Headline

अफ्रिदी र गम्भिरको ‘भर्चुवल वार’ मा वकार युनिस अम्पायर

Published

on

पाकिस्तानका फास्ट बलिङ्ग लिजेण्ड वकार युनिसले भारतीय पुर्व क्रिकेटर गौतम गम्भिर र आफ्नै समकालीन शहीद अफ्रिदीलाई सामाजिक सञ्जालको युद्ध अन्त्य गर्न आग्रह गरेका छन् ।

मैदानमा पनि एक अर्काको चर्को प्रतिद्वन्दी रहेका दुई पुर्व क्रिकेरहरु अहिले सामाजिक सञ्जालमा बिवादित काश्मिर मुद्दामा एक अर्काको आमने–सामने भएका छन् । लामो समयदेखि जारी बिवादमा दुवै देशले काश्मिरमाथि दावी गर्दै आइरहेका छन् ।

गम्भिर हाल भारतको सांसद रहेका छन् भने आफ्नै फाउण्डेसन चलाइरहेका अफ्रिदी सामाजिक कार्यकर्ता रहि आएका छन् । एक अनलाइन अन्तरकृयामा वकारले दुवै खेलाडीलाई शान्त हुन भन्दै भारत र पाकिस्तान फेरि भिड्ने वातावरण बनाउनका लागि आग्रह गरे ।

“केही समयदेखि गौतम गम्भिर र शहीद अफ्रिदीबीचको जुहारी रोकिनु आवश्यक छ । उनीहरु दुबै जना चनाखो र शान्त हुन आवश्यक छ । यो सिलसिला चलेको लामो समय भइसकेको छ । उनीहरु थामिन सक्दैनन् भने संसारको कुनै एक कुनामा सँगै भेटेर यसको समाधान खोज्न म सल्लाह दिन्छु,” वकारले भने ।

सन् २०१२–१३ पछि भारत र पाकिस्तानले एक अर्काबीच कुनै श्रृंखला खेलेका छैनन् । दुई देश १९४७ मा स्वतन्त्र भएयता जारी रहेको कश्मिर बिवाद हालसालै बढेको तनावका कारण अझै बढ्दै गएको छ । आफ्नो नियन्त्रणमा रहेको काश्मिरमा पाकिस्तानले आतंकवादी आक्रमण गराउदै आइरहेको आरोप भारतले पाकिस्तानलाई लगाउदै आइरहेको छ ।

क्रिकेटमा बिश्वकै ठूला प्रतिद्वन्दी मानिने दुई देशबीचको सम्बन्ध एक सिरिज खेलेपछि पुन राम्रो हुने दाबी ४८ बर्षिय वकार गर्छन् । “मलाई लाग्छ यो (दुई देशबीचको क्रिकेट श्रृंखला) संसारकै सबैभन्दा ठूलो हिट हुनेछ । क्रिकेटका समर्थकहरुले चाहेको खेल दिनका लागि दुई देश नियमित रुपमा खेल्न आवश्यक छ,” उनले भने ।

Click to comment

Trending