झेलिरहेका न्युन पारिश्रमिकमा काम गरिरहेका कामदारहरुलाई राहत बितरण गरिरहेको छ ।

यसै क्रममा कसैले पहिचान चोरी गर्दै उनको नाम, जन्म मिति र ब्राजिलियन पहिचान पत्र ६ सय जना राहत पाउने कामदारहरुको सुचिमा राखिदिएपछि सरकारले नेमारको नाममा पनि राहत रकम स्विकृत गरिदिएको थियो, ब्राजिलियन अनलाइन युओएलले यो समाचारको पुष्टि गरेको छ ।

राहत पाउने सुचिमा रहेका कामदारहरुको तथ्यांक मार्फत मुल्यांकन गर्दै जादा अधिकारीहरुले नेमारको बार्षिक आम्दानी देखेपछि उनी पैसा पाउनका लागि अयोग्य रहेको भन्दै राहतलाई होल्डमा राखिदिएको थियो । प्रारम्भिक रुपमा नाम स्विकृत भएपछि मात्रै सुचिमा रहेका कामदारहरुको राहतका लागि योग्यता मुल्यांकन गरिएको थियो ।

नेमारका स्टाफका अनुसार पहिचानको चोरी गरेर कसले राहत पाउने कामदारहरुको सुचिमा नेमारको नाम राखिदिएको अझसम्म पत्ता लाग्न सकेको छैन । अमेरिका र युकेपछि ब्राजिल कोरोना भाइरसको महामारीले सबैभन्दा बढी प्रभावित भएको छ । ६ लाख भन्दा बढी संक्रमित रहेको ब्राजिलमा अहिलेसम्म ३४ हजार भन्दा बढीको ज्यान गइसकेको छ ।

कोरोनाकै कारण फ्रान्समा यो सिजनको फुटबल लिगहरु नै रद्द भएपछि नेमारको पिएसजी च्याम्पियन बनेको थियो । २८ बर्षिय नेमार अहिले रियो दि जेनेरियो बाहिरको शहर मांगारातिबामा रहेको आफ्नो ८ मिलियन डलरको बिलासि भिल्लामा समय बिताइरहेका छन् ।

Click to comment

Trending