Headline

काइ ह्यावर्ट्जः हजुरबुवाले लत लगाइदेपछि बनेका जर्मनीका नयाँ स्टार

Published

on

काइ ह्यवर्टजको कथा जर्मनीको उत्तरी आन्चेनको मारियाडोर्फ गाँउबाट शुरु हुन्छ । यो त्यही गाँउ हो जहाँ ह्यवर्टजले विश्व फुटबलमा आफ्नो पहिलो पाइला चालेका थिए । परिवारले चाहे अनुरुप नै उनी फुटबलमा लागेका थिए ।

“मेरो हजुरबुवाले मलाई फुटबलको लत लगाइदिए,” ह्यवर्टज भन्छन् । “उनले मलाई फुटबल खेल्नको लागि पहिलो कदम चालिदिए । मेरो बुवा र दाईले पनि मलाई सानै उमेरमा फुटबल खेल्न लगाएका थिए । मेरो परिवार नै फुटबलको लागि पागल थियो । फुटबलकै पृष्ठभूमिबाट आएकाले होला मेरो लागि फुटबलसँगको माया बढ्दै गयो ।”

फुटबलमा ह्यवर्टजले भर्खरै चालेको पइलामा सारथी बन्यो उनको पहिलो क्लब एलेमानिया मारियाडोर्फ । चार बर्षिय ह्यवर्टजलाई फुटबल सिकाउन उनकै हजुरबुवा अध्यक्ष रहेको क्लब एलेमानियाले ठूलो भूमिका खेल्न पुग्यो । “मान्छेहरु सधैं ह्यवर्टजले यही खेलमा आफ्नो भविष्य खोज्न सक्छ भन्थे । तर मलाई १०–१२ बर्षको कडा मिहिनेतपछि मात्र बुन्डेसलिगा वा अरु कुनै शिर्ष स्तरको लिग खेल्ने मौका मिल्यो,” उनले भने ।

धेरै समय आफ्नो उमेर समुह भन्दा दुई बर्ष माथिको टोलीसँग खेल्दै बिताएका ह्यावर्ट्ज २००९ मा १० बर्षको हुँदा त्यस क्षेत्रकै ठूलो क्लब एलेमानिया आन्चेनमा आबद्ध हुन पुगे । ह्यावर्ट्ज आफै आन्चेनका ठूला समर्थक थिए । “आन्चेन त्यस बेला बुन्डेसलिगाको दोस्रो डिभिजन बुन्डेसलिगा २ मा खेल्ने गर्दथ्यो । सबैभन्दा उत्कृष्ट समय एरिक मेइजर अगाडी खेल्दा लाग्थ्यो । आन्चेनमा धेरै राम्रा खेलाडीहरु थिए र उनीहरु मेरो लागि हिरो थिए ।”

तर ह्यावर्ट्जले आन्चेनमा एक बर्ष मात्र खेल्न पाए । करण थियो उनी सानो क्लबमा खेल्नका लागि धेरै नै उत्कृष्ट भए । आन्चेन भन्दा ठूला क्लब उनको आगमनको लागि कुरिरहेका थिए ।

बाल्यकाल र हालका ह्यावर्ट्ज

यसै क्रममा ह्यावर्ट्जको आन्चेन लेभरकुसनसँग अण्डर–१२ को खेलमा ८–३ ले पराजित हुदा तीन वटै गोल उनले गरेका थिए । उनलाई मारियाडोर्फ देखि नै आखा लगाएको लेभरकुसनको स्काउटका लागि उनको तीन वटै गोलको ठूलै महत्व थियो ।

ह्यावर्ट्ज एलेमेनिया आन्चेनको अण्डर–१२ को टोलीमा खेल्दै थिए । “उनी हाम्रो (लेभरकुसन) खेलाडीहरु भन्दा निकै कलिला र सानो उमेरका थिए । मलाई अहिले त्यती त थाहा छैन तर हामीले ८–३ ले खेल जित्दा उनले आन्चेनका लागि सबै गोल गरेका थिए । उनले हामीमा राम्रो छाप छोडेका थिए,” लेभरकुसनका युवा टोलीका प्रशिक्षक स्लावोमिर जारनिएस्कीले भने ।

२०१० मा लेभरकुसन पुगेका ह्यावर्ट्जले त्यसपछी युवा टोलीका सबै उमेर समुहमा बिशेष प्रभाव पार्दै आफूलाई प्रमाणित गर्दै गए । लेफ्ट-फुटेड ह्यावर्ट्जले आफ्नो खेल जीवनमा आएका सबै अवरोधहरु पार गर्दै आए पनि बीचमा शारिरिक बिकास हुने समयमा भने कठिनाइको सामना गर्नुपर्यो । उनको खेल जीवनको पहिलो चुनौती त्यही थियो ।

“म १४–१५ बर्षको हुँदा पनि म टिमको सबै भन्दा सानो खेलाडी थिए । त्यसपछि मेरो शरीरमा बिकास हुन थाल्यो । मेरो लागि लामो खुट्टा हुनु एउटा समस्या जस्तै हुन पुग्यो । त्यो एउटा चुनैती जस्तो बन्न पुग्यो । झन् अण्डर–१५ र अण्डर–१६ मा मैले खेल्नुभन्दा बढी समय बेञ्जमै बिताए,” हाल ६ फिट २ इञ्चको बिशाल शरिर भएका कुनै समयका फुच्चे ह्यावर्ट्जले भने ।

तर राम्रो खेलाडीलाई खेलबाट टाढा कहाँ राख्न सकिन्थ्यो र ? ह्यावर्ट्जले आफ्ना समस्याहरु पन्छाउदै लेभरकुसनलाई अण्डर–१७ बुन्डेसलिगाको उपाधी जिताइ छाडे । २०१६ को शुरुवातमा भएको प्रतियोगितामा २६ खेलमा १८ गोल गर्दै ह्यावर्ट्जले प्रतियोगिता भर उत्कृष्ट प्रदर्शन गरे । फाइनलमा बोरुसिया डर्टमण्डलाई २–० ले हराउदा शुरुवाती गोल ह्यावर्ट्जले नै गरेका थिए ।

त्यसको ९ महिना पनि नबित्दै ह्यावर्ट्जले डर्टमण्डको सिनियर टोलीबिरुद्ध बुन्डेसलिगामा सिग्नल इडुना पार्कमा खेले । ह्यावर्ट्जले २०१६ को सिजनमा लेभरकुसनका लागि २४ खेल खेलेका थिए जसमध्ये तीन च्याम्पियन्स लिगमा थियो । वेर्डर ब्रेमेनविरुद्ध डेब्यु गर्दै ह्यावर्ट्जले लेभरकुसनको जर्सीमा लगाउने सबैभन्दा कान्छा खेलाडी बन्न सफल भए ।

बुन्डेसलिगाको पहिलो सिजनमै ४ गोल र ६ असिस्टका साथ ह्यावर्ट्ज टोलीको मुख्य आकर्षण भए ।

“उनीसँग खेल कौशल त छदैछ तर निर्णय लिन सक्ने क्षमता पनि राम्रो छ,” लेभरकुसनका फर्वार्ड केभिन भोल्याण्डले भने । “उनी क्लबमा आएदेखि उनको खेल हेरिरहेको छु । उनको खेलमा भएको बिकास निकै उच्च स्तर को छ । ह्यावर्ट्ज हाम्रो टोलीका लागि निकै महत्वपूर्ण खेलाडी हुन् ।”

ह्यावर्ट्जको कथाको रमाइलो पाटो त के छ भने उनी लेभरकुसनको सिनियर टोलीमा खेल्दै गर्दा उनी स्कुलको परिक्षा दिदै थिए । पढाई र खेललाई सँगै लादा आफूलाई निकै अप्ठ्यारो भएको उनी मान्छन् । “मेरो माध्यमिक तहको परिक्षा र जर्मन कप एकै समय परेको थियो,” ह्यावर्ट्ज थप्छन् । “वुधबार मेरो परिक्षा थियो भने मँगलबार साँझ हाम्रो जर्मन कपको खेल । अझ त्यो खेल अतिरिक्त समय र पेनाल्टीसम्म पनि पुग्यो । म घर धेरै ढिला पुगे र भोली पल्ट परिक्षा पनि दिए, तर कस्तो भयो त्यो चाही भन्न चाहन्न ।”

ह्यावर्ट्जको लागि पढाईलाई महत्व दिएका छन् की उनले च्याम्पियन्स लिगको अन्तिम १६ को एट्लेटिो म्याड्रिडको खेल पनि छुट्टाएका छन् । लेभरकुसनले पनि उनको परीक्षाको लागि उनलाई तीन दिनको छुट्टी दिदै ए लेभलको परिक्षा सकाउन सघाएको थियो ।

दोस्रो सिजनमा भने चार खेल मात्र गुमएका ह्यावर्ट्जले तेस्रो सिजनमा भने सबै खेल खेल्दै १९ बर्षको उमेर मै १७ लिग गोल गरेका थिए । लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आएका ह्यावर्ट्ज कलिलो उमेरमै बुन्डेसलिगामा ३० गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

२०१९–२० को सिजन नसकिदै उनले अझै धेरै किर्तिमान बनाउन सक्नेछन् । अघिल्लो बर्ष डिसेम्बरमा कोलोनसँग खेल्दा ह्यावर्ट्ज १ सय बुन्डेसलिगा खेल खेल्ने सबैभन्दा कम उमेरका खेलाडी भए । उनी त्यती बेला २० बर्ष, ६ महिना र २० दिनका थिए ।

मे २०२० मा फ्राइबर्गविरुद्ध गोल गर्दै उनी २१ बर्ष नपुग्दै लिगमा ३५ गोल गर्ने पहिलो खेलाडी समेत बन्न पुगे । २० बर्ष को उमेरमै अहिले ह्यावर्ट्ज लेभरकुसनको कप्तान भईसकेका छन भने टोलीलाई अगाडि लाने क्षमता पनि निकै छ । उनले देखाएको खेल र कौशलका कारण उनी अब जर्मन फुटबलका उदाँउदा तारा रहेको स्पष्ट हुन्छ ।

Click to comment

Trending