Headline

एन्फामा ७० करोडको बजेट पारित, खेलाडीलाई कोरोना बिशेष १५ हजारको खुराक

Published

on

अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार बसेको कार्य समिति बैठकले आर्थिक बर्ष २०७७र७८ का लागि ७० करोडको बजेट पारित गरेको छ ।

कोरोना भाइरसको महामारी कायमै रहेको स्थितिमा बसेको भर्चुवल बैठकले ७० करोड १९ लाख १९ हजारको बजेट पारित गरेको हो । उक्त बजेटलाई सोमबार नै तय गरिएको भदौं १५ गतेको साधारण सभाले अनुमोदन गर्नेछ । एन्फाका अनुसार तोकिएको मितिमा पनि कोरोनाको महामारी जारी रहेको खण्डमा फिफा र एएफसी मान्यता प्राप्त अनलाइन भर्चुवल माध्यमद्वारा साधारण सभा बैठक बसिनेछ ।

यस्तै कोरोना भाइरस राहत समितिले पेश गरेको प्रतिवेदनका आधारमा एन्फाले फिफासँग १ लाख डलर बराबरको राहत सहयोग माग गर्दै आफू आबद्ध संघ, ए, बि र सि डिभिजन क्लबहरु, मोफसलमा प्रतियोगिता गर्दै आइरहेका आयोजकहरुलाई राहत बितरण गर्ने पनि एन्फाले जनाएको छ ।

फिफाले कोरोना भाइरसले महामारीको रुप लिदै गर्दा आफ्ना सदस्य राष्ट्रहरुलाई पाँच लाख डलर सहयोग गर्ने बताएको थियो । प्रारम्भिक चरणमा माग गर्न लागिएको सहयोगबाट एन्फाले राष्ट्रिय महिला र पुरुष टिमका ३५–३५ जना खेलाडीहरुलाई १५ हजार खुराक खर्च दिने निर्णय गरेको छ ।

यस्तै निलम्बित ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापालाई सोधिएको स्पष्टिकरणमा चित्त बुझ्दो जवाफ नआएको भन्दै सोमबारको बैठकले उनलाई साधारण सभासम्मका लागि अस्थायी निलम्बन कायम गरिने निर्णय पनि लिएको छ । यसअघिको एन्फाको बैठकले थापालाई एन्फा र पदाधिकारीमाथि बिधानबिपरित अपशब्द बोलेको भन्दै कारवाही गरेको थियो ।

Click to comment

Trending