Headline

विश्वकप, बालोन डी ओर र च्याम्पियन्स लिग जित्ने ८ हस्तीहरु

Published

on

फुटबल खेल्ने कुनै पनि खेलाडीले देख्ने ठूलो सपना के हो ? देशका लागि खेल्दै बिश्वकप जित्ने ? क्लबबाट खेल्ने हो भने युरोपकै सबैभन्दा प्रतिष्ठित च्याम्पियन्स लिग जित्ने ? उत्कृष्ट प्रदर्शन गर्दै बर्षको उत्कृष्ट खेलाडीको पुरस्कार हात पार्ने ? यो सबै सपना पुरा भए कति आनन्द आउला ?

तर यसका लागि मिहिनेत चाहिन्छ । मिहिनेत मात्रैले पनि पुग्दैन, भाग्य पनि चाहिन्छ । त्यसैले बिश्वकप, च्याम्पियन्स लिग र उत्कृष्ट खेलाडीले पाउने गरेको बालोन डि ओर जित्ने फुटबलरहरु बिरलै हुने गर्छन् । इतिहासमा ८ खेलाडीले मात्र यो दुर्लभ उपलब्धि हात पार्न सकेका छन् । पढौै ती खेलाडीहरुका बारे:

१. सर बबी चार्लटन

इङ्गलिस फुटबलका महान खेलाडी मध्ये एक चार्लटनले सन् १९६६ मा इङ्गल्यान्डले पहिलो र हालसम्मको एकमात्र विश्वकपको उपाधि चुम्दा महत्वपूर्ण योदान दिएका थिए । विश्वकपमै गरेको प्रदर्शनका कारण उनले बालोन डी ओर जितेका थिए । त्यसको दुई बर्ष पछि उनकै कप्तानीमा रहेको म्यानचेस्टर युनाइटेडले युरोपको प्रतिष्ठित क्लब उपाधि च्याम्पियन्स लिग हात पारेको थियो ।

२. गर्ड मुलर

गर्ड मुलर विश्व फुटबलका उत्कृष्ट गोलकर्ताका रुपमा परिचित छन् । लगातार तीन पटक बायर्न मुनिखलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भुमिका खेले बापत उनले सन् १९७० मा बालोन डी ओर हात पारे । त्यसको चार बर्ष पछि वेस्ट जर्मनीले हल्याण्डलाई फाइनलमा पराजित गर्दै विश्वकपको उपाधि जिताउन उनको योदान सम्झन लायक रहेको थियो । उनले ४३ औं मिनेटमा गोल गर्दै जर्मनीलाई २–१ को जित दिलाएका थिए ।

३. फ्रान्ज बेकानबाउर

बिश्व खेलकुदकै उत्कृष्ट खेलाडीमध्ये एकको रुपमा लिइन्छ बेकनबाउरलाई । सन् १९७० र ८० को दशकमा आफ्नो क्लब बायर्न म्युनिखलाई च्याम्पियन्स लिग र वेस्ट जर्मनलाई बिश्वकप दिलाउन उनको भुमिका अहम रहेको थियो । वेस्ट जर्मनले सन् १९७४ को विश्वकप जित्दाका कप्तान बेकानबाउरकै नेतृत्वमा बायर्नले १९७३–७४ देखि १९७५–७६ सम्म लगातार तीन पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

४. पाउलो रोस्सी

सन् १९८० मा इटालीका सुपरस्टार थिए पाउलो रोस्सी । उनले नकआउट चरणमा गरेको छ गोलको योगदानमा इटालीले सन् १९८२ को विश्वकपको जितेको थियो जसका लागि उनले बालोन डी ओर पाएका थिए । त्यसको तीन बर्ष पछि उनकै प्रदर्शनमा युभेन्टसले च्याम्पियन्स लिग पनि जितेको थियो ।

५. जिनेदिन जिदान

आधुनिक फुटबल फ्रेञ्च लिजेण्ड जिनेदिन जिदान धेरैले चर्चा गरिरहनु नपर्ने फुटबलर हुन् । तर उनले एक पटक मात्र बालोन डी ओर जितेका थिए भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । यसको कारण थियो उनका समकक्षीमा तगडा भएर निस्कनु । जिदानको प्रदर्शनमा फ्रान्सले १९९८ को विश्वकप जितेको थियो र उनी नै बालोन डी ओरका असली हक्दार थिए । त्यस्तै रियल म्याड्रिडले सन् २००२ को च्याम्पियन्स लिगको उपाधि हात पार्दा उनको प्रदर्शन उच्च रहेको थियो ।

६. रिभाल्डो

रिभाल्डो यस्ता फुटबलर हुन् जसले आफ्नो प्रदर्शनको जस त्यती पाएनन् जति उनले डिजर्भ गर्थे । १९९९ मा बालोन डी ओर जीतेका रिभाल्डो ब्राजिलले २००२ को विश्वकप जित्दाका प्रमुख सदस्य थिए । त्यसको एक बर्षपछि उनले एसी मिलानका लागि च्याम्पियन्स लिग जित्दै तीनवटै उपाधि हात पारेका थिए ।

७. रोनाल्डिन्हो

जब रोनाल्डिन्हो आफ्नो उच्च फर्ममा थिए उनलाई रोक्न लगभग असम्भव जस्तै हुने गर्दथ्यो । उनकै लोभलाग्दो प्रदर्शनको सहयोगमा ब्राजिलले २००२ को विश्वकपको उपाधि हात पार्यो । त्यसको तीन बर्ष पछि, २००६ मा, बार्सिलोनाका लागि चाम्पियन्स लिगको उपाधि दिलाउन महत्वपुर्ण भुमिका खेलेपछि उनले बालोन डी ओर पनि हात पारे ।

८. काका

शायद काका भाग्यमानी खेलाडीहरुको सुचीमा पनी अग्रपंक्तीमा नै रहने छन् किनभने ब्राजिलले २००२ को विश्वकप जित्दा उनले मात्र २५ मिनेट खेलेका थिए । त्यसयता ब्राजिलले बिश्वकप जित्न सकेको छैन । यद्दपि उनले त्यसपछिका बर्षहरुमा भने लोभलाग्दो प्रदर्शन गर्दै आए । एसी मिलनलाई २००७ को च्याम्पियन्स लिग जिताउन ठूलो भुमिका खेलेपछि उनी बालोन डी ओरबाट सम्मनित भएका थिए ।

 

Click to comment

Trending