Headline

६ महिने जेल सजायबाट बचे डिएगो कोस्टा

Published

on

स्पेन तथा एट्लेटिको म्याड्रिडका फर्वाड कर छलीको आरोपमा ६ महिना जेल जानबाट बचेका छन् ।

स्पेन सरकारलाई एक मिलियन युरोको कर छली गरेको स्विकार गरेपछि अदालतले ३१ बर्षिय कोस्टालाई ५ लाख ४३ हजार २ सय ८ युरो जरिवाना तिराएको हो । कोस्टाले २०१४ मा एट्लेटिकोबाट चेल्सी जादा गरेको आम्दानीको ५ दशमलव १५ मिलियन युरोको जानकारी लुकाएका थिए । यस्तै आफ्नो इमेज राइटको पनि १० लाख युरो सम्बन्धी जानकारी उनले लुकाएको बिबिसीले जनाएको छ ।

स्पेनिस कानुन अन्तर्गत लगाइएको जरिवानामा अतिरिक्त ३६ हजार ५०० युरो तिर्ने भएपछि उनले जेल जान नपर्ने भएका हो । स्पेनको कानुनी प्रावधान अुनसार गैर हिंसात्मक आपराधिक कृयाकलापमा दुई बर्ष भन्दा कमको जेल सजाय भए जरिवाना तिरे माफ गरिनेछ ।

अदालतमा मास्क लगाएर उपस्थित भएका कोस्टा २०१७ मा चेल्सबाट पुन एट्लेटिको गएका थिए । “डिएगो कोस्टाले केही महिनाअघि ब्याज समेत जरिवाना तिर्ने सहमतिमा पुगिसकेकाले जेल सजायका लागि सरकारी वकिलले गरेको माग फिर्ता लिएका हुन्,” एट्लेटिकोका एक प्रवक्ताले भने ।

स्पेनमा कर छलीको मुद्दा लागेका कोस्टा एक मात्र फुटबलर भने होइनन् । यसअघि २०१७ मा बार्सिलोना स्टार लियोन मेस्सी र युभेन्टसका क्रिष्चियानो रोनाल्डो पनि कर छलीमा परेका थिए । दुवै खेलाडी कोस्टा सरह नै जरिवाना तिर्न राजी भएपछि जेल सजायबाट बचेका थिए ।

Click to comment

Trending